भर्खरै :

“युक्रेन युद्ध अन्त्यका लागि चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्छ”

“युक्रेन युद्ध अन्त्यका लागि चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्छ”

पेइचिङ, २२ चैत (एएफपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताउनुभएको हो ।
चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताउनुभयो ।
युरोपेली मुलुकले बेइजिङसँगको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै फ्रान्सेली राष्ट्रपतिले उनीहरू आर्थिकरूपमा चीनबाट अलग नहुने विचार व्यक्त गर्नुभयो । उहाँले फ्रान्सको प्रमुख व्यापारिक साझेदार चीनसँगको व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
बुधबार यहाँ आउनुभएका राष्ट्रपति म्याक्रोँले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा हुने भेटवार्तामा युक्रेनमा रुसले गरेको आक्रमणलाई समर्थन नगर्न, युक्रेन सङ्कट समाधानका निम्ति शान्तिको मार्ग पहिल्याउने दिशामा रचनात्मक भूमिका निर्वाह गर्न तथा फ्रान्स–चीन सम्बन्धलाई घनिष्ठ बनाउनेबारेमा छलफल गर्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयका एक अधिकारीले पत्रकारहरूलाई बताएका छन् ।
युक्रेन युद्धलाई लिएर वासिङ्टनबाट प्रायः प्रतिध्वनित हुने टकराव र मुठभेड भन्दा कूटनीतिक प्रयास र समाधानका बेग्लै प्रस्ताव राष्ट्रपति म्याक्रोँले अघिसार्ने उनले बताएका छन् । युरोपसँगको चीनको व्यापार सम्बन्धको संरक्षण, प्रवद्र्धन एवम् सन्तुलन, एशिया–प्रशान्त क्षेत्रमा फ्रान्सेली हितको रक्षालाई केन्द्रमा राखेर समकक्षी सीसँग राष्ट्रपतिले विचारविमर्श गर्ने उनले बताएका छन् ।
पेइचिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गर्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गर्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । युक्रेन युद्धको अन्त्य तथा त्यहाँ दिगो शान्ति स्थापना गराउन चिनियाँ संलग्नता आवश्यक भएकामा दुवै देशका नेताले जोड दिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *