भर्खरै :

क्रान्तिकारीहरूको योगदान खेर नजाने

क्रान्तिकारीहरूको योगदान खेर नजाने

भक्तपुर, १८ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका पूर्वसदस्य नानीछोरी खुसुको श्रद्धाञ्जली सभा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको आतिथ्यमा सम्पन्न भयो ।
उक्त सभामा उपाध्यक्ष दुवालले क्रान्तिकारी कार्यकर्ताहरूको योगदान सदैव देश, समाज र जनताले सम्झिरहने बताउनुभयो । जनताको घरघरमा गई जनचेतना फैलाउन र माक्र्सवादी सिद्धान्त पुर्‍याउने एक सिपाहीँको रूपमा अग्रसर महिलाको दुःखद निधनले हामीलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले सरकारले आत्मनिर्भरको लागि किसानलाई आवश्यक मल बीउबिजन तथा औजार र प्रविधिहरूको सहज पहुँच बनाउनुपर्ने तथा देशमै रासायनिक मल कारखाना खोलेर परनिर्भरता हटाउनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य गंगाराम ज्याख्वले निःस्वार्थी भावले समाजको सेवा गर्ने पार्टीको हरेक कार्यक्रममा अग्रमोर्चामा रहेर सङ्घर्ष गर्ने खुसु सम्पूणर् कार्यकर्ताको लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका सदस्य रोशनमैयाँ सुवालले नानीछोरी एक निडर क्रान्तिकारी महिला भएको र पार्टीले दिएका हरेक जिम्मेवारी पालना गर्ने इमानदार कार्यकर्ता भएको बताउनुभयो । भनपा वडा नं. १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले पार्टीको कार्यकर्तामा हुनुपर्ने प्रायः सबै गुणहरू खुसुमा भएको र जनप्रतिनिधिको रूपमा सँगै सहकार्य गर्दाका अनुभवहरू सुनाउनुभयो । भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले वडाका गतिविधिहरूमा अग्रसर महिलाको निधनले एक असल कार्यकर्ताको कमी महसुस हुने बताउनुभयो ।
नेमकिपा वडा नं. २ इताछेँ एकाइ समितिका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त श्रद्धाञ्जली सभामा भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातां, मञ्जु लाखाजु, गंगालक्ष्मी वमनु, लक्ष्मीभक्त दुवाल र लक्ष्मीश्वरी मातांले पनि समवेदना प्रकट गर्नुभयो । स्वर्गीय नानीछोरी खुसुका २ छोरा र ४ छोरी हुनुहुन्छ भने उहाँको निधन २०७९ चैत ११ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *