भर्खरै :

राजनीतिक संस्कृतिको विकास आवश्यक

हरेक राजनीतिक दलको उद्देश्य दलको सिद्धान्त र विचार जनताको बस्तीबस्तीमा पु¥याएर सचेत पार्ने र सङ्गठित पार्ने हुनुपर्छ । सिद्धान्त र विचार जनताको घर आँगनमा नपु¥याई सतही राजनीति गर्ने काम दलले गर्ने होइन । दल जनतासँग सम्बन्धित हुने भएकोले जनताको सेवा गर्नु उसको धर्म हो । तर, सत्तामुखी राजनीतिमा लागेका सत्तासीन दलका नेताहरूले सच्चा राजनीति गरिरहेका छैनन्, जनताको दुःख पीडा बुझेर राजनीति गरिरहेका छैनन् । यही भएर होला, चैत २१ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा अधिवक्ता प्रेमराज सिलवालले ‘मिसन ग्रासरुट’ किन बन्दैन राजनीतिक संस्कृति ?’ भन्ने शीर्षकमा एक लेख लेखे । लेखमा सत्ता गठबन्धनबाट अलग भएपछि एमालेले ‘मिसन ग्रासरुट’ अभियानको नाममा पार्टी केन्द्रदेखि प्रवेश, जिल्ला, पालिका र वडातहसम्मका गतिविधि गर्दा राजनीतिक संस्कृतिमा ध्यान नदिएको उल्लेख छ ।
राजनीतिक संस्कृतिको विकास गरेर व्यापक जनताको सेवामा जुट्नुपर्ने शासक र ठूला दलका नेताहरू जसरी भए पनि जित्ने र सत्तामा जान्नैपर्ने राजनीतिमा केन्द्रित भए । सरकारमा नगइकन, सेवा सुविधा नलिइकन र गठबन्धन नगरिकन पार्टी टिकाउन गा¥हो मानेका ती शासक र नेताहरू इमानको राजनीति गर्दैनन्, व्यापक जनताको सेवा गर्ने व्यवस्था ल्याउन चाहँदैनन् या आमूल परिवर्तन खोज्दैनन् । संसद् चलाउनु, निर्वाचन गर्नु र कुनै दलको नेतृत्वमा सरकार चलाउनु मात्रै प्रजातान्त्रिक सरकारको धर्म होइन । निर्वाचन त जुनसुकै दलको सरकारले गर्छ, सरकार पनि बन्छ । तर, त्यो सरकारले बनाउने ऐन, कानुन, नीति नियम कुन वर्गको पक्षमा छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दलगत र व्यक्तिगत स्वार्थ या भागबन्डामा मात्र अल्झिरहने सरकार कसरी प्रजातान्त्रिक हुन्छ ? त्यस्तो दलले कसरी बहुमत जनताको प्रतिनिधित्व गर्छ ?
यहाँ त चुनाव पनि स्वतन्त्र र निष्पक्ष हुँदैन । शासकहरू चुनावमा सिद्धान्त र विचारको प्रचारै गर्दैनन् । उनीहरू जसरी भए पनि जित्नको निम्ति पैसाको खोलो बगाउँछन्, लोभलालच देखाउँछन्, सामान बाँड्छन्, धाक धम्की दिन्छन्, झूट कुरा फलाक्छन् । यस्तै यस्तै राजनीति गरेर उनीहरू जित्छन् र सरकारमा जान्छन् । तर, यस्तै गैरराजनीति देशका सबै दलले गरेका छैनन् । कुनै एक दुईवटा दलको कमी कमजोरी देखाएर सबै दललाई उही दृष्टिले हेर्नु मनासिब हुँदैन । यदि कुनै लेखक, बुद्धिजीवी या राजनीतिक विश्लेषकले त्यही दृष्टिले हेर्छन् भने त्यो दृष्टिदोष मात्रै हुनेछ । नेमकिपाले जित्नको निम्ति पैसा बगाएको छैन, लोभलालच देखाएको छैन, शुद्ध सिद्धान्त र विचारको राजनीति गरेर राजनीतिक संस्कृतिको विकास गरिरहेको छ । राजनीति सिद्धान्त र विचारको आधारमा गर्ने हो भनी जनताको घर आँगनमा नेमकिपा पुगिरहेको छ ।
नेमकिपाले हरेक निर्वाचन नै किन नहोस्, पार्टी र जनवर्गीय सङ्गठनको सम्मेलन नै किन नहोस् दलको उद्देश्यबारे जनतालाई सुसूचित पार्ने काम गर्छ, गरिरहेको छ । नेमकिपाले संसद्मा विषय उत्थान गर्दा कहिले पनि दलगत र व्यक्तिगत स्वार्थको निम्ति आवाज उठाउँदैन । नेमकिपाका सबै माग, सुझाव र सरकारको ध्यानाकर्षण देश र जनताकै पक्षमा हुन्छ । नेमकिपाले आम जनतालाई राजनैतिक, वैचारिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गरेर समाजवादी गणतन्त्रको व्यवस्थाबारे सुसूचित पार्दै आएको छ । आमूल परिवर्तन गर्न जनता सचेत र सङ्गठित हुनुपर्छ भन्ने नेमकिपाको ठम्याइ हो । आम परिवर्तन वर्गसङ्घर्षले मात्र सम्भव छ भन्ने मान्यता नेमकिपाको हो । सङ्कीर्ण, साम्प्रदायिक र कुनै जातजाति र भाषाभाषीको स्वार्थमा लागेर देशमा परिवर्तन सम्भव छैन । यसले जनतामा भाँडभैलो मच्चाउँछ, जनता जनता जुधाएर शासकहरूले फाइदा लिन्छन् । यो गलत राजनीति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *