भर्खरै :

२०८० लाई नढाँट्ने बनाऔँ

नेपालका राजनेताहरूले नै ढाँटे । अलिअलि मात्र ढाँटेका हुन् र ! असाध्यै ढाँटे । झन्डैझन्डै सयका सय नै ढाँटे । ढाँटका कुरा पत्याउनु कति पत्याउनु । लौ न हो नेताहरू सक्नुहुन्छ नढाँटीकन व्यवहार गर्ने गरौँ । गएको शुक्रबारबाट विक्रम संवत् २०८० लागेको छ । यो २०८० लाई नढाँट्ने वर्षको रूपमा मनाउँन । यी गएका चार दिन जति ढाँटियो । अब अहिलेदेखि नढाँट्ने सङ्कल्प गरौँ ! न सकिएला ? नढाँट्न बजेट चाहिने होइन । कतैबाट, कसैबाट तोक आदेश चाहिने होइन । मात्र सङ्कल्प चाहिने हो, त्यो सङ्कल्प पनि अरूको होइन आफ्नै । आफूले नढाँट्ने सङ्कल्प गर्न कसैसँग परामर्श लिनु पनि परेन । ल ! आँट्नोस् । अब म आजैदेखि, अबदेखि ढाँट्दिन । यति सरल र सजिलो रहेछ नढाँट्न । तर, हामी त्यति सरल एवं सजिलो कुरा पनि किन गर्दैनौँ ? मेरो मनमा प्रश्न उठिरहन्छ । मलाई ढाँट्न मेरो बाले कहिल्यै सिकाउनुभएन न त सिकाउनुभयो गुरुहरूले । मैले कोबाट, कोकोबाट कहिलेदेखि सिकेँ ढाँट्न, त्यो पनि थाहा छैन । महात्मा गान्धीसँग एकजना सज्जनले प्रश्न गरेछन्, तपाईँ सधँै ढाँट्न हुन्न भन्नुहुन्छ । के फाइदा छ नढाँट्दा ? गान्धीले सरल उत्तर दिनुभएछ, नढाँट्दा कुनै पनि प्रश्नको तुरुन्तै जवाफ दिन सकिन्छ । जे छ त्यो उत्तर दिन केको विलम्ब गर्न प¥यो र ?
नढाँटाँै न सकिन्न र ?
मलाई एउटा आधारभूत प्रश्नमा तुरुन्त उत्तर दिन कठिन हुन्छ । मेरो उमेर सोध्यो कसैले । लगत्तै जवाफ दिएँ । उमेर सोध्यो सोच्नुप¥यो । केको लागि सोधेको होला ? मेरो शिक्षालयमा जन्म मिति लेख्दा पाँच वर्ष घटाएर लेखाइएछ । अब मेरो चिना र टिपनमा सक्कली वर्ष छ तर प्रमाणपत्रमा पाँच वर्ष घटी छ, नागरिकतामा पाँच वर्ष घटी छ । तब म झट्ट जवाफ दिन सक्दिनँ । के उद्देश्यले वर्ष सोधेको होला भनी गम खानुपर्छ । जागीरसम्बन्धी वा सरकारी काम सम्बन्धमा सोधेको रहेछ भने नागरिकताको वर्ष भन्नुप¥यो । होइन यथार्थका लागि मात्र सोधेको रहेछ भने चिनाको वर्ष भन्नुप¥यो । तसर्थ, मैले तुरुन्त उत्तर दिन सक्दिनँ । यो म आफैले भोगेको कुरा हो । म महात्मा गान्धीलाई सम्झन्छु र झल्याँस्स हुन्छु । यो एउटा आफ्नै उदाहरण हो । कुरो स्पष्ट भयो होला । तसर्थ ढाँट्दाखेरि केही छैन । उता कम्युनिस्ट वा काङ्ग्रेस पार्टीको नेता हुने अनि ढाँट्ने ? यो भो र ? नेताहरू पुष्पलाल र तुल्सीलालले ढाँटेनन् त ! नढाँटिकन पनि नेता हुन सकिँदो रहेछ । झन् बहुदलीय व्यवस्था नआउँदासम्म नेपाली काङ्ग्रेस पनि सच्चा कुरा गथ्र्यो वा कम ढाँट्थ्यो । जब बहुदल आयो । पार्टीहरू सरकारमा गए तब ढाँट्ने कुरा धेरै भए । समाजवादउन्मुख गणतन्त्र आएपछि त ढाँटको बिर्को नै खुल्यो । अब त नेताहरू नढाँटी कुरै गर्न छोडे । तसर्थ, २०८० साललाई नढाँट्ने वर्ष बनाउन सकिन्न र !
ढाँट, भ्रम, पद र पैसा
गठबन्धन हुन लागेपछि त ढाँटको व्यापारले झन् कालो रूप लियो ! के सरुवा रोग लाग्यो राजनीतिक नेताहरूमा । आफू छिट्टै प्रधानमन्त्री नै बन्नुपर्ने । एकपल्ट प्रधानमन्त्री भएपछि फेरिफेरि पनि आफैँ प्रधानमन्त्री भइरहनुपर्ने । कहिल्यै निको नहुने रोग लाग्यो । गठबन्धन नगरी सरकार बनाउन कुनै एउटा पार्टीले नसक्ने भो । बहुमत कुनै दलले पनि ल्याउन सकेन । त्यसको आदेश गठबन्धन बनाउ र सरकार बनाउ, देश हाँकुन् भन्यो जनताले । तर, पार्टीहरू इमानदार देखिएनन् । पार्टीका ठूला नेताबिच भद्र सहमति भयो । यति समय एक जना नेता प्रधानमन्त्री हुने अनि प्रधानमन्त्री आफ्नै अर्काे मित्रलाई हस्तान्तरण गर्ने । तर, त्यो समय पुगेपछि भद्र सहमति कार्यान्वयन भएन । अर्को मित्रलाई सत्ता हस्तान्तरण गरेन । अब अल्झन चक्र्यो, चर्कने नै भयो । सहभागी मित्रले ढाँट्यो । गर्छु भनेको कुरो गरेन । अब अर्को बाटो खोज्ने नै भयो । अब भद्र सहमति तोड्नेमा देउवा, ओली भए । त्यही भद्र सहमति कार्यान्वयन नहुनु आजको राजनीतिक कचमचको मूल चुरो हो भन्ने लाग्छ मलाई । अब त्यसपछि एउटा गठबन्धन छुट्यो, अर्को गठबन्धन बन्यो । नेकपा माओवादी केन्द्रको गठबन्धन टुट्यो । एमाले बाहिर निस्कियो । माओवादी केन्द्र नेपाली काङ्ग्रेसको गठबन्धित भयो । काङ्ग्रेसभित्र आफ्ना स्पष्ट दुई गुट छन् । गुटभित्र धेरै उपगुट छन् । जुन गुट जुन नेतृत्वको नजिक देखिए पनि भोलि अर्को गुटमा जान खुट्टो उचाली राखेका छन् । यसरी आजको राजनीति ढाँट, भ्रम, पद र पैसामा लोभिएको छ ।
सकिन्न नढाँट्न ?
आजको राजनीति जसले बढी ढाँट्छ उसैले उसको कब्जामा जाने गर्छ । तपाईं ठूलो नेता दिनको कतिपल्ट ढाँट्नुहुन्छ गन्न सक्नुहुन्छ ? दिन–रात गरी साँचो कुरा बढी गर्नु हुँदो रहेछ कि झूटा कुरा, ढाँट कुरा बढी गर्नुहुँदो रहेछ ? एकपल्ट एकजना सहभागीलाई गन्न लगाउँदा कसो होला ? कि एउटा दरबन्दी नै कायम गर्ने ढाँट सेक्रेटरी । त्यो ढाँट सेक्रेटरीले, तपाईंले ढाँटेको कुराको मात्र टिपोट गर्छ । कि ढाँट सचिव नाम राख्दा सरकारी पैसाको तलब र अरू सुविधा दिन असजिलो होला । त्यो भए नाम के राख्ने छलफल गरौँ । बरु चाँडो गरौँ । यो राजनीतिमा नढाँट्ने कुरा सम्भव बनाउनै पो सकिँदैन कि भन्ने विषय हुने भयो । यो त सारै नराम्रो होइन र ? हो, किन होइन ? तर यथार्थ यस्तै छ । राजनीति ढाँट, छलछाम, लोभमा मात्र हुने गराउनु भो । कसले ? तपाईं नेताले । नेता पनि सानाले होइन ठूला नेताले । तपाईं राजनीतिमा प्रवेश गर्दा पनि नेताले ढाँट्थे ? म राजनीतिमा प्रवेश गर्दा हाम्रा नेता ढाँट्दैनथे र भन्थे, हामीलाई पनि कम्युनिस्टले ढाँट्नु हुँदैन । तर, अहिले जुग उल्टियो हो ? यो ढाँट्ने कुरा अरू पार्टीमा त थियो, कम्युनिस्ट पार्टीमा पनि स¥यो । अब त यो ढाँट्ने कुरा सत्ताकाङ्क्षी कम्युनिस्ट पार्टीहरूमा झन् बाक्लो गरी स¥यो । यो २०८० साललाई नढाँट्ने वर्ष बनाऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *