भर्खरै :

अर्को विवादमा दलाई लामा

अर्को विवादमा दलाई लामा

दलाई लामा आफुलाई के ठान्दछन् ? केही दिनअघि ट्वीटरमा एउटा श्रव्यदृश्य प्रचार भएको थियो । त्यसमा उनले एक जना केटोलाई चुमिरहेका थिए । अनि त्यो केटोलाई आफ्नो जिब्रो चुस्न आग्रह गरिरहेका थिए । जो कसैको बुझाइ वा संस्कृतिमा पनि त्यो केटो यौनिकरूपमा सजग उमेर (सोह« वर्ष) भन्दा मुनिका थिए ।
धेरै जना तिब्बती पृथकतावादीहरूले दलाई लामाको यस्तो बेहोरालाई ‘हँसीमज्जाक वा सांस्कृतिकरूपमा गलत व्याख्या गरिएको’ भनी आफ्नो प्रतिरक्षा गर्न खोजे । तर, सँगै धेरैले यस्तो बेहोरालाई बाल यौन दुराचारको आरोप लगाए । दलाई लामाले ट्वीटर र आफ्नै वेभसाइटमा सो घटनाप्रति क्षमा मागे । उनले सो घटनालाई ठट्टा र सरलताको रूपमा व्याख्या गरे । क्षमा मागिएको उनका यी शब्द (यो लेख लेख्दासम्म) ३ करोड ५६ लाख मानिसले हेरिसकेका थिए । उनको यो ट्वीटको मुनि गरिएका कमेन्ट पढ्दा दलाई लामाले मानिसहरूका साथ समर्थन गुमाएको प्रस्ट हुन्छ । संसारबाट उनले ख्याति गुमाई नसकेको भए पनि अनलाइनबाट भने उनले समर्थन गुमाइसकेका छन् । उनलाई समर्थन गर्ने र विरोध गर्नेको अनुपात १ः१० देखिन्थ्यो ।
बीबीसीले दलाई लामाको बेहोराको प्रतिरक्षा गर्दै जिब्रो टाँस्नु सिचाङ (तिब्बत) स्वशासित क्षेत्रमा सत्कार गर्ने तरिका भएको बतायो । धेरै अन्य वेभसाइटले यही कुरामा हो मा हो मिलाएका छन् । उनीहरूले यसलाई सांस्कृतिक गलत बुझाइको घटनाका रूपमा प्रस्तुत गरेका छन् । किनभने, नवौँ शताब्दीको तिब्बती परम्परामा जिब्रो देखाउने र सामूहिक कार्यमा आपसमा सत्कार गर्न जिब्रो जोड्ने चलन भएको उनीहरूको भनाइ छ ।
तथापि, सार्वजनिकरूपमा आफ्नो जिब्रोसँग अर्काको जिब्रो जोड्ने कुनै पनि परम्परा न हिजो थियो, न आज नै छ । सन् २०१५ मा दलाई लामाले ख्यालठट्टा गर्दै यदि आफ्ना उत्तराधिकारी महिला भए उनी आकर्षक हुनुपर्ने नत्र नहुने बताएका थिए । बीबीसीले उत्तिबेला पनि लामाको प्रतिरक्षा गरेको थियो ।
यदि जिब्रो जोड्नु सिचाङको परम्परा हुँदो हो त संसारका झन्डै हरेक देशका टीभीका पर्दामा धार्मिक, राजनीतिक वा ख्यातिप्राप्त पाहुनालाई स्वागत गर्दै गरेको देखिने ती पुरुष (दलाई लामा) ले बरोबर त्यसो गरेको देखिनु पर्ने थियो । पहिला पनि उनले आफ्ना पाहुनासँग जिब्रो जोडेका भए अहिले कसैको आँखीभौ आश्चर्यमा उठ्ने थिएन । तर, यसअघि उनले कहिल्यै पनि वयस्क र केटाकेटीलाई त्यस्तो व्यवहार गरेका थिएनन् ।
धेरै मानिस यो मान्छेले कहिल्यै कुनै गल्ती गर्न सक्दैन भनी सोच्छन् । एक जना वयस्क पुरुषले आफ्नो परिवारभन्दा बाहिरका किशोरावस्थामा पनि पुगिनसकेको केटोको ओठमा चुम्नु संवेदनशील विषय मात्र होइन, बरु यस्ता कामलाई कानुनबमोजिम अपराधको विषय बनाइनुपर्ने हो ।
यो घटनाका दुई पक्ष छन् : संसारभर पवित्र पुरुषको रूपमा सम्मान गरिएका वयस्कले आफ्नो जिब्रो चुस्न एक जना केटोलाई आग्रह गरेका छन् र आफ्नो बायाँ हातले केटोको दायाँ हातमा कसिलो गरी समातेका छन् । केटोलाई त्यहाँ निकै असजिलो भएको र त्यो अवस्थाबाट पन्छिन उनलाई असहज भइरहेको देखिन्छ । संसारका अधिकांश देशमा यदि सामान्य नागरिकले यस्ता बेहोरा देखाए उसले प्रहरी छानबिनको सामना गर्नुपर्ने थियो ।
केही पर्यवेक्षकहरू भने एक महिनाभन्दा बढी समयअघि भएको घटना अहिले कसरी प्रचारमा आएको छ भन्ने विषयमा चासो राख्दै छन् । सम्भवतः स्वतन्त्र तिब्बत आन्दोलनको समर्थनमा सबभन्दा बढी चन्दा उठ्ने वाशिङ्टन सहरका जो कोही पनि दलाई लामाले आफुलाई लाभ हुने काम गरेकोमा प्रस्ट छन् । स्वतन्त्र सिचाङ भन्ने कुरा कहिल्यै पनि हुन सक्दैन । यो चीनसँग बाँकी संसारको सम्बन्ध बिगार्न अघि सारिएको प्रपञ्च मात्र हो । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआइए) ले समेत यो कुरा स्वीकारेको छ । सन् २०१० मा प्रकाशित ‘फरेन पोलिसी जर्नल’ मा ‘तिब्बतको वियोगः धोखेबाजी, उपनिवेशीकरण र शोषणको कथा’ नामको लेखमा सन्दर्भ सामग्री र भनाइसहित विस्तृत लेख प्रकाशित भएको छ ।
सिचाङमा कोही गएर त्यहाँका मानिसहरूलाई सोधे उनीहरूलाई स्वतन्त्र तिब्बत चाहिँदैन, आफू सधैँ जस्तै स्वतन्त्र भइसकेको बताउनेछन् ।
सत्य कुरा के हो भने सिचाङमा आर्थिक सुधार भइरहेको छ । त्यहाँ गरिब मानिस अझै छन् । तर, निरपेक्ष गरिबी अहिले त्यहाँ छैन । वातावरणका कुनै ठुला समस्या छैन । मानवअधिकारको विषयमा कुनै खराब खबर छैन । तिब्बती जनता बृहत् र खुला खालको शासन प्रणाली अभ्यास गरिरहेका छन् । चीनले त्यसलाई समग्र प्रक्रियाको जनताको प्रजातन्त्र भन्ने गर्छ । यदि यो कुरा पत्यार लाग्दैन भने कम्तीमा त्यहाँ गएर फर्केका मानिसका प्रतिक्रिया पनि बुझ्नु राम्रो ।
सारमा सिचाङ र दलाई लामा नै विवादका कारण हुन् । सिचाङ कहिल्यै पनि स्वाधीन वा स्वतन्त्र देश बन्न सक्दैन । तर, अहिले दलाई लामाको उमेरका कारण पनि हुनसक्छ । सायद, सिचाङमा तिब्बत र हान जातिका मानिसबीच विभाजन गर्न असफल प्रयास फितलो बन्दै छ । सत्य के हो भने उनी आफ्नो दुर्भाग्य आफै निम्त्याउँदै छन् । हुनसक्छ, सीआइएले नै उनलाई यस्तो लज्जाजनक काम गर्न हौस्याइरहेको छ ।
लेखक बेलायती–अस्टे«लियाली स्वतन्त्र लेखक हुन् । उनले चीनमा अन्तर सांस्कृतिक परिवर्तन व्यवस्थापनबारे अध्ययन गरेका छन् । उनी झन्डै दुई दशकदेखि चीनमा बस्दै आएका छन् । उनले चीनका विभिन्न भूभागको विस्तारमा भ्रमण गरेका छन् ।
स्रोत : द ग्लोबल टाइम्स
नेपाली अनुवाद : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *