भर्खरै :

नयाँ चीन निर्माणका सहयोगी अङ्ग्रेज डाक्टरको वृत्तान्त

नयाँ चीन निर्माणका सहयोगी अङ्ग्रेज डाक्टरको वृत्तान्त

सन् १९५४ मा बेलायती शल्यचिकित्सक जोस्वा एस होर्नले स–परिवार जनवादी गणतन्त्र चीन जाने निधो गरे । उनी र उनकी श्रीमतीले चीनको ह्वाइ नदीमा बाढी नियन्त्रण परियोजनाअन्तर्गत बाँध निर्माणसम्बन्धी एउटा वृत्तचित्र हेरेका थिए । वृत्तचित्रमा लाखौँ किसानहरू डोको र खर्पनमा ढुङ्गा माटो बोकिरहेका थिए । उनीहरू ठूला ढुङ्गा उचाल्दै माटो समाइरहेका थिए । किसानहरूका खुट्टा नाङ्गा थिए । वृत्तचित्र हेर्दै जोस्वाले उनकी श्रीमतीको अनुहार नियाले । अनि उनकै मनको कुरा चोरेजस्तै गरी श्रीमतीले भनिन्, “उनीहरूलाई शल्यचिकित्सकको औधी खाँचो छ ।”
यो घटनाले निकै अघिदेखि चीनमा उदाउँदै गरेको नयाँ समाज निर्माणमा योगदान गर्ने जोस्वाको अभिलाषालाई मूर्त रूप दियो । वृत्तचित्र हेर्दै गर्दा श्रीमान–श्रीमतीबिच भएको संवादले लामो समयदेखि चीन जानुपर्ने मनसायलाई अझ सघन बनायो र उनीहरू झोलाझाम्टा कसेर चीन लागे । सन् १९५४ मा चीन हिँडेको जोस्वा परिवारले चिनियाँ इतिहासको ज्यादै महत्वपूर्ण मानिएका पन्ध्र वर्ष चीनमा बिताए । ती पन्ध्र वर्ष (सन् १९५४ देखि १९६९) आधुनिक चीन निर्माणको आधार बन्दै गरेका वर्ष थिए । सन् १९४९ मा स्थापना भएको जनवादी गणतन्त्र चीनमा तिनताक नयाँ समाज निर्माणका लागि अपरिहार्य पूर्वाधार बनाउने कार्य भइरहेको थियो । युगौँ पुराना मूल्य मान्यता, विश्वास–अन्धविश्वास, परम्परा र संस्कृतिलाई चिया छानेजस्तै गरी छानेर नयाँ समाज, नयाँ मूल्य मान्यता, नयाँ परम्परा र संस्कृति निर्माण गर्नु थियो । जोस्वा चीन पुगेको समय चिनियाँ जनता यही ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दौडमा लागेका थिए ।
सन् १९३० को दशकमा उनले बेलायतमा चिकित्सा विज्ञान अध्ययन गरे । विद्यार्थीकालमै उनको सङ्गत कलेजको समाजवादी समाजसँग थियो । बेलायती मजदुरको दयनीय अवस्थाले उनलाई समाजवादी र कम्युनिस्ट आन्दोलनसँग जोडिन अभिप्रेरित गरिरह्यो । समाजवादी समाजले बेरोजगारी, विपन्नताको विरोधमा आयोजित प्रदर्शनमा उनी पनि भाग लिएका थिए । दोस्रो विश्वयुद्धको समयमा उनी फासीवादविरोधी गतिविधिमा चिकित्सकको भूमिकामा सक्रिय भए । यस्ता गतिविधिले उनमा प्रगतिशील र समाजवादी विचारले जरा गाडेको थियो । आफूले बेलायतमा भोगेको पुँजीवादी राज्य व्यवस्थाले व्यापक श्रमिक र विपन्न वर्गका जनताको हित गर्न नसक्ने, बरु समाजवाद नै मानव कल्याणको बाटो हुन सक्नेमा उनी विश्वस्त थिए ।
पढाइ सकेलगत्तै उनले क्याम्ब्रिज विश्वविद्यालयमा पढाउने काम पाए । तर, उनलाई चिकित्सक भएर पढाउनु होइन, चिकित्सक भएर बिरामीको सेवा गर्नु थियो । त्यसकारण, उनी अध्यापन छोडेर चिकित्सकीय अभ्यासमै लागे । उनी युरोपबाट चीनको साङ्घाइ ओहोरदोहोर गर्ने पानीजहाजका चिकित्सक बने । त्यसक्रममा उनले चीनमै चिनियाँ जनताको दयनीय अवस्थाको परख गरे । चीनमै चिनियाँ जनता दाससरह थिए । रोग, भोक, विपन्नता, अशिक्षा, ठगी, वेश्यावृत्ति, अभावको उम्किनै नसकिने दलदलमा चिनियाँ जनता फसेका थिए । उपनिवेशवाद र पुँजीवादले मानिसले मानिसलाई गर्ने पशुसमान व्यवहार उनले ती दिनमा प्रत्यक्ष देखे । साङ्घाई सहरलाई विभिन्न शक्ति देशहरूले टुक्राटुक्रामा आफ्नो नियन्त्रणमा लिएका थिए र सहरका अलगअलग क्षेत्रमा अलगअलग देशको प्रशासन चल्थ्यो । चिनियाँ जनताप्रतिको यस्तो अत्याचारको कारण उनीहरूप्रति उनी सद्भाव राख्थे ।
त्यही सद्भाव र चीनमा बन्दै गरेको नयाँ समाजप्रति उनको राजनीतिक झुकावले उनलाई चीन जान घचघच्याइरह्यो । उनी नयाँ चीन बनाउने महायज्ञमा आफ्नो क्षेत्रबाट योगदान गर्न चाहन्थे । त्यही भावनाको हावाले डा.जोस्वालाई चीन पु¥यायो । उनी चिनियाँ क्रान्तिमा शहादत प्राप्त गरेका क्यानाडाका अन्तर्राष्ट्रवादी चिकित्सक नर्मन बेथुनबाट प्रभावित थिए ।
चीनमा डा. जोस्वाका पन्ध्र वर्ष ज्यादै सक्रिय वर्ष थिए । उनी गहिरो आत्मसन्तोषका साथ नयाँ चिनियाँ समाज निर्माणको निम्ति अहोरात्र खटिरहे । अनि तिनै फलदायी वर्षका अनुभवमा आधारित पुस्तक लेखे– ‘अवे विथ अल पेस्ट, एन इङ्गलिस सर्जन इन पिपुल्स चाइनाः १९५४–१९६९ ।’ यो शीर्षकको नेपालीमा शाब्दिक अनुवाद ‘सबै विषाणुबाट मुक्ति, जनताको चीनमा अङ्ग्रेज शल्यचिकित्सक ः १९५४–१९६५’ हुनसक्छ ।
यो पुस्तक कोठामा बसेर अनुमान अथवा अन्य सन्दर्भ सामग्री र पुस्तक पढेको भरमा लेखिएको थिएन । यो पुस्तक लेखक आफै खच्चर चढेर दुर्गम चिनियाँ गाउँ गाउँ पुगेर त्यहाँका जनताको आफैँले गरेको उपचारको अनुपम अनुभवमा आधारित पुस्तक हो । विधागत विभाजनमा आत्मसंस्मरणअन्तर्गत राख्न सकिने भए पनि यो चीनले स्वास्थ्य क्षेत्रमा छिचोलेको कठिन यात्राको अभिलेख हो । नयाँ चीनको स्थापनापश्चात् चीनले नयाँ समाज सुहाउँदो स्वास्थ्य क्षेत्रका आधार बनाउन गरेका काम यो पुस्तकमा स्थलगत र प्रत्यक्ष अनुभवमा आधारित भएर व्याख्या गरिएको छ । यसमा युरोपको स्वास्थ्य व्यवस्था र चीनमा बन्दै गरेको नयाँ समाजको स्वास्थ्य क्षेत्रबिच तुलना गरिएको छ । अनि जनताको चिकित्सक हुनुको खास अर्थ के हुनसक्छ भन्ने प्रश्नको उत्तर यसमा प्रस्ट्याइएको छ ।
गर्भबाट नयाँ शिशुको जन्म भए पनि उसको शरीरमा उसको पुरानो वासस्थान (आमाको पाठेघर) का बक्यौता (रगतका टाटा) बाँकी नै रहन्छ । त्यसरी नै नयाँ समाजको स्थापना भएको लामो समयसम्म पुरानो समाजका बक्यौता रहिरहन्छ । एकै रात वा वर्षमा ती सबै पखाल्न सकिन्न । जसरी भर्खर जन्मेको बच्चालाई जतन गरी नुहाइदिन र शरीरमा लागेका दाग पखाल्ने गरिन्छ, त्यसरी नै भर्खर उदाएको समाज बनाउँदै गर्दा पुरानो समाजका फाल्नुपर्ने पक्ष पखाल्दै जानुपर्छ । समाजवादी विचारले राजनीतिक नेतृत्व हात पारिसकेको लामो समयसम्म पनि समाजवादी संस्कृति निर्माणको काम पूरा हुँदैन । त्यसको लागि दशकौँ दशकसम्म सङ्घर्ष जारी राख्नुपर्ने हुन्छ । पुरानो र नयाँबिचको यो सङ्घर्षले नै एउटा नयाँ समाज निर्माणको आधार बनाउने गर्छ ।
चीनको स्वास्थ्य क्षेत्रबाट पनि पुरानो समाजका रगतका टाटा पखालिएको थिएन । गरिब र विपन्न देश भएकोले नयाँ व्यवस्था स्थापनालगत्तै चिकित्सक र स्वास्थ्यकर्मीहरूको सङ्ख्या निकै कम मात्र थियो । भएका सीमित सङ्ख्याका चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि सहरी क्षेत्रमा मात्र काम गर्न तयार थिए । उनीहरू वर्गीयरूपमै पनि नयाँ व्यवस्थाका विरोधी थिए । उनीहरू नयाँ व्यवस्थाको भावनाअनुसार चीनका दुर्गम क्षेत्रमा गएर जनताको सेवा गर्न तयार थिएनन् । ती चिकित्सकहरूमा न नयाँ खोजको चाहना थियो, न जनताको सेवा गर्ने भावना । तर, जनताको बलिदानबाट स्थापना भएको नयाँ राजनीतिक परिवर्तन जनतालाई आफ्नै वरपर कसरी अनुभूति गराउने ? यो चुनौती नयाँ राजनीतिक प्रणालीका अगुवासमक्ष थियो ।
तत्कालीन परिस्थिति र आवश्यकतालाई बोध गर्दै चीन सरकारले खेतमा काम गर्ने किसानहरूलाई नै चिकित्सकीय तालिम दिएर जनताको सेवामा परिचालन गर्ने नीति अघि सारियो । भौगोलिकरूपमा विशाल देश चीनका दुर्गम गाउँ गाउँसम्म सधैँ चिकित्सक पुग्ने सम्भावना उतिबेला थिएन । भर्खर उदाएको चीनसँग मानवीय र आर्थिक स्रोतको ठूलो सीमितता थियो । तर, प्रतिकूलताबिच जनताको सेवा गर्नु नै समाजवादी संस्कृति हो । पुँजीवादी व्यवस्थाले भने हरेक सङ्कटलाई पुँजीपतिको नाफा बढाउने अवसरको रूपमा लिन्छ । किसान चिकित्सकहरूलाई विभिन्न चरण गरी तीन तीन महिनाको तालिम पछाडि कम्तीमा आधारभूत स्वास्थ्य उपचार दिनसक्ने अर्धदक्ष जनशक्ति बनाइयो । जनवादी क्रान्तिको हुटहुटी सेलाइनसकेको अवस्थामा जनता आफैँ पनि क्रान्तिकारी प्रक्रियामा होमिन आतुर थिए । किसान चिकित्सक (पिसेट डक्टर) हुनु समाजमा गौरव र इज्जतको विषय थियो ।
चीनले स्वास्थ्यकर्मीको खाँचोलाई अल्पकालीन तालिम दिएर पूर्ति गर्ने नीतिलाई पश्चिमाहरूले खिसिट्युरी गरे । त्यसरी तयार गरिएका जनशक्तिलाई अदक्ष र तिनले स्वास्थ्य क्षेत्रमा खराब परिणाम निम्त्याउने भनी खेदो गरियो । उनीहरूको अनुभव फरक थियो । तर, चीनमा अहोरात्र जनताको सेवामा खटिएका किसान चिकित्सकहरूको परिचालनले चिनियाँ स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भयो । स्वास्थ्य सेवा जनताको घरदैलोमा पुग्यो । आफ्नै वरपर र गाउँघरकै चिनेजानेका व्यक्तिबाट स्वास्थ्य उपचार पाउँदा जनताले परिवर्तनको अनुभव गरे । स्वास्थ्य समस्यालाई जटिल हुनुअघि नै उपचारको परिधिभित्र ल्याउन यो नीतिले काम ग¥यो । पहिलो चरणको अवलोकन र उपचार किसान चिकित्सकबाटै हुन्थ्यो । रोगको निवारण त्यतिमै भए अस्पताल र चिकित्सकमा कम मात्र दबाब प¥यो । तर, कदाचित कुनै जोखिम र जटिल स्वास्थ्य समस्या भएको अवस्थामा माथिल्लो अस्पतालबाट चिकित्सक र स्वास्थ्यकर्मी बोलाउने बन्दोबस्त थियो । डा. जोस्वाले पुस्तकमा धेरै त्यस्ता उदाहरण दिएका छन् जहाँ किसान चिकित्सकको सूचनाको आधारमा अस्पतालबाट कठिन यात्रा गरेर रोगीको घरमा पुगी त्यहाँ भएका स्थानीय स्रोतसाधनको प्रयोग गरी बिरामीको उपचार गरिएको थियो । किसान चिकित्सकहरूले सीमित तालिम र साधन स्रोतको आधारमा पनि केही विशेष स्वास्थ्य समस्याको समेत प्रभावकारी र चामत्कारिक उपचार गरेका दृष्टान्त पुस्तकमा उल्लेख छन् ।
समाजवाद भनेको राजनीतिक प्रणाली मात्र होइन, बरु यो वैचारिक र सांस्कृतिक परिवर्तनको शिलशिला हो । समाजवाद सामूहिकताको सिद्धान्त हो । पुँजीवाद व्यक्तिवादी र उपभोक्तावादी व्यवस्था हो । समाजवादमा कुनै पनि काम मानिसहरू मिलेर गर्छन् र त्यसको जस अपजस पनि आपसीमा बहन गर्छन् । कुनै सफलताको यश कोही एक जना व्यक्तिको भागमा मात्र पर्ने र असफलताको कसैले पनि जिम्मेवारी नलिने निजात्मक अभ्यास समाजवादमा हुने गर्दैन । अनि कुनै सफलता हासिल भएपछि त्यसबापत आफूले केही पाउनैपर्ने उपभोक्तावादी चिन्तन पुँजीवादी समाजको विशेषता हो । डा. जोस्वाले पुस्तकमा चिनियाँ चिकित्सकहरूले तिनताक स्वास्थ्य क्षेत्रमा हासिल गरेर धेरै आश्चर्यजनक उपलब्धिको चर्चा गरेका छन् । कति त्यस्ता उपलब्धि युरोपेली र संरा अमेरिकी चिकित्सकहरूका निम्ति समेत ताजुब लाग्दा थिए । विशेषतः हात वा खुट्टा टुक्रिएर अलग भएको अवस्थामा जोड्ने चिकित्सा विज्ञानमा चीनले महत्वपूर्ण उपलब्धि हासिल ग¥यो । चीनमा ‘महान् फड्को’ (ग्रेट लिप फर्वार्ड) को बृहत् अभियान चलेको थियो । महान् फड्को चीनलाई औद्योगीकरणतिर डो¥याउने प्रयास थियो । त्यसक्रममा धेरै सहरमा औजारले काट्ने र च्यापिएर अङ्गभङ्ग हुने दुर्घटना बढ्यो । चिनियाँ चिकित्सकहरूले काटिएका हात खुट्टासमेत जोड्ने उपचार गरेर संसारलाई चकित बनाए । तर, त्यस्ता ठूलठूला उपलब्धिको यश कुनै व्यक्तिको नाममा गएन । बरु त्यसलाई सामूहिक प्रयासको फलको रूपमा अघि ल्याइयो । कुनै पनि काममा व्यक्तिलाई केन्द्रमा राख्ने र यश जति आफ्नो भागमा लिने पुँजीवादी प्रवृत्तिलाई सामूहिक भावनाले पराजीत ग¥यो ।
पुँजीवादी देशमा चिकित्सकहरू त्यही क्षेत्रमा लाग्छन्, जुन क्षेत्रबाट उनीहरूको आम्दानी बढ्छ । नाफाकै लागि र नाफाबाटै पुँजीवादी व्यवस्था टिकेको हुन्छ । तर, चीनमा चिकित्सा क्षेत्रले देशको मूल आवश्यकतालाई बोध गरी ती आवश्यकता पूर्ति गर्न योजनाबद्ध काम गर्ने गर्छ ।
चिनियाँ जनतालाई स्वस्थ बनाउन झिङ्गा, मुसा, उडुस र लामखुट्टे प्रमुख चुनौती हुन् भन्ने सरकारले निधो गरेपछि सिङ्गो चीन ती ‘शत्रु’ लाई पराजित गर्न एकजुट भएर लाग्यो । चिनियाँ चिकित्सा क्षेत्रको मूल प्राथमिकता ती शत्रुबाट मुक्ति हुनु तय गरियो र सोहीअनुसार अभियान अघि बढाइयो । अर्थात्, चिकित्सा क्षेत्र समाजका मूल आवश्यकताबाट निर्देशित हुने गर्छ । समाजलाई के कुराको खाँचो छ त्यसकै पूर्तिको निम्ति चिकित्सक र चिकित्सा क्षेत्र परिचालित हुनुपर्छ । राजनीतिक नेतृत्वले चिकित्सक र चिकित्सा अन्वेषीका सूचनाका आधारमा जनताको हितमा त्यस्ता अभियानको निधो गर्ने गर्छन् ।
उदाहरणको लागि एक प्रकारको चिप्लेकीराबाट सर्ने रोग स्किस्टोसोमियासिस (पेट फुल्ने रोग) तथा सिफिलिस नामको यौन रोग सन् १९५०–६० दशकमा चिनियाँ जनताका प्रमुख समस्या थिए । यो रोग उन्मूलन गर्न चीनका सबै तहको बृहत् परिचालनले यसमाथि विजय सम्भव भयो । जुम्राबाट चिनियाँ जनतालाई मुक्त बनाउन पनि उस्तै अभियान सञ्चालन गरियो । जनस्तरमा सञ्चालित ती अभियान कसरी छोटो समयमै सफल भयो ?

नेपालका आजका स्वास्थ्य समस्या समाधान गर्न उपयोगी हुनसक्छ । साथै, पुँजीवादी रोगले ग्रसित नेपालको चिकित्सा र स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउन यो पुस्तक सहयोगी सामग्री हुन सक्छ । चिकित्सक समाजभन्दा अलग वा कम्तीमा एक इन्च माथि हुन्छन् र जनतालाई केही थाहा हुँदैन भन्ने गलत बुझाइ चिर्न यो पुस्तक स्वास्थ्यकर्मीहरूले पढ्दा समाजलाई उपयोगी हुनेछ । ‘द मन्थली रिभ्यु’ को व्यवस्थापनमा राउल फाउन्डेसनले यो पुस्तक सन् २०१० मा प्रकाशन गरेको हो । डा. जोस्वाको यो सम्पूर्ण वृत्तान्त भने पहिलो पटक ‘द मन्थली रिभ्यु’ मा प्रकाशित भएको थियो । विख्यात पत्रकार एडगर स्नोको भूमिकाले पुस्तकलाई अझ बढी ओजपूर्ण बनाएको छ ।

डा. जोस्वा भन्छन्, जनतालाई राम्ररी सम्झाइबुझाइ जनता आफैँलाई परिचालन गरे कुनै पनि अभियान सफलमात्र हुने होइन, चमत्कारिक उपलब्धि पनि हासिल हुन सम्भव छ । चिकित्सकले आफूलाई जनताभन्दा माथि सोच्ने, जनतासँग मिसिन मन नपराउने, जनताको सेवा गर्नुलाई झिञ्जो मान्ने, कठिनाइसँग डराउने प्रवृत्तिले चिकित्सा क्षेत्रमा पुँजीवादी रोग नै ब्युँताउने गर्छ । जनतालाई केही नजान्ने र आफू नै सबै कुराको ज्ञाता ठान्ने सोचाइले आफूलाई सधैँ जनताभन्दा माथि ठान्छ । चिनियाँ चिकित्सकहरूलाई दूरदराजका गाउँमा परिचालन गर्नु जनतासँग निकट बनाउने, जनताका समस्या बुझाउने, जनताले बाँचिरहेको जीवन बाँच्ने क्षमता विकास गराउने भावनाबाट अभिपे्ररित थियो । डा. जोस्वा आफैँ पनि आफ्नो अस्पतालका सहयोगीका साथ चीनका धेरै विकट गाउँमा गएर जनताका स्वास्थ्य समस्याको उपचार गरेका थिए ।
पुँजीवादी वा सामन्ती शासन व्यवस्था भएका देशमा राजा महाराजा, राजपरिवार, राजनीतिक नेता आदिको ज्यान जोगाउन राज्यको अकुत सम्पत्ति खर्च गरिनु हामीलाई समेत अस्वाभाविक समेत लाग्न छोडिसकेको छ ।
तर, एक जना सर्वसाधारण जनता भने थोरै पैसाको अभावमा पनि जीवन गुमाइरहेका हुन्छन् । डा. जोस्वाले आफ्नो पुस्तकमा एक जना मजदुरको उपचारको निम्ति राज्यले गरेको खर्चका प्रसङ्ग पढ्दा समाजवादी राज्य नै खासमा अत्याचारमा पिल्सिएका जनताको व्यवस्था भएको देखाउँछ । चिकित्सा र स्वास्थ्य क्षेत्र अस्पताल र स्वास्थ्य चौकीको चौघेराभित्र मात्र सीमित हुँदैन । जनताको घर कोठा, चोटा, दैलो, आँगन, खेत र गोठमा पनि चिकित्सा सेवा सक्रिय बनाउन सकिने उदाहरण चीनको स्वास्थ्य क्षेत्र हो ।
माओ त्सेतुङले भन्नुभएको थियो, “पुरानो युगले नयाँ युगको सेवा गर ।” चिनियाँ प्राकृतिक चिकित्साले युगौँ युगदेखि चिनियाँ जनताको सेवा ग¥यो । लामो खोज अनुसन्धानको जगमा त्यो उपचार विधि उभिएको छ । निःसन्देह त्यसमा पूर्णता छैन । त्यसो त एलोप्याथीमा पनि अपूर्णता छन् । तसर्थ, चिनियाँ नेतृत्वले चिनियाँ चिकित्सा क्षेत्रको सुधारको क्रममा एलोप्याथीसँगै प्राकृतिक उपचार विधिलाई पनि समान प्राथमिकता दिनमा जोड दियो । यसले एकातिर चिनियाँ सभ्यताले हुर्काएको खोज अनुसन्धानले पनि चिनियाँ समाजको सेवालाई निरन्तरता दियो । चिनियाँ प्राकृतिक उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू पनि उपेक्षित भएनन् । अर्कोतिर पश्चिमा एलोप्याथीको अपूर्णता हल गर्न पूर्वी उपचार विधिको प्रयोग पनि भयो जसले पश्चिमबाट आएका सबै कुरा सही हुने र त्यही मात्र सही हुने धारणा असत्य ठहर ग¥यो ।
सन् १९५४ आजको चीनको जग बन्दै गरेको अवधि हो । उतिबेला चिनियाँ समाज धेरै पक्षमा पूर्णतातिरको बाटोमा लम्किरहेको थियो । स्वास्थ्य क्षेत्र पनि पुरानो झुत्रोझाम्रो अवस्थाबाट नयाँ उचाइतिर अघि बढिरहेको थियो । त्यो कालखण्ड चुनौतीले भरिएका थिए नै । तथापि, जनतासँगको मेल र जनताको सेवा गर्ने भावनाले त्यस्ता प्रतिकूलता नयाँ सम्भावनाको क्षितिज बन्दै गयो । जसले चीनको चिकित्सालाई आजको अत्याधुनिक चरणमा पु¥याएको छ ।
पुस्तकमा डा. नर्मन बेथुनको पटकपटक चर्चा गरिएको छ । परिशिष्टमा बेथुनले जापानविरोधी चिनियाँ जनताको सङ्घर्षको क्रममा लेखेको एउटा दुर्लभ लेख पनि समावेश छ । डा. जोस्वाले बेथुन जसरी नै चिनियाँ क्रान्तिको सेवामा आफूलाई समर्पित गर्ने चाहना बोकेको मनसाय पाठक प्रस्ट बुझ्न सक्छ ।
लेखक चीनमा रहँदा सांस्कृतिक क्रान्ति सुरुवात भइसकेको थियो । तर, सांस्कृतिक क्रान्तिको नाममा फैलिएका गलत अभ्यास र विकृति भने व्यापक भइसकेको थिएन । त्यसकारण डा. जोस्वाले सांस्कृतिक क्रान्तिलाई चीनमा बन्दै गरेको आदर्श समाज निर्माणको नयाँ चरणको रूपमा परिभाषित गरेका छन् । यो विश्लेषणमा आजको चिनियाँ नेतृत्व विमति राख्न सक्छन् ।
सन् १९५०–६० दशकमा चीनका स्वास्थ्य समस्या आज नेपालका दुर्गम जनताले भोगिरहेका समस्यासँग मेल खान्छन् । ती स्वास्थ्य समस्या समाधान गर्न चीनले उतिबेला गरेका प्रयास नेपालका आजका स्वास्थ्य समस्या समाधान गर्न उपयोगी हुनसक्छ । साथै, पुँजीवादी रोगले ग्रसित नेपालको चिकित्सा र स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउन यो पुस्तक सहयोगी सामग्री हुन सक्छ । चिकित्सक समाजभन्दा अलग वा कम्तीमा एक इन्च माथि हुन्छन् र जनतालाई केही थाहा हुँदैन भन्ने गलत बुझाइ चिर्न यो पुस्तक स्वास्थ्यकर्मीहरूले पढ्दा समाजलाई उपयोगी हुनेछ । ‘द मन्थली रिभ्यु’ को व्यवस्थापनमा राउल फाउन्डेसनले यो पुस्तक सन् २०१० मा प्रकाशन गरेको हो । डा. जोस्वाको यो सम्पूर्ण वृत्तान्त भने पहिलो पटक ‘द मन्थली रिभ्यु’ मा प्रकाशित भएको थियो । विख्यात पत्रकार एडगर स्नोको भूमिकाले पुस्तकलाई अझ बढी ओजपूर्ण बनाएको छ ।

नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *