बाहिरी झिलिमिलीभन्दा पनि भित्री गुणलाई सुन्दरता मान्नुपर्ने
- भाद्र १७, २०८३
२०७४ चैत १ गतेदेखि मैले काम थालेकी थिएँ । म उहाँलाई ‘सर’ भनी सम्बोधन गर्थेँ । उहाँको उमेर ४५ वर्षको थियो । उहाँले स्वेच्छाले कलेजबाट अवकास लिनु भयो र घरमै बसेर लेखपढ गर्नुभएको थाहा पाएँ ।
उहाँको आँखामा मोटो चश्मा थियो र कम बोल्नुहुन्थ्यो । २–३ दिनअगाडि नै उहाँले मेरो कामको सूची बताउनुभएको थियो । कामअनुसार मैले यन्त्रवत काम थालेँ ।
ठीक बिहानको ७ बजेभन्दा ५ मिनेट अगाडि गेटमा पुगेर सरको घरको घण्टी बजाएँ । ढोका खुल्यो, मैले कोठामा गएर सरलाई अभिवादन गरेँ । ढोका बिस्तारै लगाएँ र टेबुल, मेच, झ्याल–ढोका र दराजहरू सफा गरेँ ।
सानो तीनतले घर, पहिलो तलाको एउटा अलि ठूलो कोठामा १० वटा मेच र तीन वटा टेबुल थियो र ७ वटा पुस्तकले भरेको दराज । अर्को कोठामा स–साना चार वटा मेच र २ कफी टेबुल थियो । हातमुख धुने ‘बाथरुम’, एउटा ऐना, रुमाल, साबुन, सानो काइँयो तर सफा, एक–दुइटा लुगा, कोट र पाइन्ट झुन्ड्याउने ठाउँ ढोकाको पछाडि थियो । सबै बाथरुम म दिनको दुई–तीन पटक सफा गर्थेँ । एक–दुई दिनमा औषधि राखेर सफा गर्थेँ ।
एउटा सानो कोठामा सफाइका सामान– कुचो, बु्रस र पुछ्ने कपडा र सामानहरू थिए ।
दोस्रो तलामा ‘सर’ को निजी वा सुत्ने कोठा, अलि ठूलो खाट, टेबुल, केही दराज र कोठासँगै बाथरुम थियो । दराजहरूमध्ये एउटामा लुगा र अर्को दराजमा पुस्तक, कापी र लेख्ने सामान थियो भने अर्को दराजमा सीसा नभएको हुँदा के के छ थाहा भएन ।
अन्य दुई कोठामध्ये एक लेख–पढको कोठा । एक टेबुल, मेच र पुस्तक राख्ने खुला दराजहरू छन् । टेबुलमा सीसाले छोपेको नेपालको नक्सा र अर्कोमा विश्वको नक्सा साथै कलम र सिसाकलम राख्ने भाँडाहरू छन् । भित्तामा केही तस्वीरहरू छन् ।
अर्को एउटा कोठामा एउटा खाट, मेच र एउटा सानो दराज र कफीटेबुल छ । यसो हेर्दा कोही पाहुना आउँदा बस्ने कोठा होला भन्ने अनुमान गर्न सकिन्छ, तातोपानी राख्ने थर्मस र गिलासहरू छन् ।
माथिल्लो वा तेस्रो तलाको बिचको दक्षिण भागमा पुरानो नेपाली शैलीको कौसी छ भने पूर्वको छानाको कोठामा आमा–बुबाको कोठा छ । पश्चिम भागको दक्षिणमा भान्छा कोठा र उत्तरमा पूजा कोठा, सम्भवतः आमा–बुबाको मन्दिर होला ।
घरको छाना पुरानै शैलीको छ, सिँढीहरू पनि पुरानै काठका छन् भने भित्ताहरू लिउन लागेका पुरानै शैलीका छन् ।
(२)
सफाइपछि म नयाँ पुस्तक र समाचारपत्रहरू पढ्ने कोठाको टेबुलमा सजाएर राख्ने गर्छु, पुराना पत्रपत्रिकाहरू खुला दराजमा चाङ मिलाएकै ठाउँमा मिति मिलाएर राख्छु ।
८ बजे सर टेबुलमा आउनुहुन्छ, म माथि गएर चिया र खाजा लिएर टेबुलमा राख्छु । उहाँ चिया खाँदै समाचारपत्रहरू पढ्नुहुन्छ । कुनै कुनै पत्रिकामा रातो कलमले चिह्न लगाउनुहुन्छ । ती समाचार पत्रहरूमध्ये केहीमा ‘कटिङ’ अर्थात् चिह्न लगाएको शीर्षकका लेख वा समाचारहरूलाई काटेर म फाइलहरूमा मिलाएर राख्छु । विश्वका महत्वपूर्ण घटनाहरूबारे, साहित्य, इतिहास, लेखक, कवि, कलाकार, दार्शनिक र नेताहरूको फाइलहरूमा मिलाएर राख्नु मेरो काम हो ।
१० बजे घर पुग्छु, खाना खाईवरीमा १२ बजेसम्म पुनः ‘सर’ को घरमा पुग्छु । म त्यहाँ पुग्दा मेरो टेबुलमा केही टाइप गर्ने सामग्री हुन्थ्यो र टाइप गर्थे, सुरुमा कार्बन पेपर राखेर दुई प्रति बनाउँथेँ र अलगअलग फाइलमा राख्थेँ । पछि पछि कम्प्युटरबाटै दुई प्रति बनाएर फाइलमा राख्ने गरेँ ।
उहाँ खाना खाएर पुनः आफ्नो टेबुलमा बस्नुहुन्थ्यो र केही लेखेर टाइप गर्ने सामग्री मेरो टेबुलमा राखेर बाहिर जानुहुन्थ्यो । ४ बजे पुनः कोठामा पुग्नुहुन्थ्यो ।
मेरो काम टेलिफोन गर्नेहरूको नाम टिप्ने र काम एवम् फोन गर्नेहरूको टेलिफोन नम्बर टिपेर राख्ने गर्छु । मानिसहरू भेट्ने समय ५ बजेदेखि ७ बजेसम्म हो । भेट्ने मानिसहरूसँग उहाँ तलकै कफीटेबुल भएकै कोठामा भेट्नुहुन्छ । म कफी र बिस्कुट लिएर टेबुलमा राखी माथि आएर काम गर्छु ।
(३)
माथि बुबा पेन्सन पाकेका ६५ वर्ष नाघेका पुराना कर्मचारी र आमा हुनुहुन्छ । यसो हर्दा साह्रै धार्मिक स्वभावका र मसिनो स्वरमा कुराकानी गर्ने र लेख–पढमा लागिरहनेहरू हुनुहुन्छ । घरमा अरू परिवार देखिन, सोध्ने मेसो पनि आएन ।
सम्भवतः ‘सर’ अविवाहित हुनुहुन्छ । कोठामा महिलाहरूले प्रयोग गर्ने श्रृङ्गारका सामान, लुगाफाटा केही देखिन । केटाकेटीको खेलौना, जुत्ता, चप्पल र लुगा पनि देखिन ।
म ६ बजे घर पुग्छु, आमाले खाना तयार गर्नुभएको खाना खाएर ७ बजे ‘सर’ को घर पुग्छु । हाम्रो घर र ‘सर’ को घर ५ मिनेटको दुरीमा छ । बुबा पनि पेन्सने कर्मचारी हुनुहुन्छ । मेरो एक जना भाइ यसै साल हाइस्कूल पास गर्दै छन् ।
७ बजे ‘सर’ कहाँ पुगेर माथि टेबुलमा छरिएका पत्र–पत्रिका, कागजपत्र र पुस्तकहरू सम्बन्धित ठाउँमा राखेर टेबुल, मेच सफा गर्छु । केही टाइप गर्नुपर्ने विषय छ भने टाइप गरेर ‘सर’ को टेबुलमा राख्छु । माथि खाना खाएर उहाँ टेबुलमा बस्नुहुन्छ । रेडियो र टीभी खोल्नुहुन्छ । म ७ः३० बजे आफ्नो घर जाने गर्छु । अर्थात्, ५ मिनेट अगाडि पुग्छु र ५ मिनेट ढीलो त्यहाँबाट फर्कन्छु ।
(४)
बिहान, दिउँसो र साँझ गरेर झन्डै म ९ घण्टा काम गर्छु । काम हलुकै हो र मलाई ‘सर’ ले २० हजार रूपैयाँ पारिश्रमिक दिनुहुन्छ ।
२–४ वर्षअगाडि मैले समाजशास्त्र र व्यवस्थापनमा स्नातक गरेको थिएँ । मलाई अध्यापन मन पर्दथ्र्यो, तर नजिक कुनै निजी विद्यालय नहुँदा म कामको खोजीमा थिएँ । एक जना साथीले मलाई ‘सर’ कहाँ काम गर्ने बन्दोबस्त मिलाई दिनुभयो ।
४–५ वर्षपछि मेरो विवाह हुने भयो । मैले ‘सर’ सँग बिदा लिएँ । सरले खाममा केही हजार रूपैयाँ उपहार दिनुभयो ।
दिउँसो ठीक १२ बजे हुलाकबाट चिट्ठीहरू, पुस्तक र पत्रपत्रिकाको पुलिन्दा आउँथ्यो । पत्रहरू र पुलिन्दा खोलेर एउटा एउटा मिलाएर फाइलमा पढ्न सजिलो होस् भनी चौकुने पारदर्शी शिशाको पेपरवेटले थिचेर राख्थेँ ।
४–५ बजेदेखि आउने र छलफल गर्नेहरू अनेक उमेरका युवा र युवतीहरू, पत्रकार र लेखक थिए । मेरो श्रीमान्ले कुरै कुरामा ‘सर’ कहाँ आफू पनि पुगेको बताउनुभएको थियो ।
मैले ‘सर’ को विषयमा सोध्दा उहाँले बताउनुभयो– “उहाँ भूमिगत कालका एक वामपन्थी पत्रिकाको ‘स्क्रीन सम्पादकमण्डलको अध्यक्ष’ हुनुहुन्थ्यो ।”
मेलै सोधेँ– “पत्रकारिता के हो ?”
पत्रकारिता थरीथरीका छन् । औषधि पसलका औषधिहरू र पसलका वस्तुहरू जस्तै ।
“कसरी ?” मैले सोधेँ ।
“व्यवस्थाको विरोधमा निस्कने,
व्यवस्थाको समर्थनमा लेख्ने,
भएको सरकारलाई पल्टाउने,
नयाँ मन्त्री र प्रधानमन्त्रीको पक्ष लिने,
अस्तित्वमा रहेका सरकार पल्टाउने र नयाँ मन्त्री र प्रधानमन्त्री बनाउन चाँजो–पाँजो मिलाउने र” उहाँले बताउनुभयो ।
फेरि मैले सोधेँ – “कसरी ?”
“बेलायतका प्रधानमन्त्रीहरू,
अमेरिकाका राष्ट्रपतिहरू,
सरकारहरूसमेत शासकका कमजोरीहरूलाई उदाङ्गयाउँदै जनमतमार्फत उथलपुथल मचाउँछ ।”
थप प्रश्न गरें– “के सबै पत्रकारहरू एकै प्रकारका हुन्छन् ?”
“अहँ होइन, केही चिनिएका र जानिएका हुन्छन् । बढी नजानिएका, विविधरूपका हुन्छन् । पञ्चायत कालमा ५० जना पत्रकार पास भएमा एक जना साँचो पत्रकार हुन्छ । हरेक विद्यालयमा समेत शिक्षकको रूपमा गुप्तचर हुन्थ्यो । तर, सबभन्दा बढी शासक दलहरूमा सबभन्दा बढी देशी र विदेशी गुप्तचरहरू हुन्छन् ।”
“मतलब ?” मैले प्रश्न गरेँ ।
मन्त्रीका विश्वासका व्यक्तिहरू, मन्त्राणी बैङ्कका मेनेजरहरूका आफन्त, मन्त्रालय र विभागका कर्मचारी, ठूला–बडाका ड्रात्र आदि उहाँले केही खोल्नुभयो ।
मैले सोधेँ– “के सर पनि जुलुस, सभा र पार्टीहरूको गतिविधिमा भाग लिनु हुन्थ्यो ?”
“अहँ, घरमै बस्ने हुन्थ्यो, समाचारहरू प्रिन्टरबाट प्रिन्ट गरेर हेर्ने, समाचारको भविष्यवाणी गर्ने, रङ्ग दिने, व्याख्या र विश्लेषण गर्ने, पृष्ठभूमि र परिणाम उहाँ बताउनु हुन्थ्यो ।”
“म काम गर्दा त मसित वा घरका बुबा–आमासित कुनै छलफल र राजनैतिक कुरा गर्नु भएको मलाई थाहा छैन ।” – मैले थप जिज्ञासा राखेँ ।
“उहाँकै बुबा–आमा र तिमीले बुझ्ने छैनौ, बताउने बेलासम्म त काँचो तरी–तरकारीको रूपमा रहन्छ । पत्रपत्रिकाले त्यसलाई पकाउँछ । अनि सबैले आ–आफ्नो रोजाइअनुसार ग्रहण गर्छन् ।” – उहाँले टुङ्गयाउनुभयो ।
(५)
‘सर’ कहाँ काम गर्दा मैले कहिल्यै मोबाइल चलाइन, न त कसैलाई फोन गरेँ । सर लेख–पढ गर्नुहुँदा अर्कै कोठामा वा तलको कोठामा काम गर्थें । घण्टी बजाएपछि वा बोलाउनु भएपछि म हाजिर हुन्थेँ । ४–५ घण्टा त्यहाँ बस्दा मुस्किलले ४–५ मिनेट कुरा हुन्थ्यो ।
बरोबर तातोपानी, चिया, कफी र बनाउँथेँ । निश्चित पुस्तक र पत्रिका दिन्थेँ ।
७ः३० बजे त्यहाँबाट घर पुग्थेँ र घरको काममा व्यस्त हुन्थेँ । भाइको पढाइलाई मौन भएर हेर्ने गर्थें । बस ।
(६)
श्रीमान्ले मसँग शनिबारको बिहान फुर्सदिलो ढङ्गले भन्नुभयो, “सरसँग २–४ वर्ष काम गरेर के सिक्यौ भनी कसैले सोधेमा तिमी के उत्तर दिन्छौ ?”
मैले तत्काल उत्तर दिएँ– “मैले के सिकेको र अ¥हाएको त्यही काम गर्थे र त्यही मैले पाएको शिक्षा थियो ।”
“लौ त सुनौँ, श्रीमतीजी भन्नु हुँदै चिउँदो दायाँ हातमा अड्याउँदै ठट्याउरो पाराले भन्नु भयो । बिहान समयमै पुग्थेँ, हिजो छरिएका समाचारपत्रहरू मिलाउँथेँ, रेकर्ड राख्नुपर्ने, हेरेर चिह्नअनुसार म फाइलहरूमा नत्थी गर्थेँ । टेबुल, मेच र झ्याल ढोकालाई सुरुमा पानी र फिनाइलले झिजाएको रुमालले पुछ्थेँ र पछि सुकेको रुमालले पुच्थेँ । कोरोनाको समयमा स्यानीटाइजर भएको कपडाले पुछ्थेँ ।”
“त्यही हिसाबले म दराजहरूमा सुख्खा रुमालले पुस्तकहरू झिकेर सफा गर्थेँ । खुला दराजमा पुस्तक र फाइलहरू झिक्दै पुछ्दै चम्काउँथेँ । अर्को कोठामा एक टेबुलमा हिजो रातिसम्मका चिया, कफी र पानी खाएका कप, गिलास र रिकापीहरू साबुनले सफा गरेर एक ठाउँमा घोप्ट्याउँथेँ ।”
“सफाइपछि म सरलाई चिया र खाजाको तयारीमा लाग्थेँ, नयाँ पत्र–पत्रिका मिलाएर राख्थेँ, उहाँले शीर्षक हेरेर पत्र–पत्रिका पढ्न सुरु गर्नुहुन्थ्यो ।”
“बरोबर उहाँ निश्चित किताब ल्याउन भन्नुहुन्थ्यो, म फरकफरक विषयका फरकफरक दराजबाट पुस्तकहरू लिएर उहाँको टेबुलमा राख्थेँ ।”
श्रीमान् मुसुमुसु हाँस्दै सुन्दै हुनुहुन्थ्यो ।
Leave a Reply