भर्खरै :

काठमाडौँ अव्यवस्थित सहर हुनुमा सरकार नै दोषी

देशको राजधानी काठमाडौँलाई राजनीतिक र सांस्कृतिक केन्द्र बनाउनुपर्ने हो । राजनीतक र सांस्कृतिक केन्द्र बनाउन सरकारले उचित वातावरण तयार गर्नुपर्ने हो । तर, कुनै पनि शासकहरूले राजधानीलाई व्यवस्थित सहर बनाउनेतर्फ कहिल्यै ध्यान दिएनन् । देशकै सुन्दर, शान्त, व्यवस्थित, सफा र सांस्कृतिक केन्द्र बन्नुपर्ने सहर फोहर, अव्यवस्थित, आपराधिक गतिविधि गर्ने स्थल, ध्वनि प्रदूषणको सहर, कञ्चिगलको सहर बनिरहेको छ । यसरी अव्यवस्थित र फोहर सहर हुनुको सबै दोष काठमाडौँ महानगरपालिकाको टाउकोमा खन्याउनु मनासिब हुँदैन । फोहर व्यवस्थापनमा वास्ता नगर्ने सङ्घीय सरकार, ठूलठूला सहरको परिकल्पना गरेर सबै मानिस उपत्यकामा थुपार्ने योजना बनाउने या योजना तयार गर्ने सरोकारवाला निकाय र व्यक्तिहरू यसका मुख्य दोषी हुन् ।
फोहर व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले बेवास्ता गरेको होइन । तर, त्यो व्यवस्थापनमा सरकारले ध्यान दिएन, ध्यान दिएर समस्याको निकास खोजेन । परिणामतः देशको सुन्दर, शान्त र सफा बन्नुपर्ने राजधानी फोहरको केन्द्र बन्यो । केन्द्र सरकारले वास्ता नगरेकै कारण काठमाडौँको फोहर व्यवस्थापन व्यवस्थित हुन सकेन । बस्तीभित्र फोहरको डङ्गुर थुपार्दा कति दुर्गन्धित हुन्छ भन्ने कुरा केन्द्रीय सरकारले वास्तै गरेन । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवासदेखि सिंहदरबार कार्यालयमा फोहर थुप्रिए पनि फोहर व्यवस्थापनमा किन केन्द्रीय सरकारको ध्यान गएन ? केन्द्रीय सरकारले स्थानीय तहको समस्याको सुनुवाइ हुँदैन भने स्थानीय तहले पनि केन्द्रीय सरकारको कुरामा किन सुनुवाइ हुन्छ ?
काठमाडौँको फोहर फाल्ने सिसडोलका जनताको समस्या समाधान गर्न केन्द्रीय सरकारको पहल खोइ ? फोहर फाल्ने स्थल पुग्ने नुवाकोट र धादिङ पुग्ने सडक बनाउनु पर्दैन ? ल्यान्डफिल्ड साइड वरपरका जनतालाई दुर्गन्धितबाट बचाउने उपाय खोज्नुपर्दैन ? त्यहाँका जनताको लागि सरसफाइ, खानेपानी, स्वास्थ्य सेवाको सुविधा पु¥याउने व्यवस्था सङ्घीय सरकारले गरेको छ कि छैन ? त्यहाँका जनताको निःशुल्क स्वास्थ्य सेवा र परीक्षण, विद्यालय, बिजुली, खाद्यान्न आदिको राम्रो व्यवस्था हुनुपर्छ । यस्तो सबै काम नगरपालिकाले सम्भव छैन । कामनपासँग समन्वय गरेर जनताका समस्या हल गर्नेतर्फ केन्द्रीय सरकारको ध्यान नपुगेको हुँदा कामनपाले सरकारको ध्यानाकर्षण गर्न नै फोहर उठाएको हो कि भन्ने चर्चा परिचर्चा उपत्यकावासीहरूबिच भइरहेको छ ।
हो, फोहर कहीँ हुनुहुँदैन । त्यो फोहोर बस्तीभित्र पनि हुनुहुँदैन, सिंहदरबार वरिपरि पनि हुनुहुँदैन । केन्द्रीय शासक या मन्त्रीहरूले फोहर सफा गर्ने काम कामनपाको हो, यसमा केन्द्रीय सरकारको होइन भनेर जवाफ दिन मिल्दैन । फोहर फाल्ने ठाउँको व्यवस्थापन या वातावरण तयार गर्न के सरकारले ध्यान दिनुपर्दैन ? केन्द्रीय सरकारले फोहर व्यवस्थापनको कुनै पूर्वाधार तयार नगरे पनि हुने ! सरकार गैरजिम्मेवार बने पनि हुने ! सरकार वार्ता र विधिबाट समस्याको समाधान नखोज्ने ! अनि सिंहदरबार दुर्गन्धित भयो, कामनपाले उरेन्ठेउलो शैली अपनायो, कामनपा संवेदनशील भएन, अराजनीतिक बाटो अपनायो भनी पेट दुखाउने ? कामनपाका मेयरलाई धम्की दिने कि समाधानको बाटो खोज्ने ! काठमाडौँ सहरलाई सफा, सभ्य, सुन्दर, कला र संस्कृतिको अनुपम बनाउने जिम्मा के सबैको होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *