भर्खरै :

चीनले सबै पूर्वसोभियत गणतन्त्रहरूको सार्वभौम सत्ताको सम्मान गर्छ

खार्तूम, २४ अप्रिल (सिन्ह्वा) । फ्रान्सका लागि चिनियाँ राजदूतले पूर्व सोभियत राष्ट्रबारे राखेको भनाइले युरोपमा ती देशको सार्वभौमिकतामाथि प्रश्न उठेपछि चीनले सबै पूर्व सोभियत राष्ट्रलाई ‘सार्वभौम राष्ट्रको हैसियत’ को सम्मान गरेको बताएको छ ।
“सोभियत सङ्घको विघटनपछि सहभागी गणतन्त्रको सार्वभौम राज्यको हैसियतलाई चीनले सम्मान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सञ्चारकर्मीसँग भन्नुभयो । फ्रान्सका लागि चीनका राजदूत लु शायेले सोभियत सङ्घको विघटनपछि उदाएका देशहरूको ‘अन्तर्राष्ट्रिय कानुनअन्तर्गत प्रभावकारी हैसियत नभएको र सार्वभौम राष्ट्रका रूपमा उनीहरूको हैसियत पुष्टि गर्ने अन्तर्राष्ट्रिय सम्झौता नभएको’ बताएपछि यो भनाइ विवादमा तानिएको हो ।
“चीनले सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान गर्दछ र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तलाई समर्थन गर्दछ,” माओले सोमबार भन्नुभयो ।
उहाँले भन्नुभयो, “सोभियत सङ्घको पतनपछि चीन सम्बन्धित देशसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देशमध्ये एक थियो ।” युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले उक्त टिप्पणीलाई ‘अस्वीकार्य’ भन्दै एक ट्वीटमा भन्नुभएको छ, “ईयूले केवल यो मान्न सक्छ कि यी घोषणाहरूले चीनको आधिकारिक नीतिको प्रतिनिधित्व गर्दैन ।”
पेइचिङले सोमबार लुको टिप्पणीबाट आफूलाई अलग गरेको छ र युक्रेनमा रूसको युद्धको बारेमा आफ्नो दावी गरिएको तटस्थ अडानको पनि बचाउ गरेको छ । “कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनले द्विपक्षीय मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्न पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई सदैव पालना गर्दै आएको छ,” माओले भन्नुभयो ।
“केही सञ्चारमाध्यमले युक्रेनी मुद्दामा चीनको धारणाको गलत व्याख्या गरेका छन् र चीन र सम्बन्धित देशबीचको सम्बन्धमा कलहको बीजारोपण गरिरहेका छन्,” उहाँले भन्नुभयो । “हामी यस विषयमा सतर्क रहनेछौँ,” उहाँले थप्नुभयो । गत हप्ता लुको टिप्पणीले युरोपभरि आक्रोशको लहर फैलाएको थियो, जसका कारण ईयूका तीन बाल्टिक देशहरूले सोमबार चीनका राजदूतहरूलाई बोलाएर उक्त टिप्पणीबारे स्पष्टीकरण मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *