भर्खरै :

नेताहरू काठमाडौँमा थुप्रिएसम्म देशको सन्तुलित विकास नहुने

नेताहरू काठमाडौँमा थुप्रिएसम्म देशको सन्तुलित विकास नहुने

हालै सामाजिक सञ्जालमा काठमाडौँमा बङ्गला भएका सयौँ सांसद, मन्त्री, प्रधानमन्त्रीहरूको सूची प्रकाशित भएको थियो । त्यसमध्ये कसैको काठमाडौँमा २/३ वटा र कसैको ३/४ वटा घरहरू भएका समाचारहरू नआएका होइनन् । त्यस्तै पूर्वसांसदहरूको बङ्गलाको समाचार आउन त बाँकी नै होला । त्यस्तै मालदार कार्यालयका पूर्व वा बहालवाला राष्ट्रसेवक कर्मचारीहरू पनि होलान् । तिनीहरू हिजो हिमाल, पहाड, तराईका गाउँबाट चप्पल, झुत्रो मैलो लुगा लगाएर आएका गरिब सांसद, मन्त्री तथा प्रमहरू थिए । आज उनीहरूका काठमाडौँमा कम्पाउन्डसहितका बङ्गलाहरू भएका समाचारहरू आएका छन् । घडेरी जोडेका दसौँ रोपनी जग्गा काठमाडौँमा जोडेका नेताहरू कति छन् त्यो पनि एकदिन आउने नै छ । देश र जनतालाई घात गरेर जोडेका, बेइमान र भ्रष्टाचार गरेर जोडेका, खराब ठेकेदार, व्यापारी, ठग–धनपति उद्योगपति, बिचौलिया, कर छली, अपहरणकारी ज्यानमारा आदिजस्ता अपराधीहरूबाट उपहार, पुरस्कार, विदेशीलाई रिपोर्टिङ र सूचना दिएबापत कुन कुन सभासद्, मन्त्री, नेता, कार्यकर्ताहरूले घडेरी, घर, आइसी, डलर जोडेका समाचार पनि पछि आउने नै छन् ।
उनीहरू लाखौँ करोडौँ चुनावमा खर्चेर त्यसै जितेर आएका होइनन् । त्यसको ब्याजसहित असुल्न र काठमाडौँमा बङ्गला जोड्न आएको समयले देखाउँदै छ । उनीहरू देश र जनताको निःस्वार्थ सेवा गर्न आएका होइनन् । त्यसैले उनीहरू आफू जन्मे र हुर्केको ठाउँमा बस्दैनन् । उनीहरू काठमाडौँमा बस्दै आएका छन् । नेता, सांसद, मन्त्री तथा प्रधानमन्त्रीहरू काठमाडौँमा थुप्रिएसम्म मुखले जतिसुकै समृद्धिको कुरा गरे पनि नेपाल र नेपालीको जतिसुकै शैक्षिक, आर्थिक र सामाजिक विकासको झ्याली पिटे पनि, देशको सन्तुलित विकासको घाँटी सुक्ने गरी भाषण गरे पनि व्यवहारमा देखिने गरी, नेपाली जनताले अनुभव गर्नसक्ने गरी देशको सन्तुलित विकास हुनसक्दैन । प्रजातन्त्र आएको ३०/३५ वर्ष भइसक्दा पनि जनताले त्यस्तो अनुभव गर्ने गरी केही काम भएका छैनन् । यदि अर्जुन दृष्टि भएका, त्यागी र इमानदार नेताहरू सरकारमा आएका भए यति बेला सबै प्रान्तमा कमसेकम एउटा वीर अस्पताल र टिचिङ अस्पतालजस्ता अस्पताल र त्रिभुवन विश्वविद्यालयजस्तो प्रसिद्ध विश्वविद्यालयहरू भइसक्थे । काठमाडौँमा आएर पढ्नको लागि दुःख कष्ट भोग्नुपर्ने थिएन ।
सिस्नुको बोट रोपेर तुल्सीको अपेक्षा गर्नु, धतुरोको बोट रोपेर सुन्तलाको आस गर्नु मूर्खता हो । यो गणतान्त्रिक व्यवस्था भनेको पुँजीवादी व्यवस्था नै हो । यो हुनेखाने मात्र बाँच्ने र हुँदा खाने गरिब र अशिक्षित बहुसङ्ख्यक जनता दुःख हुने व्यवस्था हो । यो व्यवस्थामा देश र जनताको सेवा हुँदैन । गाउँका गरिब र अशिक्षित जनता रोगले मरून् वा भोकले मरून्, त्योसँग उनीहरूलाई कुनै चासो हुँदैन । उनीहरू त बन्छन् तर देश र जनता कहिल्यै बन्दैनन् । उनीहरू देश र जनतासँग कुनै मतलब नै राख्दैनन् । उनीहरू चुनावताका आफूहरू जसरी पनि जित्नलाई गरिब, अशिक्षित, असचेत र असङ्गठित जनतालाई आँखामा छारो हाल्दै समृद्धि ल्याइदिने भन्दै विकास र सेवाका झूटा आश्वासनहरू बाँड्छन् । चुनावमा पैसा बाँडेपछि ग्याँस सिलिन्डर, कुर्ता सारी, चोलो आदि बाँडेपछि, जागिरको आश्वासन, लोभ दिएपछि, छोराछोरीलाई स्वदेशी र विदेशी छात्रवृत्ति दिलाइदिने आश्वासन दिएपछि उनीहरूलाई चुनाव जित्नु नौलो भएन । त्यो रकम उठाउन उनीहरू जसरी पनि पद हत्याउने, गृह, अर्थ, भौतिक योजनाजस्ता मालदार मन्त्रालय पाउन हानथाप गर्छन् । त्यसको लागि काङ्ग्रेसलगायतका दलहरूमा कुकुर झगडा भइरहेको समाचारहरू बाहिर आएका छन् । त्यसैले प्रम पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन महिनामा चारपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै पूर्णता दिन सकेका छैनन् । उनी इतिहासकै नालायक र असक्षम प्रधानमन्त्री गनिन पुगेका छन् । आफू पाँचपटक मन्त्री भइसकेका एकजना मन्त्रीले आफ्नो संस्मरणको पुस्तकमा मन्त्री हुनु भनेको भ्रष्टाचार गर्नु हो भनेका छन् ।
संसदीय चुनावबाट निर्वाचित भएर आउने सांसद, मन्त्री र प्रमहरू जबसम्म आफूहरू पदमा बहाल हुँदा वा नहुँदा आफू जन्मे र हुर्केको गाउँ ठाउँमा जाँदैनन् वा काठमाडौँमा आएर बङ्गला जोडेर बस्छन् तबसम्म गाउँ ठाउँको विकास हुँदैन । देशको सन्तुलित विकास हुँदैन । यसको लागि नेताहरू गाउँमा नै बस्नु आवश्यक छ । आफूहरू काठमाडौँमा डेरा जमाएर बस्ने गाउँमा कहिल्यै पनि पाइला नटेक्ने । गाउँमा काम गर्ने जनशक्तिको अभाव, विदेशमा सस्तो ज्यामीको रूपमा पलायन, गाउँमा खेतीपाती, सिँचाइको अभाव, बाटोको अभाव, विद्यालय, कलेज, जनस्वास्थ्य केन्द्र, अस्पतालको अभाव र हुने खानेको दमन र उत्पीडन आदिले गर्दा गाउँ रितिएका छन् । भएभरका मानिसहरू काठमाडौँमा ओइरिँदा काठमाडौँले ठाम्न सकेन वा थेग्न सकेन । त्यसैले काठमाडौँ कङ्क्रिटको जङ्गल बन्यो । विष्णुमती र बाग्मतीका बगरहरू रित्तिए । खुला ठाउँ, हरियाली खेतीपाती र जङ्गल रित्तिए । विष्णुमती र बाग्मती दुर्गन्धित ढलमती भए । बस्तीहरू अस्तव्यस्त भए । हावापानी दूषित भएका छन् । काठमाडौँ धुलो, धुँवामय र कोल्लाहलमय भएको छ ।
सांस्कृतिक नगरहरूको सङ्गमस्थल काठमाडौँ उपत्यकाका मन्दिरहरूबाट मूर्तिहरू चोरी भएका छन् । ती मूर्तिहरू कुनै अमेरिका, कुनै बेलायत, कुनै जर्मनी र फ्रान्सलगायतका युरोपेली देशहरूमा पुगेका छन् । त्यस्तै यहाँ चोरी, ठगी, वेश्यावृत्ति, बलात्कार र हत्याका घटनाहरू बढिरहेका छन् । काठमाडौँ उपत्यका देश तथा विदेशी अपराधीहरू लुक्ने ठाउँ बन्न थालेको छ । काठमाडौँ उपत्यकामा प्राकृतिक बहन क्षमताभन्दा बढी मानिसहरूको बसाइँले धुवाँ, धुलो, फोहोर, कोलाहल आदि सबै अस्तव्यस्त भएका छन् । त्यसैले नेपाल मजदुर किसान पार्टीले ३० वर्षअगाडि नै देशको सन्तुलित विकास गर्न राजधानी दाङ सार्नुपर्छ भनेको थियो । त्यसलाई शासक दलहरूले नसुन्दा वा व्यवहारमा नउतार्दा काठमाडौँ आजको खराब स्थितिमा आइपुगेको हो । यहाँ हुने खानेहरूलाई सबै सेवा र सुविधा सुलभ छ भने हुँदा खानेहरूलाई बाँच्न कठिन छ । हुँदा खाने, आदिवासी काठमाडौँ उपत्यकावासीहरू बिस्तारै पलायन भइरहेका छन् । यसले गर्दा पुर्खाले बनाएका नेपालको गौरव, प्रतिस्था जोगाइरहेको काठमाडौँ उपत्यकाको कला र संस्कृति, रहनसहन जोखिममा गएको छ । सरकारले सम्पदा जोगाउन होइन, हाम्रो पुर्खाहरूको आत्मनिर्भरताको सोच र योगदानलाई तिलाञ्जली दिन विदेशसँग हात मिलाइरहेको छ ।
यता गाउँको जनताको भोट लिएर जितेका सांसद, मन्त्री, प्रमहरू गाउँमा नबस्दा गाउँको बाटो, शिक्षा, स्वास्थ्य, कृषि, उद्योगको विकासमा बाधा भएको छ । त्यस्ता गाउँठाउँको विकास हाँक्ने नेतृत्वकर्ता युवा पुस्ता विदेश पठाउँदा गाउँ रितिएको छ । काङ्ग्रेसका नेता रामशरण महतले केही वर्षअगाडि हरेक चुनाव क्षेत्रबाट २/२ सय युवाहरू विदेशको सेवा गर्न, विकास गर्न सस्तो ज्यामीको रूपमा विदेश पठाउने नीति बनाएको कारण नेपालको यो बेहाल भएको हो । त्यसैले गर्दा आज मलेसियामा विश्व चर्चित ट्विनटावर बनेको छ । कतारमा विश्वकै अग्लो खलिफा टावर बनेको छ, रङ्गशाला बनेको छ । खाडीको मरुभूमिमा खेतीपाती हरभरा पारेको छ । खाडी देशमा सडकहरू फराकिला बनेका छन् । तर, नेपालका गाउँहरूमा केही बनेन बरु उजाड बनेको छ । न स्कूल र कलेजहरू बने, न अस्पताल बने, न खेतीपाती र उद्योगहरू नै बने, न प्राकृतिक स्रोत सम्पदाको संरक्षण गर्न सके ।
उनीहरूले नेपालको गाउँ, ठाउँको भाषा, बोली, भेषभूषा, रहनसहन, बाजागाजा, गीत, नृत्य, धर्म आदिलाई विकासको नाममा, पद र सुविधाको लोभमा एनजीओको प्रभावमा सिध्याउँदै छन् । जसले मौलिकता गुमाउँछ, संस्कृति गुमाउँछ उसले सबै गुमाउँछ । उसँग पैसा होला, धन–सम्पत्ति होला तर त्यसको कुनै मूल्य र महत्व हुँदैन जति आफ्नो मौलिकता र संस्कृतिको हुन्छ । त्यसैले सबै सांसद, मन्त्री, प्रमहरू, नेताहरू, पदमा बहाल हुँदा होस् या नहोस् काठमाडौँमा थुप्रिने होइन आफू जन्मे, हुर्केको गाउँ ठाउँमा फर्केर हाम्रो मौलिकता, संस्कृति जोगाउनुको साथै देशको सन्तुलित विकास गर्नु आवश्यक छ ।
गाउँठाउँमा हावापानी, भूगोलअनुसार, कृषि, कारखाना, उद्योग खोलेर उत्पादन गर्ने र नेपालको उत्पादन भएसम्म अरू विदेशी उत्पादन गर्न नपाइने नीति, कानुन बनाउनु आवश्यक छ । त्यो उपयोग र प्रयोग गर्ने सहज वातावरण सत्तासीन दलहरूले बनाइदिनु आवश्यक छ । चाहे कृषिजन्य वस्तु होस् चाहे पशुजन्य वस्तु । त्यस्तै कपडा जुत्तालगायतका अन्य सामान होस् । राम्रो नराम्रो, गुणस्तर आफ्नो ठाउँमा होला । त्यसलाई मागअनुसार सुधार र परिमार्जन गरेर सक्दो राम्रो र गुणस्तरीय बनाउन सकिन्छ । यो सबै देशकै सम्पत्ति हो, देशकै हितको लागि आत्मनिर्भर अर्थतन्त्र गर्नुपर्छ भनेर सचेत गर्नुपर्छ । नेपालसँगै भएको सामान विदेशबाट आयात रोक्नुपर्छ । त्यस्तो सामानमा कर बढाएर हुन्छ कि के गरेर हुन्छ, त्यसलाई रोक्नुपर्छ । यसले देश परनिर्भर होइन आत्मनिर्भर बनाउनेछ । त्यसैले नेताहरू गाउँमा बस्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *