भर्खरै :

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन – ३

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन – ३

दक्षिण कोरियाको कठपुतली शक्तिहरूले प्रजग कोरियालाई ‘प्रमुख शत्रु’ घोषणा गर्दै खुला तवरले ‘युद्धको निम्ति तयारी गर्न’ आह्वान गर्नुमा कुनै आश्चर्य छैन । तसर्थ, कोरियाली मजदुर पार्टीको प्रतिवेदनले रणनीतिक आणविक अस्त्रहरूको ठुलो सङ्ख्यामा उत्पादनको अत्यावश्यकता र महत्वलाई जोड दिएको छ र देशको आणविक अस्त्रागारमा उल्लेख्य वृद्धि गर्नका लागि आह्वान गरेको छ । प्रतिवेदनले राष्ट्रिय प्रतिरक्षा र आणविक अस्त्र विकासको युगान्तकारी रणनीति स्पष्ट पार्दै सन् २०२३ का लागि मुख्य अभिमुखीकरण प्रदान गरेको छ ।
प्रजग कोरियाको राष्ट्रिय अन्तरिक्षयान विकास प्रतिष्ठानले निर्धारित मितिभन्दा सम्भव भएसम्म अगावै देशको पहिलो सैनिक भू–उपग्रह प्रक्षेपण गर्दै छ । उक्त भू –उपग्रह र त्यसलाई बोक्ने यानको पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले कोरियाली जनसेनाको राजनीतिक, विचारधारात्मक, सैन्य र प्राविधिक शक्तिलाई वृद्धि गर्नुपर्ने कार्यलाई राज्यको मुख्य कार्यका रूपमा उठाउँदै कोरियाली जनसेना नै राष्ट्रिय प्रतिरक्षाको मुख्य शक्ति भएको निश्चित गरेको छ ।
कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनले पारित गरेको र पार्टीका मुख्य मुख्य बैठकहरूले अगाडि बढाएको सेना निर्माणसम्बन्धी अभिमुखीकरणअनुसार नै सन् २०२३ लाई महान पितृभूमि मुक्ति युद्धमा विजयको ७० औँ वर्षगाँठ र ‘सय शत्रुका लागि एक कोरियाली जनसेना’ को नारा घोषणा भएको ६० औँ वर्षगाँठका अवसरमा गणतन्त्रका सेनाको राजनीतिक र विचाराधारात्मक शक्तिलाई हरेक तवरले सुदृढ गर्नुपर्छ । साथै यस वर्षलाई युद्धको परिचालन निम्ति तयारीमा गुणात्मक परिवर्तनको वर्ष बनाउँदै वास्तविक युद्धक्षमता हासिल गर्नुपर्छ ।
उक्त प्रतिवेदनले राष्ट्रिय प्रतिरक्षाको अभिमुखीकरणले तय गरेअनुरूप नै शस्त्रअस्त्र उद्योगका वैज्ञानिकहरू, मजदुरहरू र अधिकारीहरूले प्रदर्शन गरेको समर्पित प्रयासहरूको उच्च प्रशंसा गरेको छ । प्रजग कोरियाका अस्त्रशस्त्र उद्योगहरूले पार्टी र राज्यले तय गरेअनुसारका अस्त्रशस्त्र उत्पादनको लक्ष्य र वैज्ञानिक अन्वेषण पूरा गरेर अर्को वर्षको शस्त्रअस्त्र र साधन उत्पादन गर्ने लक्ष्य तय गर्न सहयोग पु¥याएको छ ।
कोरियाली मजदुर पार्टीको प्रतिवेदनमा कोरियाली क्रान्तिको बाह्य परिस्थितिको मूल्याङ्कनको आधारमा दक्षिण कोरियासितको सम्बन्ध र अरू देशहरूसितको वैदेशिक सम्बन्ध तथा यस क्षेत्रले सामना गरेका चुनौतीहरूको विश्लेषण र मुख्य कार्य उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको संरचना एकाएक ‘नयाँ शीतयुद्ध’ मा बदलिएको अवस्थामा बहुध्रुवीयतावादलाई अझ जोड मिल्ने आशा गर्न सकिन्छ । पार्टी प्रतिवेदनले कोरियाली मजदुर पार्टी र प्रजग कोरियाले वैदेशिक सम्बन्धको कार्य राष्ट्रिय प्रतिष्ठाको उत्थान, सार्वभौमिकता र राष्ट्रिय अधिकारको रक्षा, राष्ट्रिय हितको सुरक्षा र क्षेत्रीय शान्ति तथा सुरक्षाको प्रतिरक्षालाई ध्यानमा राखेर गर्ने उल्लेख गरेको छ ।
उल्लेखनीय पक्ष प्रतिवेदनले संरा अमेरिका र अरू शत्रु शक्तिहरूले आक्रमणको धम्कीलाई अझ विश्वसनीय आक्रमणको तयारी कार्यमा रूपान्तरण गरेको स्थितिको विस्तृत विवरण दिँदै शत्रुका विरुद्ध सङघर्षका लागि हाम्रो भौतिक शक्तिलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । ‘शक्तिको विरुद्ध शक्ति, हाकाहाकी प्रतिस्पर्धा’ को नाराअनुसार प्रजग कोरियालाई एक्ल्याउने र यसको पवित्र स्वाभिमान र सार्वभौमिकतामा चोट पु¥याउने नियतसहितको रणनीतिमा संरा अमेरिकासित साझेदारी गर्ने र हात मिलाउने देशहरूविरुद्ध पनि चेतावनी नोट जारी गरेको छ ।

संरा अमेरिका र दक्षिण कोरियाले प्रजग कोरियालाई लक्ष्य बनाई तैनाथ गरेका सैयौँ आणविक क्षेप्यास्त्रका नमुनाहरु ।

आफ्नो प्रतिवेदनमा पार्टी महासचिव कामरेड किम जोङ उनले कोरियाली राज्य र सामाजिक प्रणालीको एकीकरण, सबलीकरण र विकास गर्नुपर्ने महत्वपूर्ण विषयलाई उत्थान गर्दै यसको फाइदा र शक्तिको पूर्ण उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । समाजवादी कानुनी प्रणालीलाई अझ परिमार्जित र बलियो बनाएमा, हाम्रो देशको कानुनी प्रणालीलाई आदर्श जनताको वास्तविक विशेषतासहितको बनाएमा मात्र कानुनले जनताको रक्षा गर्ने र जनताले कानुनको परिपालना गर्ने उद्देश्य पूरा हुनसक्दछ । त्यसपछि मात्र पार्टी र राज्यका नीतिहरू सही ढङ्गले कार्यान्वयन गर्न, कोरियाली क्रान्तिकारी पङ्क्तिमा स्वच्छता कायम राख्न सकिने र कोरियाली शैलीको समाजवादलाई सुदृढ बनाएर रक्षा गर्न र कायम राख्न सकिने हुन्छ ।
प्रतिवेदनमा उठाइएका अन्य प्रमुख विषयहरूमा राज्य व्यवस्थापन संरचना प्रणालीको बढी व्यावहारिक तवरले पुनर्संरचना गर्ने, बदलिँदो र परिवर्तित परिस्थितिअनुसार राज्यका कर्मचारीहरूमा कार्यप्रतिको धारणा परिमार्जन गर्ने र समाजवादी निर्माणको सङ्घर्षलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।
पार्टी महासचिव कामरेड किमले पार्टीको राजनीतिक वातावरणलाई संरक्षण र संवद्र्धन गर्ने मुख्य विषयहरूको सम्बन्धमा महत्वपूर्ण तत्वहरूतर्फ सङ्केत गर्दै सुधारको निम्ति अभिमुखीकरण प्रदान गर्नुभयो ।
पार्टीका सबै सङ्गठनहरू र अधिकारीहरूको कार्यमा परिवर्तन ल्याउनु सान्दर्भिक छ, विशेष गरी प्रान्तीय पार्टी कमिटी, सम्बन्धित प्रान्तका राजनीतिक कमिसारहरू र तिनीहरूका मुख्य सचिवहरूको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने देखिएको छ ।
पार्टी महासचिव कामरेड किमले आफ्नो तीनदिने प्रतिवेदनको निष्कर्षमा क्रान्तिको सबै क्षेत्रमा पूर्ण जिम्मेवार भई कार्य गरिरहेका र पार्टी नीतिहरूको भाग्य निर्धारण गर्ने नेतृत्वदायी अधिकारीहरूसित आफ्नो कर्तव्य निर्वाहमा निर्णायक प्रगति हासिल गर्न र पार्टी तथा जनताको विश्वास र आकाङ्क्षा परिपूर्ति हुनेगरी कार्य गर्न हार्दिक अनुरोध गर्नुभयो । उहाँले पार्टीप्रतिको उच्च स्तरको बफादारी भएका मानिसहरूले प्रजग कोरियाको विकासको इतिहासमा अत्यन्त प्रतिकूल समयमा पनि निष्ठावान सेवा दिएकाहरूको स्मरण गर्नुभयो । उनीहरूकै कार्यले कसरी कोरियाली मजदुर पार्टीले देशको भाग्य निर्धारण गर्ने जिम्मेवारी वहन गर्न सक्छ र सबै किसिमका कठिनाइ र चुनौतीहरूमाथि विजय प्राप्त गरेर अगाडि बढ्न सक्छ भनी देखाएको उल्लेख गर्नुभयो ।

प्रजग कोरियाले विकास गरेका आणविक अस्त्र बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) का नमुनाहरू ।

उहाँले नयाँ वर्ष २०२३ मा पनि यस्तै विजय निरन्तर हासिल भइरहने आशा व्यक्त गर्नुभयो । महासचिव कामरेड किमको उक्त अभिव्यक्तिप्रति सबै सहभागीहरूले पूर्ण समर्थन व्यक्त गर्दै सभाहलमा ताली बजाए । सन् २०२२ मा सबै क्षेत्रमा कोरियाली जनताले गरेका सङ्घर्ष र हासिल गरेका उपलब्धिहरूको गौरवमय र वास्तविक समीक्षा गरिएको छ । कोरियाली मजदुर पार्टी र कोरियाली जनताले बदलिँदो क्रान्तिकारी परिस्थितिमा ठुलो छलाङ मार्नको लागि गर्नुपर्ने मुख्य कार्यबारे अभिमुखीकरण गरिएको छ ।
पार्टी महासचिवको लामो प्रतिवेदनमा विजयको पूर्ण आत्मविश्वास अभिव्यक्त भएको छ र समाजवादी निर्माणको भविष्य निर्धारण हाम्रो आफ्नै बाटोबाट र कदेखि ज्ञसम्म आफ्नै प्रयासबाट हुनुपर्नेमा जोड दिइएको छ । महासचिव कामरेडको उक्त मार्गनिर्देशन र अभिमुखीकरणले कोरियाली मजदुर पार्टीको अजर अमर सङ्गठनलाई सम्भव भएसम्म अझ माथि उठाउन तथा पार्टी र जनताबिचको एकमनको एकतालाई अतुलनीयरूपमा वृद्धि गर्न आह्वान गरिएको छ । यसरी पार्टी र जनताको पूर्ण एकताबाट नै बलियो शक्ति निर्माण हुने र त्यही शक्तिले नै सबै क्षेत्रको सङ्घर्षमा विजय प्राप्त हुने र राष्ट्रिय समृद्धि तथा विकासको बहुआयामिक उपलब्धि हासिल गर्न सकिने स्पष्ट मार्गनिर्देश गरिएको छ ।
त्यस्तै बैठकले राज्यका प्रधानमन्त्री किम तोक हुनले पेश गरेको आर्थिक क्षेत्रलगायत समग्र राज्य मामिलामा सुधार ल्याउने र सबलीकरण गर्ने उपायसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित ग¥यो । त्यस्तै बैठकमा राज्यको विभिन्न क्षेत्रका नेतृत्वदायी अधिकारीहरूले मौखिक र लिखित मन्तव्यहरू राखे ।
महासचिव कामरेडद्वारा प्रतिवेदनमा व्यक्त विचार र भावनामा आधारित भएर दुईदिने क्षेत्रीय कार्यशाला गोष्ठी तथा परामर्श बैठकहरू सम्पन्न भए । ती बैठकका उद्देश्य आउँदो वर्ष (२०२३) को सङ्घर्षपूर्ण लडाकु कार्य सम्पादनका लागि योजनाहरू सही तरिकाले कसरी कार्यान्वयन गर्ने र कार्यमा वैज्ञानिक ढङ्ग स्थापित गर्न कसरी नचुक्ने भन्ने रहेको थियो । पार्टी र राज्यका कार्यकर्ताहरूले ती क्षेत्रीय कार्यशाला गोष्ठी र परामर्श बैठकहरूमा मार्गनिर्देश गरेका थिए ।
पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले अन्तिममा सहभागीहरूको तर्फबाट आएका सल्लाह र सुझावलाई समेत समेटेर निर्णयार्थ बैठकको निर्णयका मस्यौदा, नयाँ वर्षका लागि बजेटको मस्यौदा र राष्ट्रिय अर्थतन्त्रका मुख्य मुख्य क्षेत्रहरूको विकासका लागि अवलम्बन गरिने उपायहरूको मस्यौदा पेश ग¥यो ।
पार्टी केन्द्रीय समितिको बैठकले एकमतले पहिलो एजेन्डासम्बन्धी निर्णयको प्रस्तावलाई पारित ग¥यो ।
विस्तारित बैठकले दोस्रो एजेन्डाका रूपमा साङ्गठनिक विषयहरूमाथि विचार विमर्श ग¥यो । बैठकले कोरियाली मजदुर पार्टी केन्द्रीय समितिका केही सदस्य र वैकल्पिक सदस्यहरूलाई फिर्ता बोलायो भने रिक्त स्थानमा नयाँ सदस्यहरू निर्वाचित ग¥यो । त्यस्तै पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका केही सदस्य र वैकल्पिक सदस्यहरूलाई फिर्ता गरेर नयाँ सदस्यहरू चयन ग¥यो ।
पार्टी केन्द्रीय समितिका केही सचिवहरू बर्खास्त गरेर केन्द्रीय सदस्यहरूमध्ये नयाँलाई चयन गरियो । पार्टी केन्द्रीय सचिव पदबाट पाक जोङ चोनलाई बर्खास्त गरेर रि योङ गिललाई चयन गरियो ।
त्यस्तै कोरियाली मजदुर पार्टी केन्द्रीय सैन्य आयोगका उपाध्यक्षहरूलाई बर्खास्त गरेर नयाँ उपाध्यक्षहरू निर्वाचित गरियो । त्यस्तै कोरियाली मजदुर पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोगका उपाध्यक्षहरूलाई बर्खास्त गरी नयाँ उपाध्यक्षहरू निर्वाचित गरियो । साथै पार्टीको विभिन्न केन्द्रीय विभागका निर्देशक र उपनिर्देशकहरूलाई बर्खास्त गरी रिक्त स्थानमा नयाँ निर्देशक र उपनिर्देशकहरू चयन गरियो । त्यस्तै पार्टीको प्रान्तीय समितिका मुख्य सचिवहरू बर्खास्त गरी नयाँ मुख्य सचिवहरू चयन गरियो । सरकारको विभिन्न मन्त्रालय र विभागका मन्त्री र अधिकारीहरूको बर्खास्ती र नयाँ मन्त्री र अधिकारी चयन पनि गरियो ।
पार्टी केन्द्रीय समितिको विस्तारित बैठकले कोरियाली जनसेनालगायत विभिन्न सशस्त्र बलका कमान्डिङ अफिसरहरूको बर्खास्ती र नयाँ अफिसर चयन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *