भर्खरै :

फिलिपिन्समा चार नयाँ अमेरिकी सैन्य अखडा

फिलिपिन्समा चार नयाँ अमेरिकी सैन्य अखडा

संरा अमेरिकासँग भएको सम्झौताअनुसार फिलिपिन्समा बन्ने नयाँ चार सैन्य अखडाको लागि फिलिपिन्स सरकारले स्थान घोषणा गरेको छ ।
तीन अखडाहरू फिलिपिन्सका उत्तरी प्रान्तहरूमा बन्नेछन् । ताइवानमा हुनसक्ने लडाइँमा ती अखडाहरूको प्रयोग हुनसक्ने हुनाले चीन यसबाट आक्रोशित छ । संरा अमेरिकालाई फिलिपिन्सले लाल–लो विमानस्थल र कामिलो ओसिज नौसेना बेससम्म पहुँच दिनेछ । यी दुवै स्थान फिलिपिन्सको उत्तरी प्रान्त कागायानमा पर्छन् । नजिकै इसाबेला प्रान्तमा अमेरिकाले क्याम्प मेलकोर डेला क्रुजसम्म पहुँच पाउनेछ ।
अमेरिकी सेना दक्षिण चीन सागरमा पर्ने टापु प्रदेश पालावान प्रान्तमा पनि जान सक्नेछ । यो स्थान अहिले संरा अमेरिका र चीनबिच तनावको केन्द्र रहँदै आएको छ । संरा अमेरिकालाई पालावान टापुको दक्षिणमा पर्ने बालाबाक टापु दिइँदै छ ।
फिलिपिन्समा अमेरिकी सेनाका पहिल्यै पाँच अखडा छन् । नयाँ चार अखडालाई ती अखडाभन्दा बढी महत्व दिइँदै छ । चीनसँग हुने भावी युद्धको तयारीमा यो अमेरिकी सेना विस्तार महत्वपूर्ण कदम हो ।
सन् २०१४ मा वासिङटन र मनिलाबिच एक रक्षा सम्झौता भएको थियो । उक्त विस्तारित रक्षा सहकार्य सम्झौता (ईडीसीए) अन्तर्गत नै अहिलेको सैन्य विस्तार गरिँदै छ । इडीसीए सम्झौता भ्रमण दल सम्झौता (भीएफए) अन्तर्गत गरिएको थियो । यो सम्झौताले फिलिपिन्समा अमेरिकी सैन्य उपस्थितिलाई वैधता दिन्छ । संरा अमेरिकाको लागि फिलिपिन्सको ढोका झन् खुला गरिँदै छ र यसमार्फत अमेरिकाले त्यहाँ सैन्य उपस्थिति बढाउँदै छ ।
फिलिपिनी ढोका संरा अमेरिकाको लागि झन् खोल्ने वर्तमान राष्ट्रपति फर्डिनान्ड मार्कोसको नीति अघिल्लो राष्ट्रपति रोड्रिगो दुतेर्तेको भन्दा विपरीत छ । फिलिपिन्सको लागुपदार्थ दुव्र्यसनीविरोधी अभियानको क्रममा फिलिपिनी अधिकारीहरूमाथि संरा अमेरिकाले प्रतिबन्ध लगाएपछि तत्कालीन राष्ट्रपति दुतेर्तेले ‘भीपीए’ सम्झौता च्यात्ने र देशबाट अमेरिकी सेना बाहिर धपाउने धम्की दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *