भर्खरै :

के सरकारले शिक्षकलाई हेपेकै हो ?

के सरकारले शिक्षकलाई हेपेकै हो ?

शिक्षक/गुरु जुनसुकै शब्द प्रयोग गरे पनि एउटै हो । शिक्षकले नै संसारमा जन्मिएका मानिसलाई मार्गदर्शन गरेको हुन्छ । त्यो शिक्षकको रूप फरकफरक हुनसक्छ । त्यो शिक्षकको रूपमा एकजना आमा हुनसक्छ । एक जना बुबा हुनसक्छ । त्यो शिक्षक विद्यालयमा पढाउने व्यक्ति हुनसक्छ । ऋषि महर्षिको रूपमा पनि हुनसक्छ । तर, काम एउटै हो, भविष्यका कर्णधारहरू तयार गर्ने । रामलाई विश्वामित्रले शिक्षामा पारङ्गत गरे । गुरु वशिष्ठले शिक्षा दिए । उनीहरूकै शिक्षा पाएर राम आज देवताको रूपमा पूजा गर्न लायक बने । अर्जुनलाई गुरु द्रोणाचार्यले शिक्षा दिए, धनुविद्यामा पारङ्गत गरे । परशुरामजस्तो गुरु पाएर बलराम बलवान बने । यसरी युगअनुसार गुरुहरू वा शिक्षकहरूले समाजको विकृत हटाउन र हितको लागि शिक्षा दान गर्दै आएका थिए । त्यस्तै आज नेपालमा शासन गर्ने शासकहरूलाई पनि कुनै न कुनै गुरुले अथवा शिक्षकले शिक्षा दिएको र शिक्षा लिएर पनि आएको होला । के ती शिक्षा दिने गुरुहरूलाई आजका हाम्रा शासकहरूले भुलिसकेका हुन् ? आज ती शिक्षकहरूले प्रत्येक वर्ष लाखौँलाख मानिसलाई शिक्षा दीक्षा दिएर समाजलाई राम्रो बनाउँछु भनेर रात दिन लागी परिरहेका छन् । के ती शिक्षकहरूको कुनै महत्व छैन ? ती शिक्षकहरूले आफ्नो घरको काम छोडेर आफ्नो कर्तव्य पालन गर्दै आइरहेका छन् । त्यसरी कर्तव्य पालन गर्दागर्दै कानुनीरूपमा अब घरमा बसेर खानु भनी दिएको पेन्सन आज किन रोकिन्छ ?
जीवनभर विद्यालयमा गएर कुनै आम्दानी हुने पेसामा नलागी जीवन समाप्त पारेका शिक्षकहरूको पेट पाल्ने एउटै आधार पेन्सन हो । सरकारले बेविचारी ढङ्गले पेन्सन बन्द गरेर ती वृद्धवृद्धा शिक्षकहरूलाई जिउँदै मार्न खोजेको हो ? के प्रधानमन्त्री, शासक पार्टीका नेता, सचिव भनाउँदा ठूलाबडा कर्मचारीहरू सबैले शिक्षकहरू भुलिसकेका छन् ? ती मन्त्री, सचिव र सल्लाहकार भनाउँदाहरूले शिक्षकवर्गलाई किन सधैँ हेपिरहने गर्दछन् ? के देशको लागि शिक्षकहरू आवश्यक छैन ? यदि आवश्यक छैन भने अहिले हजारौँ हजार शिक्षकहरू जागिर ख्वाउने विज्ञापन किन गर्नुप¥यो ? शिक्षकहरूले वर्षाैँ वर्षसम्म तलब न पाए पनि हुने । त्यही शिक्षकबाट पढेर आएका आजका प्रधानमन्त्री बनेर तलब, भत्ता, घुस, खान पाउने, सचिव भएर तलब, घुस, भत्ता सबै खान पाउने । एउटा काम गर्नको लागि घरमा रकम नपुगेसम्म काम नगर्ने । कर्मचारी र मन्त्रीहरूको तलब दुई दिन पछि पार्न नहुने । तर, सोझासीधा शिक्षकहरूले भोकभोकै काम गरेर मर्नुपर्ने ?
यदि यसो होइन र शिक्षकहरूलाई पक्षपात नगर्ने हो भने सरकारले अरूको सरह शिक्षकहरूलाई समयमै रकम निकासा गरेर पेट पाल्न दिनुपर्ने होइन र ? निवृत्त वृद्धवृद्धा शिक्षकहरूको पेन्सन समयमा उपलब्ध गराउनुपर्ने होइन र ? तर, सरकारले शिक्षकहरूलाई हेपेर समयमा तलब दिएन । हातमा लौरो टेकेर हिँड्न पर्ने वृद्ध शिक्षकहरूलाई आज पेन्सनसमेत दिएन । सरकारले कर्मचारी, शिक्षक, प्रहरी र सैनिक सबैलाई समान व्यवहार गरोस् । यो शिक्षकहरूको सरकारसँगको माग हो । यो सञ्चयकोष, पेन्सन, बिरामी बिदा आदि प्राप्त गर्न शिक्षकहरूले २०३६ सालमा ठूलो आन्दोलन गरेका थिए । त्यत्तिकै सित्तैमा तलब, पेन्सन र अन्य सुविधा पाएको होइन । त्यसकारण, शिक्षकहरूको रोकिराखेको पेन्सन रकम तुरुन्त बैङ्कमा जम्मा गर्नुपर्छ ।
संविधानअनुसार सम्पूर्ण नेपाली नागरिक समान छ भनेर भन्ने तर शिक्षकहरूलाई तलब नदिने, पेन्सन नदिने किन ? अनि कर्मचारी, पुलिस, सैनिक, यहाँसम्मकि मन्त्री महामन्त्रीको तलब र पेन्सन पाउने । के संविधानले दिएको समानता यही हो ? कि सरकारले शिक्षकहरूलाई नेपाली नागरिक नै होइन भनेर किटान गरी दिनुप¥यो । होइन भने अरू कर्मचारीसरह समयमै रकम निकासा किन नगर्ने ? यदि सरकारले पक्षपात गरेको छैन भने निवृत्त शिक्षकहरूको रकम निकासा छिटोभन्दा छिटो गरिदिनुपर्छ । लट्ठीको सहारा लिएर हिँड्नुपर्ने वृद्धवृद्धाहरू, छामछाम र छुमछुम गरेर अर्काको आँखाको सहारामा बाँच्नेहरूले सडकजाम गर्न नपरोस् । अतः छिटोभन्दा छिटो पेन्सन रकम भुक्तानी दिनुपर्छ । शिक्षक र कर्मचारीमा भेदभाव नहोस् । चाहे शिक्षक होस् या कर्मचारी, पुलिस प्रहरी होस् या सैनिक । सबै राष्ट्रसेवक हुन् । सबै देशभक्त हुन् । खान नपाएर मर्नुभन्दा लडेर मर्नु उचित हुन्छ भन्ने विचार फैलन नपाओस् । यही नै प्रचण्ड सरकारसँग अनुरोध गर्दछु ।
सम्पूर्ण शिक्षक शिक्षिकाहरू समस्यासँग जुध्नको लागि शक्तिको आवश्यकता पर्दछ । हामी सङ्गठित भएर लड्नुपर्छ । त्यसको लागि निवृत्त शिक्षक र अरू सँगसँगै सबै शिक्षक साथीहरू एकजुट र सङ्गठित भएर भविष्यमा लड्नको लागि तयार हुन अनुरोध गर्दछु । एकता नै बल हो । यसलाई नबिर्सिऔँ । सङ्गठित होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *