भर्खरै :

सामुदायिक कुकुरहरूको दुईदिने निःशुल्क बन्ध्याकरण शिविर

सामुदायिक कुकुरहरूको दुईदिने निःशुल्क बन्ध्याकरण शिविर

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, ललितपुरको प्राविधिक सहयोगमा रेबिज रोग नियन्त्रणका लागि दुईदिने सामुदायिक कुकुरहरूको निःशुल्क बन्ध्याकरण शिविर कार्यक्रम वडा नं. ३ का वडाध्यक्ष एवम् भक्तपुर नपा कृषि समितिका संयोजक राजकृष्ण गोराको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमबिच शुभारम्भ भयो ।
प्रमुख अतिथि गोराले सामुदायिक कुकुरहरूको वृद्धिले रेबिज रोगलगायत अन्य विभिन्न समस्याहरू देखापरेको र यो बन्ध्याकरण कार्यक्रमले कुकुरहरूको सङ्ख्या वृद्धिमा न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा अतिथि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरको प्रमुख डा. रामप्रकाश प्रधानले रेबिज रोग र यस रोगलाई नियन्त्रण गर्न ती नै तहको सरकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउनुका साथै रेबिज रोगलाई नियन्त्रण गर्न भविष्यमा स्थानीय सरकारबाट कार्यक्रम तर्जुमा र प्रभावकारी कार्यान्वयनको बारेमा प्रस्ट पार्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले आगामी वर्षहरूमा पशु सेवा विकाससम्बन्धी कार्यक्रमको लागि विज्ञहरूसँग समन्वय र सहकार्य गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिने विचार राख्दै कुकुर बन्ध्याकरण कार्यक्रममा संलग्न हुने प्राविधिक टोलीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा श्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवाल र भक्तपुर पशु सेवा कार्यालयका पशु सेवा प्राविधिक पार्वती योन्जनले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *