भर्खरै :

अमेरिकाले कर्मचारी फिर्ता गर्ने निर्णय हतार हुनसक्छ— क्युबा

वासिङ्टन, १४ असोज (रासस-सिन्ह्वा) ः संयुक्त राज्य अमेरिकाले क्युबाको आफ्नो दूताबासबाट कूटनीतिक सेवाका करिब ६० प्रतिशत कर्मचारी फिर्ता गर्न गरेको भनिएको निर्णय निकै हतारमा आएको क्युबाले जनाएको छ ।
क्युबाली विदेशमन्त्रालयका अमेरिका डेस्कका महानिर्देशक जोसेफिना विदालले भन्नुभयो— यो निर्णय अत्यन्तै हतारमा आएको छ । यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा पनि असर पार्नसक्छ ।
अमेरिका र क्युबा शतीयुद्धकालीन समयदेखि नै सत्रुता भएका देश हुन् । क्युबा र अमेरिकाबीच करिब पाँच दशक लामो समयदेखि कूटनीतिक बैमनस्यता थियो ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको विशेष पहलमा यी दुई देशबीच सन् २०१५ मा कूटनीतिक सम्बन्धमा पुनः सुधार भएको थियो । सोही बर्ष नै क्युबामा अमेरिकी दूताबास स्थापना गरिएको हो ।
जोसेफिनाले भन्नुभयो— अमेरिकाले यति हतारमा किन यस्तो निर्णय गरेको हो भन्ने बारेमा हामी आश्चर्यमा परेका छौँ, यति धेरै कर्मचारी यहाँबाट फिर्ता बोलाउनुले दुई देशबीचमा राम्रो गर्दैन ।
यसका लागि क्युबाको अमेरिकी राजदूताबासले अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई लेखिसकेको र केही दिनमा नै सो निर्णय सार्वजनिक हुने बताइएको छ ।
अमेरिकाले उक्त दूताबासमा कार्यरत कम्तीमा पनि २१ जना कर्मचारीलाई फिर्ता गर्न लागेको थाहा भएको छ । सो तयारी अमेरिकी विदेश मन्त्रालयले गरेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ ।
क्युबाको राजधानी हवानामा कार्यरत केही कर्मचारीको स्वास्थ्यमा खराबी देखिएको कारण यस्तो निर्णय गर्नुपरेको अधिकारीहरुले जनाएका छन् ।
तर जोसेफिनाले भन्नुभयो— त्यसमा क्युबाको कुनै पनि दोष छैन, हाम्रा कारणले अमेरिकी दूताबासका कर्मचारी बिमार भएको भन्ने पनि होइन ।
उहाँले क्युबाले कूटनीतिक सेवाका कर्मचारीहरुका साथै अरु पनि आवश्यक सहयोगका लागि भियना महासन्धीको पालना कडा रुपमा गरिरहेकोले यसमा अमेरिकी कर्मचारीमाथिको यो रोगको आक्रमणका बारेमा आफूहरुलाई केही थाहा नभएको बताउनुभयो ।
सो दूताबासमा कार्यरत कर्मचारीमा शारीरिक दुर्बलता देखिएको समचार यसअघि नै आएको थियो । अधिकांशले कान नसुन्ने समस्या देखा परिरहेको छ भने एकजनाको त दिमागमा नै समस्या उत्पन्न भएको बताइएको छ ।
उता अमेरिकी विदेशमन्त्री टिलर्सनले भने क्युबाको दूताबास नै बन्दगर्ने कि भन्ने बारेमा समेत कुराकानी भइरहेको जानकारी बिहीबार दिनुभएको थियो ।
यस बिषयमा गरिएको प्रश्नमा उहाँले भन्नुभयो— हवानाको अमेरिकी दूताबासका अमेरिकी कर्मचारीले कामगर्न सक्ने अवस्था नआएको बारेमा सबैकुरा रिपोर्टिङ भइसकेको छ, तर हामी यसै समयमा त्यहाँ रहेको अमेरिकी दूताबास नै बन्द गर्ने कि भनेर पनि सोचिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *