भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन
चितवन, २४ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले राज्यशक्तिको दुरूपयोग गर्ने शासक दलहरू देशघाती र कामदार वर्गका शत्रुहरू हुन् भन्नुभयो । शुक्रबार चितवनको रत्ननगरमा नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सचिव सुवालले जनविरोधी शासक दलहरूलाई परास्त नगरी नेपाली जनताले सुख पाउने छैनन् भन्नुभयो ।
नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने पार्टीहरू नयाँ वा पुरानो जुन दल भए पनि जनताको पार्टी हुनै सक्दैन भन्दै सचिव सुवालले ती शासक पार्टीहरूलाई प्रस्टरूपमा दलाल पार्टी हो भन्नुपर्छ भन्नुभयो । मन्त्री भएका व्यक्तिहरूले नै मन्त्री हुँदा अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको खुलासा गरिरहेको सन्दर्भ उल्लेख गर्दै सचिव सुवालले मन्त्री खाएका पार्टीहरूलाई जनताले विश्वास गर्नु हुँदैन भन्नुभयो । सचिव सुवालले थप जोड दिनुभयो, “भ्रष्टाचारी मन्त्रीहरूलाई जनताले बहिष्कार गर्नुपर्छ ।”
निर्वाचन आचारसंहिता पालना गरी नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घको राष्ट्रिय सम्मेलन चितवनको निर्वाचन नहुने क्षेत्रमा आयोजना गरेको चर्चा गर्दै सचिव सुवालले निर्वाचनमा पैसा खर्च गरी, डर धम्की देखाई शासक दलहरूले आचारसंहिता उल्लङ्घन गर्दै आएको स्पष्ट पार्नुभयो ।
कुकुरले मानिसलाई टोक्यो भन्दैमा मानिसले कुकुरलाई टोक्दैन भनेजस्तै शासक दलहरूले आचारसंहिता उल्लङ्घन गर्दैमा नेमकिपाले नगर्ने बरू बहुला कुकुरलाई नियन्त्रण गरेजस्तै आचारसंहिता उल्लङ्घन गर्ने शासक दलहरूलाई उदाङ्ग्याउँदै जानेछ भन्नुभयो । पुँजीवादी शासक दलहरूको गलत क्रियाकलाप उदाङ्ग्याउनु र पुँजीवादी साहित्यको खण्डन गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले नाम फरक भए पनि नेपाली शासक दलहरू सबै पुँजीवादी पार्टीहरू हुन् भन्नुभयो । सचिव सुवालले अगाडि भन्नुभयो, “देश जोगाउन नेपाल मजदुर किसान पार्टीको मादल चिह्नमा छाप हाल्नुको विकल्प छैन ।”
नेपाल भारत खुला सीमाको कारण नागरिकता समस्या बल्झिँंदै गएको स्पष्ट पार्दै सचिव सुवालले विगतमा जन्मको आधारमा गलत व्यक्तिले पनि नेपालको नागरिकता हात पारेको हुँदा ती नागरिकताहरू छानबिनपछि वास्तविक नेपालीका छोराछोरीहरूलाई नागरिकता दिनुपर्छ भन्नुभयो ।
एकल महिलाबाट जन्मेको र बाबु ठेगान नभएको बच्चाको जन्म दर्ता मावलीको थरमा गर्न परिपत्र भएको सन्दर्भमा सम्मेलनको बन्द सत्रबाट उचित सुझाव दिनुपर्नेमा जोड दिँदै बलात्कार भई बाबु ठेगान नभएको हकमा बलात्कारीलाई कारबाही हुने गरी कानुन बनाउनुपर्छ भन्नुभयो ।
नागरिकतासँगै अंशको पनि प्रश्न उठ्ने चर्चा गर्दै सचिव सुवालले समाजवादी व्यवस्थामा मानिसको गर्भदेखि चित्तासम्म सरकारले बन्दोबस्त गर्ने हुँदा समाजवादी व्यवस्थामा महिलामाथिको विभेद पनि अन्त्य हुन्छ भन्नुभयो ।
बोरा बोरामा राखिएका अवैध पैसालाई वैध बनाउन सरकारले कानुन बनाउन खोजेको सन्दर्भ उल्लेख गर्दै सचिव सुवालले अवैध सम्पत्ति, बैङ्क लुट्ने, कमिसन खाने, भ्रष्टाचार गर्ने, चोर वा डाँकाहरूसँग मात्र हुने हुँदा पुलिस पठाएर अवैध सम्पत्ति जफत गर्नुपर्छ भन्नुभयो ।
नेपालको सबैभन्दा धनी व्यक्ति काङ्ग्रेसको सांसद हो तर निजले देशलाई कर तिर्छ कि तिर्दैन प्रश्न गर्दै सचिव सुवालले पैसाको पछि लाग्ने बुद्धिजीवीहरूको कारण पनि देश बिग्रेको हो भन्नुभयो ।
३ प्रतिशतको अप्रजातान्त्रिक थ्रेसहोल्डविरूद्धको मुद्दामा ६ वर्षदेखि अदालतबाट किनारा नलगाएको आफैमा सुशासन नभएको प्रमाण हो भन्दै सचिव सुवालले नेपालमा जनताको सरकार आएपछि नेपाली युवाहरूको रगतबाट विदेशमा थुपारेको राणालगायत शासकहरूको सम्पत्ति जफत गरी नेपाल ल्याउनेछ भन्नुभयो ।
युक्रेनमाथि रूसले नभई संरा अमेरिका र नाटोले रूसमाथि आक्रमण गरेको हुँदा नेपालले युक्रेनलाई दिएको मत फिर्ता लिनुपर्नेमा जोड दिँदै सचिव सुवालले संरा अमेरिकाबाट पालितपोषित युक्रेनका शासकहरूका कारण तेस्रो विश्वयुद्ध हुने जोखिम बढेको स्पष्ट पार्नुभयो । चीन, रूस र भारत मिलेमा विश्व युद्ध रोक्न सक्ने सम्भावना भएको दर्शाउँदै सचिव सुवालले संरा अमेरिकाको लहलहैमा लागेर भारतले एसियामा युद्ध भड्काउन खोजेको छ भन्नुभयो । साम्राज्यवादी संरा अमेरिका र विस्तारवादी भारतले जे जे भन्यो त्यही त्यही गर्ने काङ्ग्रेस, एमाले, माओवादीलगायत शासक दलहरूकै कारण देशघाती एमसीसी सम्झौता भएको उल्लेख गर्दै सचिव सुवालले एमसीसी अमेरिकी स्वार्थको लागि लगानी भनी एमसीसीको आधिकारिक दस्तावेजमा लेखिएको छ भन्नुभयो ।
सम्मेलनमा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले वर्गसङ्घर्षको नमुना आन्दोलन नेमकिपाले चितवनमा देखाएको स्मरण गर्दै ५० वर्षअघि सामन्तवाद र पुँजीवादविरूद्ध रोपेको बीउलाई फलमा रूपान्तरण गर्नु आजको आवश्यकता हो भन्नुभयो । कामदार जनतालाई एकजुट हुन नदिने पञ्चायतका षड्यन्त्रलाई चिर्दै आन्दोलन अगाडि बढाएजस्तै सामन्तवाद र पुँजीवादका अवरोधलाई सामना गर्दै कामदार वर्गको आन्दोलनलाई अझै सशक्तरूपमा उठाउनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य गोसाईंले पुँजीवादी व्यवस्थाको पनि अन्त्य निश्चित छ भन्नुभयो ।
युद्ध रच्ने सैनिक सङ्गठन नाटोको सदस्य बढाएर अशान्ति मच्चाउन कुचेष्टा गर्ने साम्राज्यवादी संरा अमेरिकाले प्रजातन्त्र सम्मेलन गरेर वास्तविक प्रजातन्त्रलाई दबाउन खोजेको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईंले वातावरणीयरूपमा सुरक्षित संसारमा मानिस मानिस भएर बस्ने अधिकार कायम गर्न चीनले विश्व सभ्यताको नेतृत्व गर्ने र विश्वलाई मानव बस्ती बनाउन चीनले हतियार निर्यात नगर्ने, स्वतन्त्र तथा सार्वभौम देशहरूमाथि हस्तक्षेप नगर्ने चिनियाँ राष्ट्रपतिको वचनबद्धता सराहनीय छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सिर्जना सैँजूले मिटरब्याजको घनचक्करसँगै मिटरब्याजीले दिएको बलात्कारको पीडामा महिलाहरू छटपटाइरहेको बताउँदै सुदखोर वा बलात्कारीलाई राज्यले कहिले दण्ड दिन्छ ? अथवा ती महिलाहरूले कहिले न्याय पाउलान् ? भन्ने प्रश्न सरकारतर्फ तेर्सिएको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद गीता काफ्लेले प्रजातन्त्र आएको ३३ वर्ष र गणतन्त्र आएको १५ वर्षपछि पनि कामदार महिलाले कुनै राहत नपाएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेक्रामसङ्घ बर्दियाका अध्यक्ष मन्जु थारूले तराईका व्यक्तिहरू राष्ट्रपति र उपराष्ट्रपतिसमेत भए पनि यहाँका जनता अझै पनि रोग, भोक र शोक तथा मिटरब्याजको समस्याबाट पीडित छन् भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चितवन सचिव एवम् चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानेन्द्र चेपाङले कामदार वर्गलाई शासक वर्गमा उठाउन नेमकिपाले निर्वाचनलाई उपयोग गरिरहेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका पवित्रा शाहीले स्थानीय तह भक्तपुर नगरपालिकालाई छिटोभन्दा छिटो ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिइयोस् भन्ने माग गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका प्रमिला ज्याख्वले संविधानमा लेखिएको निःशुल्क शिक्षा हात्तीको देखाउने दाँतजस्तो भएको बताउनुभयो ।
नेक्रामसङ्घ चितवनका अध्यक्ष सुमित्रा महत्तोले नेपाल क्रान्तिकारी महिला सङ्घले महिलालाई निःशुल्क र अनिर्वाय शिक्षाको व्यवस्था राज्यले नै गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएको छ भन्नुभयो ।
तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता गर्दै नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले चितवनको ऐतिहासिक किसान आन्दोलन सधैँभरि प्रेरणाको स्रोत हुने बताउँदै जुगेडीको बाटो नै क्रान्तिको बाटो हो भन्नुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा विभिन्न जिल्लाका कलाकारहरूले गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।
सम्मेलनको उद्घाटन सत्रअघि विभिन्न नारासहित उद्घाटन ¥याली प्रदर्शन भएको थियो ।
Leave a Reply