यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरलगायत देशका विभिन्न भागमा विभिन्न देवीदेवताको नाममा जात्रा पर्वहरू सुरु हुँदै छ । भक्तपुरमा बिस्का जात्रा, थिमिमा सिन्दुर जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा, काठमाडौँमा सेतो मछिन्द्रनाथ, पाहाँच¥हे जात्रा सम्पन्न भएका छन् र हुँदै छन् । त्यस्तै ललितपुरमा रातो मछिन्द्रनाथको जात्रा, कीर्तिपुर, ललितपुरको थैव, थेचो, सुनाकोठी, बोङा, साँगा, बनेपा, धुलिखेल, पनौती, दोलखा, पोखरा, पाल्पा, बाग्लुङ, बुटवल, नारायणघाट, हेटौँडा, वीरगञ्ज, विराटनगरलगायत देशका अन्य क्षेत्रमा पनि विभिन्न देवताहरूको नाममा जात्रा पर्व हुँदै छ । हाम्रो मौलिक संस्कृति जात्रा–पर्वलाई मनोरञ्जन र हर्षउल्लासपूर्ण मनाउन र सम्पन्न गर्न विभिन्न जनजाति, भाषाभाषीका जनता सक्रिय सहभागी हुँदै छन् । यसले देशको मौलिक संस्कृति जोगाउने कुरामा दुईमत छैन । तर, हाम्रो मौलिकता तथा संस्कृति गुम्यो भने देश पनि गुम्छ । यही संस्कृति र मौलिकता नै हाम्रो देश हो । देश जोगाउन, संस्कृति मौलिक बनाउन राजनीति पनि मौलिक नै हुनुपर्छ ।
यहाँको जात्रा पर्व भनेको नेपालको मौलिकता हो, संस्कृति हो । यो नेपाललाई विश्वमा चिनाउने मौलिक सम्पत्ति हो । नेपालमा विभिन्न भाषाभाषी भएजस्तै, विभिन्न जातजाति भएजस्तै संस्कृति र जात्राहरू पनि त्यहीअनुसार छन् । हिजो आज नेपालको मौलिक जात्रा पर्वहरू, गरगहना, पोसाकहरूमा नेपाली युवाहरूको आकर्षण बढ्दै जान थालेको छ । विशेषगरी नेवार सुमदायको मौलिक जात्रा पर्वहरू नेवार समुदाय मिलेर धुमधामसँग मनाउन थालेका छन् । नेवार समुदायको पोसाक र गहनाहरू नेवार समुदायका युवाहरूले जात्रा तथा पर्वमा लगाउन थालेका छन् । युवा पुस्तामा यसको आकर्षण अझ बढाउनु आवश्यक छ । यसले नेपाली घरेलु उद्योग फस्ताउनुका साथै रोजगारीको अवसर पनि सिर्जना गर्नेछ । त्यस्तै भाषा पनि प्रयोगमा ल्याउनु आवश्यक छ । गैरनेवारबाहेक अरू नेवारसमुदायका मानिससँग बोल्दा नेपालभाषामै बोल्नु आवश्यक छ । यो अरू भाषाभाषीमा पनि लागु गर्नु आवश्यक छ । नत्र, नेपालभाषीको भाषा, भेषभूषा, संस्कृति र संस्कार सबै लोप भएर जानेछ । यसले नेपाली मौलिकता र संस्कृतिमा विदेशी संस्कृतिको प्रभाव बढ्दै जानेछ । नेपालीको आफ्नो भन्ने केही हुनेछैन । हामी नेपाली आफ्नै देशमा विदेशीजस्तो हुनेछौँ । जसको मौलिकता गुम्छ उसले सबथोक गुमाएको हुन्छ ।
नेपाली संस्कृति, जात्रा तथा पर्व जोगाउन त्यसको विषयवस्तु नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमा राख्नु आवश्यक छ । त्यसको वास्तविक प्रयोगात्मक परीक्षा पनि हुनु आवश्यक छ । त्यसलाई नयाँ पुस्ताले सिक्ने र प्रयोगमा ल्याउनेछ । त्यस्तै त्यसको मूल्यमान्यता र मर्म बुझ्ने राजनीतिक नेतृत्व आवश्यक छ । होली वाइन खानेजस्ता देशघातीको नेतृत्वमा देशको शासनको बागडोर गयो, राजनीति हाबी भयो भने देशको मौलिकता सिधिन्छ । यसको लागि साँच्चिकै जात्रा र पर्व मनाउने, जोगाउने र चलाउने तल्लो वर्गका जनता नै राजनीतिमा सक्रिय भएर लाग्नु आवश्यक छ ।
माथिल्लो वर्गका सबै जातजाति र भाषाभाषीका थोरै मानिसहरूले तल्लो वर्गका जातजाति, भाषाभाषीका बहुमत मानिसहरू राजनीतिमा कहिल्यै अगाडि नआऊन्, राजनीतिमा सक्रिय नहोऊन् तथा शिक्षा र आयआर्जनमा अगाडि नआऊन् भन्ने चाहेका हुन्छन् । त्यसले उनीहरूले जात्रा तथा पर्व र संस्कृतिको नाममा गरेको शोषण, दमन, भेदभाव आदिबारे थाहा पाउँछन् । उनीहरू त्यसको विरुद्धमा एक भएर आउने र उनीहरूका मालिक देशीविदेशी शक्तिको विरोधमा आउँछन् भन्ने पिर लिन्छन् । त्यसलाई रोक्न, त्यसलाई बिथोल्न, त्यहाँ त्यहीँ जातजाति, भाषाभाषीका टाठाबाठा, हुने खाने, बुद्धिजीवी, विद्वान् भनिएका सामाजिक अगुवा भनिएका मानिसहरूलाई आइसी र डलरको प्रभावमा पारेर गुप्तचर वा दलालको रूपमा प्रयोग गरिरहेका हुन्छन् । तल्लो वर्गका जातजाति, भाषाभाषीका जनता जात्रा, पर्व र संस्कृति जोगाउन अग्रसर हुने उनीहरू शिक्षा र राजनीतिमा पनि अगाडि आउलान् भनेर जात्रा तथा पर्वमा जाँड, रक्सी, ह्विस्की, बियर तथा भोड्का खुवाएर कुलत र नसामा फसाइरहेका हुन्छन् । उनीहरूलाई झगडा, मारपिट र तोडफोडमा उक्साएर फसाइराखेका हुन्छन् । त्यसले गर्दा ती तल्लो वर्गका जातजाति र भाषाभाषीका मानिसहरू शिक्षा र राजनीतिमा कहिल्यै अगाडि आउने सोच राख्न सक्दैनन् र आउन पनि सक्दैनन् ।
आज देशमा साँच्चिकैको कला र संस्कृति जोगाउने, जात्रा तथा पर्व मनाउने र सञ्चालन गर्ने तल्लो वर्गका नेपाली जनता शिक्षा र राजनीतिमा आउन नसक्दा वा नआउँदा नेपाली कला र संस्कृतिप्रति मायामोह नहुने नेताहरूले राज गरिरहेका छन् । यदि यसो नहुँदो हो त सबै विद्यालय, कलेज, विश्वविद्यालयहरूमा नेपाली कला र संस्कृतिका आफ्नै मौलिक पोसाकहरू विद्यालय, कलेज र विश्वविद्यालयका पोसाक बनाउँथे । जसरी हिजो पद्मकन्या कलेजले विद्यार्थीहरूलाई नेपाली सुती कपडाको सारी ब्लाउज कलेज पोसाक अनिवार्य बनायो त्यस्तै नेपाली सुती कपडाको कोट पाइन्ट विद्यालय तथा कलेज पोसाक बनाउनु आवश्यक छ । त्यस्तै नेपाली सुती कपडाका पोसाकहरू आ–आफ्नो संस्कृति र भूगोलअनुसार राष्ट्रपतिदेखि तल्लो तहसम्मका सरकारी तलब सुविधा खाने सबैले अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्नु जरुरी छ । यसको लागि सरकारले विभिन्न माध्यमबाट जनप्रतिनिधिहरूको माध्यमबाट देशको अर्थ जोगिने, देश आत्मनिर्भर हुने कुरामा जनतालाई सचेत गराउनु आवश्यक छ । यसबाट एकातिर देश हाँक्ने भविष्यका पुस्ता सबै विद्यार्थी, युवाहरू आ–आफ्नो संस्कृति तथा भूगोलअनुसारको नेपाली पोसाक र गरगहनाबारे परिचित हुने र लगाउने थिए । त्यसले विभिन्न संस्कृति र भेषभूषाको सुन्दर फूलबारी हुनेछ भने अर्कोतिर नेपाली ऊन, धागो, कपडा उद्योगहरू फस्ताउने र थुप्रै रोजगारीको अवसर वृद्धि हुने थियो ।
नेपालमा विदेशी पाहुना आउँदा नेपालीहरू विदेश जाँदा नेपाली संस्कृतिको गौरवबारे बखान गर्ने तर देशमा त्यसको सुरक्षा र संवद्र्धनमा एउटा सिन्को पनि नभाँच्ने नेता, प्रम र मन्त्रीहरू नभएका होइनन् । विदेशमा गएपछि मात्र त्यस्ता नेताहरूले नेपाली कला र संस्कृतिलाई देख्ने गर्दाे रहेछ र चिन्दो रहेछ । तिनीहरूले त्यहाँ नेपालीको पहिचान, नेपाली संस्कृतिबारे बोल्ने, गौरव गर्ने तर नेपाल पसेपछि मतलब नगर्ने गोहीको आँसु चुहाउने काम गरेको नेपाली जनताले अनुभव गरेका छन् । यदि त्यसो होइन भने नेपालबाट पुरानो सांस्कृतिक महत्व भएका मूर्तिहरू कसरी गायव भए, चोरी भए† चोरलाई किन पक्रन सकेन† किन त्यसका अपराधी, बिचौलिया, माफियाहरूलाई जेल हाल्न सकेनन् ? कतै त्यस्तो काममा आफ्नो नातागोता, दलका नेता र कार्यकर्ता भनिएका मानिसहरू संलग्न वा अंशियार भएर त होइन ? किन त्यस्ता सम्पदाहरू अमेरिका, बेलायत, जर्मनी, फ्रान्सलगायतका युरोपेली देशहरूमा पुगे ? त्यसको कारक र कारण भनेका शासक दलहरू नै हुन् । नेपाल भारत खुला सिमाना छ । त्यसलाई शासक दलका नेता, दल र सरकारले पर्खाल लगाएर नेपाली कला र संस्कृति तथा नेपाल र नेपाली जनताको सुरक्षा गर्ने आँट गर्न सकेका छैनन् ।
सबै संस्कृति, संस्कार, जात्रा तथा पर्वमा माथिल्लो वर्गका माथिल्लो जातका मानिसहरूले जात्रा पर्वलाई रङ्गमय बनाउन, रमाइलो गर्न भगवान्को जल पिउनुपर्छ । जलको नाममा जाँड रक्सी, बियर, ड्यु, फ्यान्टा, मिरिन्डा, भोड्का पिउनुपर्छ अनि जिउमा बल वा फूर्ति आउने भनेर जात्रा तथा पर्व उल्लासमय हुने भनेर साँच्चिकै खट बोक्ने, रथ तान्ने, बाजा गाजा, भजन गाउने मानिसहरूलाई ती अमल पदार्थ खान प्रोत्साहित गर्छन् । त्यस्तै सञ्चारमाध्ययमले पनि त्यस्तै प्रभाव पारिरहेका हुन्छन् । यसले झगडा गर्न उक्साउने र उत्तेजित पार्ने गर्दै आएको छ । उनीहरूले झगडा गर्न लगाउने, उक्साउने, इँटा ढुङ्गा हान्न लगाउने, तोडफोड गर्न लगाउने, मारपिट गर्न लगाउने भूमिका खेल्दै आएको पीडित पक्षले वा भुक्तभोगीहरूले हरेक वर्ष चर्चा गर्ने गर्दछन् । कला र संस्कृतिमा धनी देश भक्तपुरमा बिस्का जात्रा शान्तिपूर्वक सबैले रम्न पाउने गरी सबै जात्राको स्वादिष्ट र अतुलनीय रसपान गर्न सकिने गरी जात्रा पर्व मनाउन सबैलाई अनुरोध र आह्वान गर्दै हरेक वर्ष भक्तपुर नगरपालिकाको आयोजनामा विभिन्न निकाय तथा सङ्घसंस्थाहरू सम्मिलित सद्भाव ¥याली गर्दै आएको जगजाहेर छ । यसले भक्तपुर र नेपालको छवि विश्वमा फैलिने, पर्यटन उद्योग र रोजगारीको अवसर प्रवद्र्धन हुनेमा दुईमत नहोला ।
पोसाक, नाचगान, जात्रा तथा पर्व भनेको हाम्रो मौलिक कला र संस्कृति हुन् । यो हजारौँ वर्षको मानव सभ्यताको अनुभवको उपहार हो । यसले मानिसलाई मनोरञ्जन, हाँस्ने, रम्ने र रसपान गराउँछ । यसले मानिसको मन र तन चञ्चल र खुसी बनाउँछ । त्यस्तो मन र तन चञ्चल या खुसी हुने मानिस मानसिक, शारीरिक र सामाजिकरूपले स्वस्थ हुन्छन् । यसले बुढो तनमनलाई पनि युवा या तरुनो बनाइदिन्छ । त्यसैले परापूर्वकालदेखि नै मानिसले भूगोलअनुसार भाषा, धर्म, संस्कृतिअनुसार नाचगान, जात्रा तथा पर्व मनाउँदै आएका थिए । वर्तमान समयमा मनाउँदै आएको चाडपर्व र जात्रा यसैको उपज र परिणाम हुन् । यसलाई जाँड, रक्सी, बियर, भोड्का आदि खाएर विकृति होइन संस्कृति बनाउने हो । जात्रा, पर्व, संस्कृति र देशको राजनीतिलाई विकृत होइन सुसंस्कृत र सभ्य बनाउन आवश्यक छ । यसले नेपाल र नेपाली जनताको छवि विश्वमा फैलिने छ । त्यसैले जात्रा तथा पर्व सभ्य र भव्यरूपले मनाउनु र राजनीति पनि त्यहीअनुसार गर्नु आवश्यक छ ।
Leave a Reply