भर्खरै :

संरा अमेरिकी कृषि भूमिमा विदेशी लगानीमाथि निषेध :कसलाई हानि, कसलाई फाइदा ?

संरा अमेरिकी कृषि भूमिमा विदेशी लगानीमाथि निषेध :कसलाई हानि, कसलाई फाइदा ?

मार्च महिनामा संरा अमेरिकाका दुवै (शासक) दलका सांसदहरूले सदनमा ‘अमेरिकी कृषि भूमिलाई विदेशी हानिबाट रक्षा गर्न बनेको विधेयक’ पेश गरे । सो विधेयकले ‘कुनै पनि विदेशी दुश्मनको स्वामित्वमा रहेका, नियन्त्रण गरेका वा क्षेत्राधिकारभित्रका वा निर्देशनमा चल्ने कुनै पनि निकायलाई’ संरा अमेरिकाका सार्वजनिक तथा निजी जमिन भाडा वा किनबेच गर्न प्रतिबन्ध लगाउने प्रावधान राखिएको छ ।
संरा अमेरिकाको सन्दर्भमा ‘विदेशी दुश्मन’ भन्नाले इरान, उत्तर कोरिया, चीन र रुस चार देशलाई जनाए पनि यो विधेयकको मूल निशाना भने चीन हो । फेब्रुअरी महिनामा संरा अमेरिकी सामुद्रिक क्षेत्रमा चिनियाँ गुप्तचर बेलुन खसाएपछि चिनियाँ गुप्तचरीबाट सजग बनेको अवस्थामा प्रस्तुत विधेयकको चीन सरकारसँग सम्बन्ध भएको भनिएका निकायले अमेरिकी सैनिक व्यारेकहरू नजिक ठुलो परिमाणमा जमिन खरिदसँग पनि सम्बन्ध छ । बितेका केही वर्षमा चौध वटा अमेरिकी राज्यका व्यवस्थापिकाले कृषि भूमिमा विदेशी स्वामित्वको विषयमा यस्तै निषेधात्मक कानुन पारित गरेका थिए ।
संरा अमेरिकामा खाद्य आपूर्तिको रक्षा गर्नु र अमेरिकी किसानहरूलाई किन्न सकिने मूल्यमा कृषि भूमिको उपलब्धताको सुनिश्चितता गर्नु यो विधेयकको लक्ष्य बताइएको छ । यी दुई लक्ष्य आपसमा परिपूरक छन् । घरेलु कृषिको रक्षा गर्न सके संरा अमेरिकाले खाद्य सुरक्षा बलियो बनाउन सक्ने तर्क गरिएको छ । यी लक्ष्य समीचीन भए पनि प्रस्तुत विधेयकबाट त्यो लक्ष्य प्राप्त हुने कुरा सन्देहास्पद छ ।
रणनीतिक महत्वका सैनिक र सरकारी क्षेत्र वरपर विदेशी निकायलाई जमिन भाडा नदिने प्रस्ताव संरा अमेरिकाको राष्ट्रिय सुरक्षा र हितमा छ । तर, यो विधेयकको प्रभाव भने त्यत्तिमै मात्र सीमित छैन । यसले उल्लेखित चार देशका जो कोहीलाई पनि (संरा अमेरिकी नागरिक र त्यहाँका स्थायी बासिन्दाबाहेक) कृषि भूमिको स्वामित्वमाथि पूर्ण प्रतिबन्ध लगाउनेछ ।
केही संरा अमेरिकी सांसदहरू विदेशी कृषि भूमिका मालिकहरूले आफ्ना उत्पादन अमेरिकी उपभोक्तालाई बेच्न अस्वीकार गरे अमेरिकी खाद्य आपूर्ति प्रणाली बिथोलिने तर्क गरिरहेका छन् । तर, यो उनीहरूको अतिरञ्जनापूर्ण चिन्ता मात्र हो । संरा अमेरिकी कृषि विभाग (यूएसडीए) को विस्तृत प्रतिवेदनअनुसार सन् २०२१ मा संरा अमेरिकाको कुल कृषि भूमिमध्ये ३१ प्रतिशत विदेशी निकायले स्वामित्वमा लिएका छन् । त्यसमध्ये २९ प्रतिशतमा खेती गरिन्छ । त्यसको अर्थ विदेशी निकायको स्वामित्वमा संरा अमेरिकाको कुल खेतीयोग्य भूमिमध्ये ०.९ प्रतिशत मात्र छ ।
त्यसमाथि, संरा अमेरिकी कृषि भूमिको सबभन्दा ठुलो विदेशी मालिक क्यानाडा हो । क्यानाडालाई संरा अमेरिकाले आक्रामक विदेशी शक्ति मान्दैन । संरा अमेरिकी कृषि विभागका अनुसार संरा अमेरिकी कुल बालीनाली लगाइने जमिनको १० प्रतिशतमा क्यानाडेलीको स्वामित्व छ । अर्थात्, संरा अमेरिकामा झन्डै ४३ लाख एकड खेतीयोग्य जमिनका मालिक क्यानाडेली छन् । क्यानाडापछि इटालीको स्थान आउँछ । संरा अमेरिकाको कुल खेतीयोग्य जमिनको ४ प्रतिशत इटालीका निकायहरूको स्वामित्वमा छ । त्यो भनेको १७ लाख एकड भूमि हो । चीनले ३४ हजार ४२५ एकड भूमिमा मात्र स्वामित्व जमाएको छ । त्यो भनेको ०.०८ प्रतिशत हुन्छ । रुस र इरान दुवैको मिलाएर १ हजार २५० एकडभन्दा कम संरा अमेरिकी खेतीयोग्य जमिनमाथि स्वामित्व छ । उत्तर कोरियाको स्वामित्वमा संरा अमेरिकामा कुनै कृषि भूमि छैन ।
भविष्यका सम्भावित समस्यालाई विचारेर यस्तो प्रतिबन्धको प्रस्ताव गरिएको कसैले तर्क गर्न सक्छ किनभने यदि कुनै यस्तो कदम नचाले संरा अमेरिकी जमिनमाथि चिनियाँ स्वामित्व निःसन्देह बढ्नेछ । त्यसो भएको अवस्थामा पनि संरा अमेरिकी खाद्यान्न आपूर्तिमा सन्तुलन कायम गर्ने सबभन्दा उपयुक्त बाटो भनेको खाद्यान्न वितरणलाई नियमित गर्नु हो । उदाहरणको लागि अमेरिकी सङ्घीय सरकारले आफ्नो देशमा उत्पादन भएका खाद्यान्न उत्पादनको निश्चित प्रतिशत अमेरिकी जनताकै लागि खपत गर्नुपर्ने नियम बनाउन सक्छ । विदेशी निकायले स्वामित्वमा लिएका कृषि भूमि खाद्यान्न उत्पादनमै प्रयोग गर्न बाध्यकारी बनाइनु पर्छ । विद्यमान नीति नियममा यी र यस्ता नियमनकारी प्रावधान छैनन् । सरकारले कृषि भूमिमा कसको स्वामित्व छ भन्ने कुराको नियमन थालिसकेको छ । कृषि उत्पादन बढाउन आर्थिक अनुदान पनि दिन थालेको छ । तर, प्रस्तुत विधेयकमा कृषि उत्पादन वितरणमा नियमन गर्ने प्रावधान छैन ।
विदेशी स्वामित्वमाथि नियन्त्रण गरेर संरा अमेरिकी किसानलाई थप सहुलियतमा कृषि भूमि उपलब्ध गराउने प्रस्ताव कागजमा निकै राम्रो देखिए पनि वास्तविकतामा यो निकै जटिल विषय हो । सन् २०२१ मा संरा अमेरिकी कृषि विभागले कृषि भूमिको मूल्यमा विदेशी स्वामित्वको कुनै प्रभाव नरहेको प्रतिवेदन सार्वजनिक ग¥यो । संरा अमेरिकी कृषि भूमिको केही हिस्सा मात्र विदेशी स्वामित्वका निकायको नियन्त्रणमा रहेको अवस्थामा यो कुनै आश्चर्यको विषय भने होइन ।
खासमा विदेशी स्वामित्व बढ्नुले संरा अमेरिकी किसानलाई खुद सकारात्मक आर्थिक प्रभाव पार्न सक्छ । किनभने, भूमि खरिदले विदेशी लगानीकर्ताको पैसा अमेरिकी भूमि मालिकको हातमा जान्छ । विदेशी भूमि मालिकहरूले राज्य र स्थानीय तहको सरकारलाई पनि कर तिर्छन् । यो पैसा नीति निर्माताहरूले स्थानीय समुदायमा खर्च गर्न सक्छन् । उदाहरणको लागि टेक्सास राज्यमा आय कर लाग्दैन । राजस्वको आधाभन्दा बढी हिस्सा स्थानीय सम्पत्ति करबाट उठ्छ । तथापि, टेक्सासले चिनियाँलाई भूमिमा स्वामित्व नदिने प्रस्तावको खुलेर समर्थन गरेको छ । गभर्नर ग्रेग एबोटको अगुवाइमा अहिले उस्तै खालको विधेयकबारे त्यहाँको राज्य संसद्मा पनि बहस चलिरहेको छ । यदि अमेरिकी सांसदहरूले वास्तवमै अमेरिकी किसानहरूलाई सहयोग गर्न चाहेका हुन् भने उनीहरूले विदेशी स्वामित्वका सम्पत्तिमाथि कर लगाउनुपर्छ र राजस्व कृषिलाई प्रोत्साहित गर्न खर्च हुने सुनिश्चित गर्नुपर्छ ।
तथ्याङ्कले अहिले प्रस्तावित विधेयकले संरा अमेरिकी खाद्य सुरक्षामा सुधार गर्ने वा अमेरिकी किसानको भलो गर्ने देखिँदैन । ती लक्ष्य हासिल गर्ने अरू नै प्रभावकारी र उत्तम उपाय छन् । तर, तिनका विषयमा छलफल भइरहेको छैन । प्रस्तुत विधेयक राजनीतिक अभिप्रायका साथ प्रस्तुत भएको देखिन्छ । संरा अमेरिका र चीनबिच बढ्दो दुश्मनीबाट लाभ लिने खोज्नेहरूको लागि यो विधेयकको निषेधात्मक प्रावधान न्यून लागतको उपाय मात्र हो । संरा अमेरिकी सांसदहरू अमेरिकी खाद्यान्न उत्पादक र उपभोक्ताहरूलाई मद्दत गर्नतिर भन्दा भूराजनीतिक तनावबाट लाभ उठाउने र आगोमा घ्यु थाप्नमा बढी उत्सुक देखिएका छन् ।


(लेखक उत्तरपश्चिम विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक, सोही विश्वविद्यालयको विश्वव्यापी गरिबी अनुसन्धान प्रयोगशालाका उपनिर्देशक र चाइना इकोन ल्याबका संस्थापक निर्देशक हुन् ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद :नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *