भर्खरै :

बिस्का जात्राको लिङ्गो विधिपूर्वक ढालियो

बिस्का जात्राको लिङ्गो विधिपूर्वक ढालियो

भक्तपुर, १ वैशाख । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको प्रमुख जात्रा मानिने लिङ्गोे उठाउने र ढाल्ने जात्रा शुक्रबार साँझ लिङ्गोे ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरिसकेपछि लिङ्गोे ढालेर यो जात्रा सम्पन्न भएको हो ।
बिस्केट जात्राको चौथो दिन चैत ३० गते करिब पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलमा लिङ्गोे ठड्याइएको थियो ।
पचपन्न हात लामो लिङ्गोे तान्त्रिक विधिपूर्वक दसकर्म विधान गरी शुक्रबार एक घण्टाको प्रयासपछि ढालिएको थियो । लिङ्गोे ठड्याउनुअघि लिङ्गोेको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गोे ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले लिङ्गोे ढालिएको थियो ।
लिङ्गोेको कोखामा झुन्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्काको लिङ्गोे जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुकासाथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा. पुरूषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
लिङ्गोे उभ्याइने र ढाल्ने जात्रा नै बिस्काको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालेको इतिहास छ ।
लिङ्गोे ढालेपछि भेलुखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । यसलाई स्थानीय भाषामा खः ल्वाकिगु भनिन्छ । जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा बलि चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *