भर्खरै :

नगर प्रमुख प्रजापति र बाग्लुङको जामिनी नपाका प्रमुख नरबहादुर पुनबिच भेट

नगर प्रमुख प्रजापति र बाग्लुङको जामिनी नपाका प्रमुख नरबहादुर पुनबिच भेट

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बाग्लुङ जिल्लाको जामिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनबिच शुक्रबार भनपा सभाकक्षमा भेटघाट भयो ।
भेटमा दुई नगर प्रमुखबिच शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, कृषि र विकास निर्माणको विषयमा अनुभव आदानप्रदान भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख काम गरिरहेको बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिब जनताका छोराछोरीलाई उच्च शिक्षामा छात्रवृत्ति, शैक्षिक ऋणको व्यवस्थाका साथै ख्वप अस्पतालमार्फत सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
विकेन्द्रीकरण र स्वायत्तताको राम्रोसँग कार्यान्वयन भएको भए सङ्घीयता आवश्यक नरहने नेमकिपाको विचार रहेको प्रस्ट पार्दै नगर प्रमुख प्रजापतिले सङ्घीयतालाई राम्रोसँग कार्यान्वयन गर्ने नगरपालिकाको रूपमा भक्तपुर नपाले काम गर्दै आएको बताउनुभयो ।
विदेशमा बस्नेहरूलाई मताधिकारको व्यवस्थाले भोलि निर्वाचन क्षेत्रको समेत व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उहाँले सरकारले महँगो निर्वाचन खर्च व्यहोर्न नसक्ने र देश विदेशीको उपनिवेश हुने खतरा रहेको बताउनुभयो ।
एमसीसी र नागरिकता विधेयकको विरोध गरेर पनि राष्ट्रिय जनमोर्चा गठबन्धन सरकारको समर्थनमा रहेकोमा प्रमुख प्रजापतिले आश्चर्य व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित जामिनी नपाका प्रमुख नरबहादुर पुनले जामिनी नपा आर्थिकरूपले पछाडि परेको, विभिन्न सङ्घ संस्थाहरूलाई अनुदान रोक्न नसकेको, विकास निर्माणमा भौगोलिक अवस्थाले समस्या भएको जानकारी दिँदै आफूहरू भक्तपुर नपाले गरेको कामबाट केही सिक्न चाहेको बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश इन्चार्ज कृष्ण अधिकारी, सीटीईभीटी पाठ्यक्रम अधिकृत हरि पौडेल, प्रधानमन्त्री कार्यालयका योजना अधिकृत माधव पौडेललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *