भर्खरै :

बिस्का जात्रा जनधनको क्षतिबिना सम्पन्न गरौँ

बिस्का जात्रा जनधनको क्षतिबिना सम्पन्न गरौँ

२०७९ सालको विश्व प्रसिद्ध भक्तपुरको बिस्का जात्रा नजिकिँदै छ । यो जात्रा प्रत्येक वर्षको चैत २७/२८ गतेबाट सुरु भएर वैशाख ५ गते सम्पन्न हुन्छ । यो जात्राको सम्बन्ध भैरव र भद्रकालीसँग छ । यो जात्रा भक्तपुरको नगर टोल र बस्तीमा मात्र नभई देशैभरि नेवाः बस्तीहरूमा मनाइन्छ । यो साल त विदेशमा बस्ने नेपालीहरूले समेत रथको नमुना बनाएर मनाइरहेका छन् । यो हाम्रो लागि गौरवको विषय हो । यस जात्राको परम्परा, ऐतिहासिकता, धार्मिक, सामाजिक, सांस्कृतिक, तान्त्रिक महत्वको बारेमा सम्बन्धित विद्वान्हरूले चर्चा र व्याख्या गरिरहेका छन् । यस जात्रा कुनै जाति, धर्म र सम्प्रदायमा मात्र सीमित छैन । यसलाई राष्ट्रिय पर्व वा धरोहरकै रूपमा जीवन्त राख्न आवश्यक छ ।
प्रत्येक वर्ष यस जात्रालाई व्यवस्थितरूपले सञ्चालन गर्न सरकार, जनप्रतिनिधि र सम्बन्धित व्यक्ति र समुदाय प्रयासरत हुन्छन् । यसलाई व्यवस्थित गर्न जात्रा सुरु हुनु महिना, हप्ता र १ दिन अगाडिसम्म सम्बन्धित सबै वडा वडासम्म छलफलमा व्यस्त हुन्छ । यस जात्राबारे करिब आधा शताब्दीदेखि सम्पूर्ण प्रयास भए पनि किन अनपेक्षित दुर्घटना हुन्छ ? सम्बन्धित विज्ञहरूका लागि खोज अनुसन्धानको विषय बनिरहेको छ ।
हामीले धेरै वर्षदेखि यस जात्रा खासगरी भैरवनाथको रथ जात्राका कारण अत्यन्त दुःखद घटनाहरू हामी भोग्न बाध्य भइरहेका छौँ । आफ्नै अगाडि आफ्ना साथी, परिवार, आफन्त र हेरालुहरूको विभत्स, हृदयविदारक दुर्घटनामा परी अङ्गभङ्ग भएको, मृत्युवरण गरेको हेर्न परिरहेको छ । वि.सं. २०७८ को भैरवनाथको रथ यात्रालाई शान्तिपूर्ण बनाउन बैठक, सचेतना ¥यालीलगायत तमाम प्रयासहरू गरिए । तर, जात्रा अपेक्षाकृत शान्तिपूर्ण भएको देखिएन । विशेषतः भैरवनाथको रथ यात्रामै किन जात्रालुहरू झगडा र इँटाढुङ्गा हानाहान गर्छन् ? यसको समस्या के हो ? यसको समाधान र कारण पत्ता लगाउन सम्बन्धित पक्ष सफल भएको देखिँदैन ।
हामीले जात्राको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्नु आवश्यक छ । दुवैतर्फबाट जोडतोडले डोरी तानेर रथ तानातान गर्ने जात्रा संसारमा विरलै होला । भैरवनाथको रथको निर्माण जात्रा सुरु हुनुभन्दा करिब महिना दिन अगाडिदेखि विशेषतः विज्ञ र सिपालु सिकर्मीहरूको जमात लागिपरेको हुन्छ । विशेष प्रविधि र कलात्मक चारपाङ्ग्रे प्यागोडा शैलीको रथ तयार पारेको हुन्छ । परापूर्वकालमा यस रथको निर्माण गर्दा काठै काठको मात्र प्रयोग गरिएको हुन्थ्यो । एउटा फलामको किलासमेत प्रयोग गरिएको हुँदैनथ्यो । तौमढी टोलमा रथ तान्दा त्यसको काठका जोर्नीहरूको घर्षणको आवाज साँगाभञ्ज्याङसम्म गुञ्जिन्थ्यो भन्ने जनबोली सुन्छौँ ।
यो जात्राको सञ्चालन र व्यवस्थापन पूर्णरूपले गुठी संस्थान र सरकारी संयन्त्रबाट जिम्मा लिएको हुन्छ । जुन हालसम्म कायमै छ । जात्रालाई विधि विधानअनुसार अगाडि बढाउन तलेजुका मूल पुरोहितदेखि जोशी, कर्माचार्य, शिल्पकारलगायत अन्य वर्ग जाति संलग्न भई जात्राको सुरुदेखि अन्त्य वैशाख ५ गते द्यो थाहाँ बिज्याकेगु जात्रासम्म आ–आफ्नो निर्धारित जिम्मेवारी पूरा गरेका हुन्छन् । जटिल र पूरा प्रतिस्पर्धात्मकरूपले सञ्चालन हुने भए तापनि जनमानसमा अनुशासन, सामूहिक प्रयास, सरकारी संयन्त्र गुठी संस्थानको सक्रियताले परापूर्वकालदेखि शान्तिपूर्ण तरिकाले सञ्चालन हुँदै आइरहेको जात्रा हो बिस्का ।
अग्रजहरूबाट सुनेअनुसार तत्कालीन समाज, जनसमुदायमा ब्राह्मण, ज्योतिष र तान्त्रिक कर्माचार्यहरूप्रति अगाध विश्वास र आस्था थियो÷राख्थ्यो । कारण सामाजिक व्यवहार, रीतिरिवाज, विवाह, व्रतबन्धजस्ता कर्मकाण्डमा आस्था राख्ने समाजको बाहुल्यताले गर्दा रथ तान्न जाने जनसमुदाय पनि धर्म, रीतिथिति, परम्पराप्रति आस्थावान भएका कारण रथमा विराजमान हुने ब्राह्मण, ज्योतिष, निपुण शिल्पकार, पुजारीको निगरानीले उनीहरूको नजरमा आफू खराब देखिने र त्यसको असर आफ्नो पारिवारिक जीवनमा आइपर्ने कर्मकाण्डमा पर्ने डरले पनि रथ तान्नेहरूमा अनुशासन प्रदर्शन गर्न बाध्य हुन्थे ।
समाजमा यस किसिमको अनुशासन कायम रहेसम्म यो जात्रा थथेज्यागु रस रङ्ग ……. राम हा .. ऐतिहासिक गीतसँग मेल खाइरहेको थियो । जात्राको वातावरण आफैमा स्वतः रसिलो, रङ्गमय र रमाइलो थियो । जात्रा सञ्चालन गर्ने समूहमा उत्साह र उमङ्गपूर्ण हुन्थ्यो । रथलाई तान्न लगाउने (हप बिम्हः) ले यातायातको साधन हाँक्ने सवारी चालकले कुशलतापूर्वक गन्तव्यमा पु¥याउन सफल भएजस्तै रथलाई पनि कुशलतापूर्वक निर्धारित ठाउँमा शान्तिपूर्वक पु¥याउन सफल हुन्थ्यो । अनुभवी र प्रशिक्षित हस्से भन्ने नेताको हाँकलाई हैँसे भन्ने समूहले सही निर्देशन पालना गरेका हुन्थे । समय परिस्थितिले यो जात्राको रस रङ्गको गीतमात्र गाए तर खास रस, रङ्ग, परम्परा र संस्कृतिलाई आत्मसात गर्ने समुदायमा ¥हास हुँदै गयो । देशमा प्रजातन्त्रको प्रादुर्भावसँग स्वतन्त्रताको नाममा समाजमा सामाजिक मूल्य र मान्यताको प्रतीकको रूपमा रहेको अनुशासनलाई निरङ्कुशता, शोषण र थिचोमिचोको प्रथाको रूपमा हेरिन थाल्यो र यहीँबाट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र सामाजिक मूल्य र मान्यतामा ¥हास आएको देखिन्छ । समय र परिस्थितिले समाज आधुनिकता र वैज्ञानिकताको आधारमा सोच र विचारमा परिवर्तन भई आधुनिकतातिर लम्किँदै त गयो तर हाम्रो परम्परागत धार्मिक मूल्य र मान्यता, सांस्कृतिक रीतिरिवाजका साथै जात्रा, चाडपर्वहरूमा समय अनुकूल परिवर्तन भने हुन सकेन । यसको ज्वलन्त उदाहरण प्रत्येक वर्ष मनाउँदै आइरहेको बिस्का जात्रालाई लिन सकिन्छ ।
ऐतिहासिक पराम्परागत सांस्कृतिक धरोहरको रूपमा आज त्यत्तिकै महत्वपूर्ण र लोकप्रिय भएर पनि यसमा आधुनिक प्रविधि प्रयोग गरी जति सुरक्षित र शान्तिपूर्णरूपले सम्पन्न गर्न सकिन्थ्यो । यस जात्रामा प्रयोग हुने भैरवनाथको रथ निर्माणमा आधुनिक र सुरक्षित प्रविधिको प्रयोगबिना परम्पराको नाममा रथ तान्ने कार्यलाई कायमै राखेमा यस्ता दुःखद घटनाबाट पार पाउन सायद असम्भव नै हुनेछ । परापूर्वकालमा फलामको प्रयोग रथ निर्माणमा बर्जित थियो । तर, अहिले परम्परालाई तोडेर प्रचुर मात्रामा फलामको प्रयोग भइरहेको छ । केही वर्ष पहिलेदेखि लिङ्गो उठाउने बेलामा पनि सुरक्षाको दृष्टिकोणले फलामको टेका बनाएर प्रयोगमा ल्याएको छ ।
मौजुदा रथको मुख्य काठपातहरू पुराना भई अधिकांश फेरबदल भइसकेको छ । रथको पित्तलको छाना प्रत्येक वर्ष क्षति भई मर्मत सम्भार गरिरहनुपर्ने हुन्छ । रथको चक्का पनि बल्लतल्ल कामचलाउ अवस्थामा छ । रथलाई सुरक्षित र आधुनिक प्रविधिको प्रयोग गरी समयानुकूल प्रविधियुक्त बनाउने विषयमा सम्बन्धित प्राविधिक, इतिहासविद्, पुरातत्वविद्, संस्कृतिकर्मी र कुशल कालिगडहरूको संयुक्त कार्यदल गठन गरी कार्य प्रारम्भ गर्नेतर्फ सम्बन्धित निकायले चासो र तत्परता देखाएमा यो असम्भव छैन ।
भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको आगमनपछि भक्तपुरको ऐतिहासिक बिस्का जात्रालाई शान्तिपूर्णरूपले सम्पन्न गर्न निकै प्रयासहरू भएका छन् । यसको फलस्वरूप विधिवत पूजाहरूदेखि लिएर भैरवनाथलाई रथमा विराजमान गराउने एवम् रथ तान्ने पनि समयमै सुरु भएको छ । रथ तान्ने र रथ तान्ने सिमाङ्कनमा व्यवस्थित गर्न नसक्दा रथ जाने क्षेत्रका घरहरूमा हुने हानि, नोक्सानी र धनजनको क्षतिलाई रोक्न सकेको छैन । यसको मूल कारण रथ तान्ने कार्य सुरु हुनासाथ असम्बन्धित व्यक्तिहरू रथमा बस्ने, रथ तल्लो (कोने) टोलमा एसामारी नाघेपछि र माथिल्लो (थने) तर्फ साकोठा नाघेपछि नियन्त्रण बाहिर गई अराजक र भिडको नियन्त्रणमा पुग्ने गर्छ । यस कुरालाई मध्यनजर गर्दै सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्छ । नत्र रथ जाने बाटो छेउका ऐतिहासिक सम्पदाहरूमा क्षति पुग्ने र नष्ट हुने प्रक्रिया यसपालि पनि नदोहोरिएला भन्न सकिन्न ।
भक्तपुरको हाम्रो जात्रालाई शान्तपूर्वक सम्पन्न गर्न हामी भक्तपुरवासीहरूको सामूहिक प्रयास आवश्यक छ । यसका लागि भक्तपुर नगरपालिका, जनप्रतिनिधिहरूको प्रयासलाई सार्थक बनाउन रथबाट हुने जोखिमलाई न्यून गर्न खासगरी रथ तान्ने कार्यलाई व्यवस्थापन गर्न जरुरी छ । यसको लागि वडा वडाहरूबाट तालिम प्राप्त स्वयम्सेवकहरूको समूह तयार गरी तान्न लगाउने र जात्रा हेर्न आउनेहरूको लागि सुरक्षित ठाउँ निर्धारण गरी सो ठाउँबाट मात्र जात्रा अवलोकन गर्न अनुरोध गर्ने र अनावश्यक व्यक्तिहरूलाई रथमा बस्न नदिन कडाइ गर्नुपर्छ ।
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ को नाराले वर्तमान युवा पुस्तामा भक्तपुरको कला र संस्कृतिको विषयमा नयाँ जागरण ल्याएको छ । अझ नेपालमै सर्वप्रथम स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयनमा देशमै भक्तपुर नगरपालिका उदाहरण बनेको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, पुरातात्विक मठ, मन्दिर, पाटीपौवा, जलाशय (पोखरी), पौराणिक बाजागाजाका साथै टोलटोलका दाफा भजनमा समेत नयाँ युवा पुस्ताको आकर्षण बढाउन सफल भएको छ । भक्तपुर नगरपालिका आफ्नो नगरभित्र आईएनजीओहरूको कुनै प्रकारको सहयोगबिना आफ्ना नगरवासीको साथ र सहयोगबाट आफ्ना पुर्खाले सिर्जेको कला र संस्कृतिको संरक्षण र पुनः निर्माणमा शतप्रतिशत सफल नगरपालिका भक्तपुर हो भन्नेमा दुईमत नहोला । यसै प्रसङ्गमा भक्तपुरको ऐतिहासिक बिस्का जात्रालाई ढुङ्गा हान्ने जात्राको संज्ञा दिएर भक्तपुरले गरेको कला, संस्कृति र पुरातात्विक धरोहरहरूको संरक्षण र पुनः निर्माणलाई आत्मसात गर्न नसक्ने समूहलाई कहिल्यै उठ्न नसक्ने गरी बज्रपात गर्न बिस्का जात्राको भैरवनाथको रथ तान्ने जात्रालाई सबैको साथ र सहयोग लिएर आधुनिक, प्रविधियुक्त र सुरक्षित एवं सभ्य तरिकाले धन र जनको क्षतिबिना सम्पन्न बनाउन अत्यावश्यक छ ।
(लेखक सेवा निवृत्त शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *