नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, २० चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको आयोजनामा जिल्लास्थित जिल्ला सहकारी सङ्घ, जिल्ला कृषि सहकारी सङ्घ र जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घहरूको समन्वयमा ६६ औँ राष्ट्रिय सहकारी दिवस सोमबार प्रभातफेरी कार्यक्रमसहित टौमढीमा मनाइयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बैङ्क वित्तीय संस्थामा जसको धेरै पुँजी हुन्छ त्यसको बढी अधिकार हुन्छ तर सहकारीमा सदस्यको अधिकार एक व्यक्ति एक मतका आधारमा हुने भएकोले बहुमतमा मात्र निर्णय हुन्छ भन्नुभयो ।
सहकारी स्थानीय समुदायको आर्थिक, सामाजिक सांस्कृतिक विकासको लागि खोलिएको चर्चा गर्दै उहाँले राज्यका अधिकारीहरू नै स्वार्थबाट प्रेरित भई सहकारी दर्ताको विकृतिले आज सहकारीमा विकृतिहरू बढेको हो, यसको जिम्मा सरकारले लिनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी सदस्यतहरूको हो । सदस्यबाटै बचत सङ्कलन गर्ने र सदस्यलाई परिचालन गर्ने भएकोले सहकारी बचाउने नाममा राज्यबाट रकम माग्नु गलत हो । सहकारीमा गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्दछ ।”
उहाँले ब्याजको लोभमा नफस्न र सही सहकारी पहिचान गरी मात्र सदस्य बन्न अनुरोध गर्नुभयो । सहकारीबाट सङ्कलित पुँजी कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामन्त र जमिनदार वर्गबाट उन्मुक्ति पाउन नै सहकारी संस्था स्थापना भएको उल्लेख गर्दै उहाँले ठगीहरूलाई जेलमा कोच्नुपर्ने र उनीहरूको घर घरानाबाट रकम असुल्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहकारीको नाममा ठगीधन्दा चलाउनाले सहकारीको बदनाम भइरहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही गर्नुपर्ने विचार राख्नुभयो । उहाँले भक्तपुर नमुना जिल्ला भएकोले आसन्न बिस्केट जात्रा शान्तिपूर्वक सम्पन्न गरी ऐतिहासिक बिस्केट जात्राको महिमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्ला सहकारी सङ्घ लि.का अध्यक्ष केदार खड्काले आर्थिक मन्दीका कारण देशमा सहकारी क्षेत्रले ठूलो सङ्कट भोगिरहेको बताउनुभयो । सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत सञ्चालित सहकारीको विकृतिले सहकारी बदनाम भइरहेको उहाँको भनाइ थियो । उहाँले सही सहकारी चिनेर मात्र सदस्य भई कारोबार गर्न सचेत हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले २०१३ चैत २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको कुरा बताउँदै सहकारीमा सदस्यको व्यक्तिगत बचत सीमा २५ लाख तोक्ने गरी ऐन संशोधनको सरकारको प्रस्तावप्रति विरोध जनाउनुभयो ।
उहाँले तीनखम्बे अर्थनिीतिमा सहकारी पनि एक खम्बा भएकोले सो खम्बाको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीमा विकृति कहाँबाट कसरी भित्रियो भन्ने कुरा सदस्यलाई थाहा नै नदिई सहकारी बचाउको नाममा राज्यसँग पैसा माग्दैमा समस्या समाधान नहुने कुरा बताउनुभयो ।
उहाँले वर्तमान सहकारीको समस्या समाधान गर्न नियमनकारी निकायमा धाउनेभन्दा संस्थाका आफ्नै सदस्यमाझ गई समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घका उपाध्यक्ष हरि बल्लले सहकारी आन्दोलन र अभियानमा कालो बादल छाएको छ, त्यो बादल कुन कारणले देखियो, सम्पूर्ण सहकारीकर्मीहरूले मनन गर्नुपर्ने विचार राख्नुभयो । उहाँले सबै सहकारीकर्मीहरू एकजुट भएर त्यो कालो बादल हटाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घका सचिव जगनाथ प्रजापतिले सहकारी दिवसको आवश्यकताबारे चर्चा गर्नुभयो । प्रभातफेरी कार्यक्रममा १६२ वटा संस्थाबाट ३५०० जनाभन्दा बढी सहकारीकर्मीहरूको उपस्थिति थियो ।
Leave a Reply