भर्खरै :

“एक घर एक स्नातकको अवधारणाले समाजलाई बुद्धिजीवीकरण गर्न टेवा पुग्छ”

“एक घर एक स्नातकको अवधारणाले समाजलाई बुद्धिजीवीकरण गर्न टेवा पुग्छ”

भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. २ स्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलको अभिभावक दिवस, विद्यार्थी–शिक्षक सम्मान, पुरस्कार वितरण समारोह तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरका शैक्षिक संस्थाहरू बन्द हडतालबाट मुक्त भएकै कारण आज शैक्षिक क्षेत्रमा अगाडि बढेको बताउँदै भक्तपुर नपाले अरूको भरमा होइन, आफ्नै खुट्टा बलियो पार्ने ढङ्गले नगरपालिकालाई आत्मनिर्भरतातर्फ जोड दिँदै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले शैक्षिक क्षेत्रमा गरेको अभियानकै कारण भक्तपुर आज ज्ञानविज्ञानको केन्द्रको रूपमा परिचित भएको बताउँदै उहाँले नेमकिपाको ‘एक घर एक स्नातक’ अवधारणाले समाजलाई बुद्धिजीवीकरण गर्न टेवा पुगेको हो भन्नुभयो ।
उहाँले शिक्षा समाज विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको बताउँदै विद्यालयले सङ्ख्याभन्दा पनि शैक्षिक गुणस्तरलाई जोड दिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ वडाध्यक्ष हरिप्रसाद बासुकलाले दक्ष युवा जनशक्ति विदेसिँदा देश विकासमा बाधा पुगेको बताउँदै विद्यालयले नयाँ पुस्तालाई देशभक्त र नैतिक विषयमा विशेष जोड दिएर अध्ययन अध्यापन गराउनु आजको आवश्यकता भएको बताउनुभयो ।
त्यस्तै पूर्ववडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रवीन्द्र खर्बुजाले हिमालयन ग्लोरीमा अध्ययन गरेका पूर्वविद्यार्थीहरू आर्थिक, नैतिक, भौतिकरूपमा समाजमा अग्रसर भई काम गरिरहेको बताउँदै विद्यालय, विद्यार्थी र अभिभावकको तीनपक्षीय सुमधुर सम्बन्धले विद्यालयको शैक्षिक स्तर उन्नति हुने बताउनुभयो ।
विद्यालयका प्रअ कृष्णराम त्वानाबासुले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा आधारित हिमालयन ग्लोरी विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र गरिब तथा कामदार जनतालाई वैज्ञानिक शिक्षा प्रदान गर्न जोड दिइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशराम वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा सदस्य श्यामसुन्दर मातां, अभिभावक प्रतिनिधि प्रनेश बाटी, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष प्रशान्त वेंजुले पनि बोल्नुभएको थियो ।
अतिथिहरूले अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार वितरण, एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ तथा लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *