भर्खरै :

बारा, चितवन र तनहुँमा नेमकिपाको उम्मेदवारी

बारा, चितवन र तनहुँमा नेमकिपाको उम्मेदवारी

चितवन, २० चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनमा चितवन जिल्लाको क्षेत्र नं. २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएको छ ।
चितवन क्षेत्र नं २ मा शक्तिखोर निवासी नेमकिपा, चितवनका सचिव ज्ञानेन्द्र चेपाङलाई नेमकिपाले उम्मेदवार बनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन भरतपुरमा उम्मेदवारी दर्तापछिको उम्मेदवार परिचयसभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेमकिपाले निर्वाचनलाई समाजवादी गणतन्त्र प्रचार अभियानकै रूपमा उपयोग गरिरहेको बताउनुभयो । देशको सार्वभौमिकता रक्षाको आन्दोलनमा अग्रपङ्क्तिमा रहेको नेमकिपाले चितवनको घर घरमा नेमकिपाको सन्देश पु¥याउन उम्मेदवारी दर्ता गराएको उल्लेख गर्नुभयो ।
समाजवाद मात्र कम्युनिस्टहरूको गन्तव्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजवादको अर्थ सबैलाई समान अधिकार प्रदान गर्नु हो† व्यक्तित्व विकासमा समान अवसर, उत्पादनका साधन र सेवा सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला वा जन्मदेखि मृत्युसम्मको हेरचाह राज्यले गर्ने व्यवस्था हो ।”
उहाँले शासक पुँजीवादी पार्टीहरूको कारण समाजमा मिटरब्याजीहरूले सर्वसाधारण जनतालाई शोषण गरिरहेको चर्चा गर्दै अब जनताले शोषणविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले जनताको आँखामा छारो हाल्ने शासक दलहरूको दुष्प्रयासविरुद्ध जनतालाई सङ्घर्षमा उठाउने अभियानकै रूपमा पनि निर्वाचनलाई उपयोग गरिरहेको बताउँदै देशमा आमूल परिवर्तनको निम्ति नेमकिपाको ‘मादल’ रोज्न चितवनका मतदाताहरूलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेमकिपा चितवनका जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले नेमकिपा देशभक्त पार्टी भएको बताउँदै स्थापना कालदेखि नै नेमकिपाले काम गरी खाने जनताको राजनीतिक चेतनास्तर उठाउने जिम्मेवारी पूरा गर्दै आइरहेको चर्चा गर्नुभयो ।
उम्मेदवारी दर्तापछिको कार्यक्रममा आफ्नो परिचय दिँदै उम्मेदवार ज्ञानेन्द्र प्रजाले देशको बेथितिको कारण शासक दलहरू र आजसम्मका सरकारहरू भएकाले अमूल्य मत नेमकिपाको मादलाई दिन अनुरोध गर्नुभयो ।
उहाँले युवाहरूलाई विदेश पठाएर रेमिटेन्सले देश चलाउँछु भन्नेहरूले देशलाई आर्थिक सङ्कटमा धकेलेको चर्चा गर्दै युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था आवश्यक भएको औँल्याउनुभयो ।
देशको सीमा रक्षाको लागि पनि नेमकिपाले उम्मेदवारी दिएको चर्चा गर्दै उम्मेदवार प्रजाले देशघाती नागरिक विधेयक र एमसीसी सम्झौताविरुद्ध नेमकिपाले मात्र सदन र सडकमा विरोध गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा चितवनका पदम थापामगरले पनि बोल्नुभएको थियो ।
त्यस्तै बारा क्षे नं. २ मा नेमकिपाका केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष मुक्तिप्रसाद यादवलाई पार्टीले उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्तापछि पत्रकारहरूसित कुराकानी गर्दै जिल्ला उम्मेदवार यादवले बारा जिल्लाका जनताको प्रतिनिधित्व स्थानीयले मात्र गर्न सक्ने भएकोले र कामदार वर्गको उम्मेदवारको रूपमा नेमकिपाले उम्मेदवारी दिएको बताउनुभयो ।
त्यस्तै तनहुँ क्षेत्र नं. १ मा नेमकिपाले कानुन अध्ययन समाजका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिको उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवार प्रजापतिले नेपालको राजनीतिमा नेमकिपाको देश र जनताप्रतिको प्रतिबद्ध भूमिकालाई जनतामाझ पु¥याउन आफ्नो उम्मेदवारी भएको बताउनुभयो । उहाँले निर्वाचन नहुँदै कसैले जीतको घोषणा गर्नु जनताको भूमिका अस्वीकार जनताप्रतिको अपमान भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *