भर्खरै :

सत्तालाई केन्द्रमा राख्दा देशमा समस्यै समस्या

सत्तालाई केन्द्रमा राखेर राजनीति गर्ने र जसरी भए पनि कमाइ खाने भाँडो बनाउने शासकहरूले कहिले पनि देशको मुहार फेर्दैनन् । समाजवादी देशका शासकहरू देशको आयस्रोत बढाउन र विकास गर्न चिन्तनमनन गर्छन् । देश र जनतालाई केन्द्रबिन्दु बनाएर शासन चलाउँछन् । तर, नेपालका कम्युनिस्ट भनिने र दलको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मान्ने दलका शासकहरू न सिद्धान्त र विचारको राजनीति गर्छन् न त देश र जनताप्रतिको दायित्व नै निर्वाह गर्छन् । यस्तै यस्तै शासकहरूको नेतृत्वले देशको अर्थतन्त्र नाजुक हुँदै गएको हो, देश विदेशी ऋण र सहयोगमा सञ्चालन गर्न बाध्य भएको हो । यसमा अहिलेसम्मका शासकहरू नै जिम्मेवार छन् ।
यो समय विकासका योजनाहरू अघि बढाउने समय हो । यो समयमा विकास कार्य तीव्र हुनुपथ्र्यो । विकास गर्नुपर्ने बेला कहिले भागबन्डा, कहिले गठबन्धन त कहिले मन्त्रिपरिषद् विस्तारमा समय खर्चेर देश विकास कसरी हुन्छ ? गर्नुपर्ने योजनाहरू अलपत्र छोडेर जनताले कसरी काम पाउँछन् ? अर्थतन्त्रको दिगो र बलियो स्रोतको आधार कृषि, पर्यटन, उद्योगको स्थिति रूग्ण छ । विकासको गति सुस्त छ । कृषि उत्पादन घट्दो छ । जनताका आधारभूत आवश्यकता वस्तु आयात मात्र गरेर देश कसरी समृद्धि हुन्छ ? विकासमा त्यतिकै चुहावट हुन्छ । कृषिको लागि प्राप्त कति अनुदान त कमिसनमै खर्च भएको हुन्छ । प्रगति देख्ने तर प्रतिफल त्यति नपाउने देशको दुर्दशा हो । यसकारणले पनि कृषिमा आत्मनिर्भर भएन । कृषिप्रधान देशमा अन्न, दाल गेडागुडी, तरकारी, फलफुल आयात हुनु के लाजमर्दो विषय भएन ?
कृषि मन्त्रीहरू कृषि क्रान्तिको कुरा फुक्छन्, अर्थमन्त्रीहरू अर्थतन्त्र मजबुत बनाएर देश समृद्ध पार्ने खोक्छन्, शिक्षामन्त्रीहरू शिक्षालाई उत्पादनसँग जोड्ने बखान गर्छन्, स्वास्थ्यमन्त्रीहरू निःशुल्क स्वास्थ्योपचार गर्ने बताउँछन् । तर, मन्त्रीहरूको वाणीअनुसार व्यवहारमा केही भएको देखिँदैन । बिरामीहरू स्वास्थ्य केन्द्र पु¥याउन नसकेर, औषधि उपचार गर्न नपाएर मर्छन् । उच्च शिक्षा सर्वसाधारण जनताको पहुँचमा पुगेको छैन । खेती प्रणाली परम्परागत छ । प्रधानमन्त्री देशमा थिति बसालेको बताउँछन्, विकासलाई गति दिने बताउँछन् तर देश विकासको गति चिप्लेकीरा जतिको पनि देखिँदैन, आर्थिक वर्षसम्ममा ३५ प्रतिशत काम पनि हुँदैन । कति काम आर्थिक मसान्तको अन्त अन्तमा हुन्छ । वर्षाको समयमा हतार हतारमा हुने काम कसरी गतिलो, बलियो र गुणस्तरीय हुन्छ ?
देशमा भएको उद्योग, कलकारखाना जीर्ण या दयनीय हुँदै गएपछि देशको हालत कसरी सुदृढ हुन्छ ? देशमा आर्थिक सङ्कट देखिए पनि, रोजगारी नपाएर लाखौँ युवाहरू विदेसिए पनि, खेतीपातीको समयमा मल नपाएर कृषकहरू मर्कामा परे पनि शासकहरूलाई वास्ता छैन । भ्रष्टाचार र अनियमितता घटेको छैन । आर्थिक अभावले समाजलाई जरजर बनाएको छ । महँगी बढेको बढ्यै छ । कालाबजारी, माफिया, दलाली र कमिसनखोरहरूको बिगबिगी छ । मानव तस्कर, ठेक्कापट्टा, ठगीधन्दामा सरकारले नियन्त्रण गर्न सकेको छैन । यसरी शक्ति र सत्ता हातमा भएका शासकहरू जनताको हितमा उभेका छैनन् । सारमा, शासकहरूमा देश बनाउने मार्गचित्र नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *