भर्खरै :

नक्कली परीक्षार्थीको कारण परीक्षा बोर्डकै बेइज्जत

नक्कली परीक्षार्थीको कारण परीक्षा बोर्डकै बेइज्जत

जनताको सेवा गर्न निर्वाचित रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुले आफ्नो इज्जत, प्रतिष्ठा, आस्था र विश्वासको ख्यालै नगरी बदमासी काम गरे । आफ्नो माध्यमिक शिक्षाको परीक्षा आफ्नै ज्वाइँ कमल साहलाई परीक्षा दिन लगाएर नक्कली काम गर्न नगर प्रमुख प्रेमलाल भ्याए । नगर र नगरवासीको हितमा अनुकरणीय काम गरेर नाम कमाउनुपर्ने नगर प्रमुख नगर र नगरवासीको बदनाम गर्ने काम गर्न हौसिए । नक्कली परीक्षार्थीबाट जाँच दिने र जाँच दिन लगाउने काम अपराध नै हो । अरूले यस्तो काम नहोस् भनेर प्रशिक्षण दिनुपर्ने नगर प्रमुख नै गलत काममा हौसिएपछि बेइज्जत हुनु स्वाभाविक हो । यसमा नक्कली परीक्षा दिलाउने, नक्कली परीक्षा दिने र नक्कली परीक्षा दिन अवसर दिने केन्द्राध्यक्ष पनि त्यत्तिकै जिम्मेवार छन् ।
नक्कली परीक्षार्थी प्रयोग गरेको अभियोगमा जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउपछि अदालत या सम्बन्धित संस्थाले उनीमाथि कस्तो कारबाही गर्ने हो ? कारबाही गर्ला या नगर्ला ? त्यो पछिको कुरा हो । शिक्षा ऐन २०२८ को दफा १७ ‘क’ मा नक्कली परीक्षार्थीबाट जाँच दिने र जाँच दिन लगाउनेलाई ६ महिना कैद वा एक लाख रूपैयाँ वा दुवै सजाय हुने प्रावधान छ । अपराधी सजातगी हुने कुरा सर्वमान्य सिद्धान्त हो । समाचार स्रोतअनुसार नक्कली परीक्षार्थी पक्राउ परेपछि सो परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह पनि सम्पर्कविहीन भएका छन् ।
अबका दिनमा नगर प्रमुख साहले कुन मुख देखाएर जनताको काम गर्ने ? अनियमित काम गर्ने नगरवासीहरूलाई नगर प्रमुख साहले के सल्लाह दिने र कस्तो कारबाही गर्ने भन्नेबारे गोनाही नगरपालिकाका नगरवासीहरूबिच चर्चा परिचर्चा हुनु स्वाभाविक हो । नगरवासीले थुक्ने काम नगर प्रमुखले गरेपछि कसरी इज्जत जोगाउने ? दलको नेतृत्व पक्षले आफ्ना कार्यकर्ताहरूलाई सिद्धान्त र विचारको राजनीति गर्न प्रशिक्षित नगर्दाको परिणाम हो यो । ५१ वर्षको उमेरको प्रमुख साहले एसईई परीक्षा दिने प्रयास गर्नु राम्रो पक्ष हो । तर, आफ्नो परीक्षा अरूलाई दिलाउनु गलत हो । परीक्षा दिलाउनु अघि कारणवस थाहा पाएमा भएको इज्जत पनि गुम्छ भन्ने कुरा किन मेयर साहले सोचेनन् ?
यो वर्षको एसईई परीक्षामा सयौँ नक्कली परीक्षार्थीहरू सामेल भएको घटनाले परीक्षा बोर्डकै बदनाम भयो । प्रत्येक वर्ष यस्ता गलत काम भइरहे पनि परीक्षा बोर्डले किन सिंहावलोकन गरेन† सिंहावलोकन गरेर किन शिक्षा लिएन ? कहिले प्रश्नपत्र आउट हुने, कहिले अर्कै विषयको प्रश्नपत्र पर्ने त कहिले प्रश्नपत्रमा धेरै गल्ती प्रश्नहरू छापिने रोग कहिले सुधार्ने हो ? अतः प्रत्येक वर्ष आइपर्ने कमी कमजोरीको मूल्याङ्कन गर्दै अर्काे वर्षको परीक्षामा बोर्ड परीक्षा, परीक्षा केन्द्र, केन्द्राध्यक्ष र निरीक्षकहरू सबै सजग हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *