भर्खरै :

भक्तपुरलाई धन्यवाद !

  • बैशाख ५, २०८०
  • विजयराम तण्डुकार असन, काठमाडौँ
  • पाठक विचार
भक्तपुरलाई धन्यवाद !

भक्तपुरमा वैशाख १ गते बिस्का जात्राको लिङ्गो ढाल्ने जात्रा हेर्न आउने काठमाडौँका एक समूहले बाटोमा गरेको कुराकानी सुनेपछि यो पाठक पत्र लेख्न मलाई कर लाग्यो । हुन त मेरो काठमाडौँतिरको बसाइँ भए पनि जनसमुदायलाई जानकारी दिनुपर्ने दायित्व ठानी यो समुदायको लागि पस्कँदै छु ।
भक्तपुरमा आज नगरभरि नै बाह्य र आन्तरिक पर्यटकको घुइँचो देख्दा साँच्चिकै भक्तपुर जीवन्त सहरजस्तो लाग्यो । लिङ्गो ठड्याउने र ढाल्ने ठाउँ ल्योसिंख्यो होस् वा दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र होस् वा उक्त बाटो हिँडडुल गर्ने सूर्यविनायक राममन्दिरको बाटो, खौमा सुकुलढोकादेखि दत्तात्रय क्षेत्रले पहिलेको काठमाडौँको असन बजारको झझल्को दियो । त्यसको अर्थ विकृतिको कुरासँग दाज्न खोजेको होइन ।
भक्तपुर निश्चय नै एउटा सांस्कृतिक सहर र नाचगानको राजधानी भएको आज दिनभरि विभिन्न बाजागाजाको धुनले आभास दियो । पुरानो कला संस्कृति जोगाउन र भक्तपुरलाई जीवन्त सहरको परिकल्पनाकार ‘सय वर्षपछिको भक्तपुर’ का लेखक का. रोहितलाई नसम्झी मेरो हुतहुती पूरा हुन नसक्ने आभास भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर बनाउन आफ्नो जीवन उत्सर्ग गरेबापत आजको यो स्थिति पुगेको हुनुपर्छ । उहाँप्रति नमन नगरी मेरो मन शान्त हुनै सक्दैन । टोलटोलमा खट जात्राको तयारी, जात्राको लागि टोलटोलमा सरसफाइ, चुन छर्ने कार्यले अझ मेरो मन लोभियो । बिहानदेखि ल्योसिंख्योमा फुटपाथे बजार नियन्त्रणको लागि वडाध्यक्ष स्वयम्को खटाइ र वैशाख २ गते महालक्ष्मीको जात्राको लागि महालक्ष्मी स्थानको सरसफाइ र चुन छर्ने कार्यले मेरो मनलाई लोभ्यायो । यो त मैले देखेको वर्णन मात्रै हो । तर, भक्तपुर नगरभरि नै विभिन्न टोलमा हुने जात्रा र सरसफाइले विश्वकै उत्कृष्ट नमुना र सांस्कृतिक नगर भन्न मलाई करै लाग्यो । त्यसको निम्ति भक्तपुर नगरपालिकाले निभाएको भूमिका र सरोकारवालाहरूसँग सहकार्य र विभिन्न बैठकले यी सबै जात्राहरू सभ्य र भव्य गरी सम्पन्न गर्न भूमिका खेलेकोमा नगर प्रमुखप्रति आभार व्यक्त नगरी बस्न नसक्ने भएँ । भक्तपुर नगरवासीहरूको साथ र सहयोगले नगरपालिकाले जात्रालाई शान्तिपूर्वक सम्पन्न गर्न सफल भएकोमा नगरवासीहरूलाई पनि साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *