भर्खरै :

श्रमिक साकोसमा ज्येष्ठ सदस्य तथा शुभेच्छुक भेटघाट कार्यक्रम सम्पन्न

श्रमिक साकोसमा ज्येष्ठ सदस्य तथा शुभेच्छुक भेटघाट कार्यक्रम सम्पन्न

भक्तपुर, ८ वैशाख । श्रमिक बचत तथा ऋण सहकारी सं.लि.सूर्यविनायक जगाती भक्तपुरको ज्येष्ठ सदस्य कल्याण उपसमितिको आयोजनामा संस्थाका ६० वर्षदेखिका ज्येष्ठ सदस्य तथा शुभेच्छुकहरूको भेटघाट कार्यक्रम शुक्रबार सिद्धिगणेश तालिम हल खँचामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले पैसाको लोभमा राजनीतिलाई दुषित बनाएझैँ सहकारीमा पनि ब्याजको लोभ देखाएर सञ्चालकहरू भागी सहकारीको बदनाम भइरहेको कुरा राख्नुभयो । किसानहरूको हकहितमा नलडेको भए आजको यो सुख किसानका सन्तानहरूले नपाउने विचार पनि उहाँले राख्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले सहकारी संस्था सामाजिक र सहयोगी संस्था भएकोले समाजमा मिलेर बस्न सिकाउने, आवश्यक पर्दा सहयोग गर्ने भावनाको विकास हुने गतिविधिहरू गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । आदर निकेतन, बालउद्यानदेखि कलेज र विश्वविद्यालयसम्मको व्यवस्था समाजवादी व्यवस्था भएका देशहरूमा हुने विचार राख्दै उहाँले सभ्य र असल शिक्षाका कारण आज भक्तपुरको चिनारी भएको विचार राख्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले प्रदेश सरकारका कर्मचारीहरूले पैसा खाएर गलत मानिसलाई सहकारी दर्ता गरेको कारण नाफामा आधारित सहकारीहरूको बिगबिगी भएको विचार राख्नुभयो । कृषिप्रधान देशमा रसायनिक मलको लागि किसानहरू आन्दोलित भएको चर्चा गर्दै उहाँले मलमा गरेका अनुदान कटौती नेक्राकिसङ्घको सङ्घर्षबाट पुनः सरकारले अनुदान प्रदान गर्ने निर्णय गरेको विचार राख्नुभयो ।
उपसमितिका संयोजक ज्ञानभक्त मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवां, गणेशराम सुवाल, कानुनी सल्लाहकार विकल प्रजापति, संस्थापक अध्यक्ष कृष्णनारायण मचामसी, अध्यक्ष राजाराम गोसाई, पूर्वअध्यक्ष दिनेश ग्वाछा, उपसमिति सदस्य जयशिव शिल्पकार, कृष्णगोपाल ब्याञ्जुलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *