नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १८ चैत । छालिङ सामुदायिक सिकाइ केन्द्रको नवौँ वार्षिक साधारणसभा शनिबार गणेश मा.वि छालिङमा सम्पन्न भयो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाईले जनताको स्वास्थ्य राम्रो बनाउन खानपान, रहनसहन व्यवस्थित गराउनेतर्फ सिकाइ केन्द्रले छलफल अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले हाम्रै वरिपरि रहेका स्रोतसाधनलाई उपयोग गरेर खेर गएका वस्तुलाई सदुपयोग गरी रोजगार सृजना गर्न सकिने उल्लेख गर्दै स्थानीय पुरानो बीउबिजन जोगाउनेतर्फ पनि सिकाइ केन्द्रले ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
उहाँले नेपाली काङ्ग्रेसको तर्फबाट अर्थमन्त्री बनेका रामशरण महतको पालामा नेपाली युवालाई विदेश पठाउने नीति बनेको कारण नेपाली युवाहरू खाडीमा पसिना बगाउन बाध्य हुनुका साथै नेपाल खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । “भारतबाट आयात हुने फलफूल, तरकारी, खाद्यान्नमा विषादी परीक्षण गर्न सरकार हिच्किचायो । नेपालीहरूको भान्सामा विष पुर्याउने काम कम्युनिस्ट दाबी गर्ने सरकारले गर्दै छ । नेपाली जनताले यसको विरोध गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।
सांसद् गोसाईले शासकहरू गतिला नभएको कारण बहुदल आएको ३३ वर्ष बितिसक्दा पनि जनताको दुःख नहटेको प्रसङ्ग उल्लेख गर्दै शासक दलहरूकै कारण देश आर्थिक रूपले टाट पल्टने अवस्थामा पुगेको बताउनुभयो । “नेपाली काङ्ग्रेसले पटकपटक सरकार सञ्चालन गर्दा नेपालको उद्योगधन्दा, कलकारखाना ध्वस्त हुनुका साथै कौडीको मोलमा विदेशीको हातमा पुग्यो । शासक दलहरूले नेपालको प्राकृतिक स्रोत साधन पनि विदेशीको हातमा सुम्पँदै छन् । यसकारण, नेपाली जनता सचेत हुनुपर्दछ ।” सांसद् गोसाईले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले फलफुल व्यवसाय, केश काट्ने व्यवसायमा नेपालीहरूले काम नगरेको कारण नेपाली मुद्रा विदेसिएको उल्लेख गर्दै सिकाइ केन्द्रले रोजगार सृजना हुने सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले महिलाहरू पाठेघर क्यान्सर, स्तन क्यान्सरजस्ता रोगले पीडित हुन पुगेको अवस्थाको अन्त्य गर्न बेलैमा स्वास्थ्य शिविर सञ्चालन गरेर रोग लाग्नुबाट बचाउनु जरुरी रहेको बताउनुभयो ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सानुमाया लागेजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सिकाइ केन्द्रका पूर्वअध्यक्ष सूर्यबहादुर फोजू, जिना चाकतु र मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो । उक्त साधारणसभाको बन्द सत्रबाट सानुमाया लागेजूको अध्यक्षतामा ९ सदस्यीय छालिङ सामुदायिक सिकाइ केन्द्रको व्यवस्थापन समिति गठन भयो ।
Leave a Reply