जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
वि.सं. २०७९ सालको बिस्का जात्रा सामान्य घटनाबाहेक सभ्य र व्यवस्थितरूपले नै सम्पन्न भएको मान्नुपर्छ । विगत वर्षहरूमा जस्तो धन जनको क्षति व्यहोर्नुपरेन । यसका लागि प्रयासरत भक्तपुर नगरपालिका, जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, गुठी संस्थानलगायत सम्बन्धित सम्पूर्ण चेतनशील जनसमुदाय धन्यवादका पात्र हुन् ।
बिस्का जात्रासम्बन्धी विगतका प्राविधिक र सैद्धान्तिक कमजोरीहरू यसपालिको जात्रामा देखिएन । यो सराहनीय छ र यसलाई आगामी वर्षको लागि पनि निरन्तरता दिने प्रयास गर्नु आवश्यक छ । जुनसुकै कार्य सम्पन्न भइसकेपछि त्यसको मूल्याङ्कन गर्ने कुरामा हामी पछाडि नै छौँ । बिस्का जात्राअगाडि यसलाई व्यवस्थित, सभ्य र शान्तिपूर्ण बनाउन जुन प्रकारबाट चिन्तन, मनन र प्रयासका लागि सभा तथा बैठकहरूको आयोजना हुन्छ जात्रापछि त्यसबारेमा सिंहावलोकन र समीक्षा गर्न त्यति तदारुकता र चासो कम भएको महसुस हुन्छ । यसले गर्दा यस वर्ष शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जात्राले अर्को वर्ष निरन्तरता नपाउन सक्छ ।
यसपालिको जात्राको कुरा गर्दा रथमा रहने भैरव नाइके (भैल नायः) हरूले देखाएको साहस, धैर्यता र उत्साहलाई उच्च सम्मान गर्न कन्जुस्याइँ गर्नुहुँदैन । पक्कै पनि उहाँहरू जस्तै अन्य व्यक्ति समूह पनि होलान् । सम्बन्धित निकायले यकिन गरी सम्मान पुरस्कारको व्यवस्था गर्नुपर्दछ । भैरवनाथको रथ (भैल खः) मर्मत र निर्माणमा जुटेका सिद्धहस्त निपुण शिल्पकारहरूको भूमिका पनि सराहना योग्य छ । उहाँहरूकै लगन र परिश्रमले जात्राको सुरुदेखि अन्त्यसम्म रथ बिग्रिएको देखिएन । जात्रामा धनजनको क्षति हुनबाट जोगाउन यसले पनि महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।
यस वर्षको जात्रामा पनि स्थानीय निकाय, प्रशासन, सुरक्षाकर्मी, स्वयम्सेवी र जात्रासँग सम्बन्धित सम्पूर्णको प्रयास भए पनि हामी भक्तपुरवासीहरू खासगरी दुई कुरामा चिन्तित थियौँ । १) विगतमा जस्तै इँटा ढुङ्गा हानाहान २) हाम्रा पुर्खाका धरोहर ऐतिहासिक मठ, मन्दिर, पाटी, पौवाको क्षति । यी दुवै कुरा न्यूनरूपमा मात्र देखिए । यसलाई हामीले सकारात्मकरूपमै मूल्याङ्कन गर्नुपर्छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएका भक्तपुरका अधिकांश कलाकृति, मठ, मन्दिरहरूको पुनःनिर्माणमा भक्तपुर नगरपालिकाको ऐतिहासिक र देशभक्तिपूर्ण निर्णयले कुनै दातृ संस्था, विदेशीको आर्थिक सहयोगविना करिब ९९ प्रतिशत पुनःनिर्माण कार्य सम्पन्न भइसकेको छ । बिस्का जात्रामा तानिने भैरवनाथको रथ (भैल खः) को कारणले यिनै पुनःनिर्माण भएका मन्दिर, पाटी, पौवामा पुनः क्षति पुग्न जाने कुरामा बढी चिन्तित थियौँ ।
प्रत्येक वर्ष भक्तपुरमा मनाइने चाडपर्व र बिस्का जात्रा विद्युतीय सञ्चारमाध्यमको विकासले गर्दा विश्वभरिका दर्शकहरूको चासोको विषय बनेको हुन्छ । यसको महत्वलाई जोगाइराख्नु भक्तपुरको मात्र नभएर राष्ट्रकै इज्जत र धरोहरको रूपमा लिनुपर्दछ । यसपालिको बिस्का जात्रामा पनि केही उच्छृङखल, असामाजिक तत्वहरूका कारण चैत २७ गते तचपालमा सामान्य इँटा हानाहान भयो भने वैशाख ५ गते वंशगोपालको पाटीमा सामान्य क्षति पुग्यो । भक्तपुरको जात्रालाई गिज्याउने जमातलाई खुराक पुगिहाल्यो !
जुनसुकै जात्रा पर्वहरू पौराणिक मूल्य र मान्यतामा आधारित भएर आजसम्म सञ्चालन भइरहेका छन् । काठमाडौँको सेतो मच्छिन्द्रनाथ र पाटनको रातो मच्छिन्द्रनाथको जात्रा पनि यही पौराणिक लोककथा वा किंवदन्तीका आधारमा सञ्चालन भइरहेको छ । यी जात्रा सञ्चालनका लागि पुर्खाहरूले अलगअलग आचारसंहिताद्वारा सामाजिक अनुशासन र मूल्यमान्यताका आधारमा सञ्चालन गर्दै आइरहेका छन् । यसभित्र जात्रामा अनर्थ भएमा देशमा अनिष्ट हुनेदेखि ठूलाठूला दुर्घटनाहरूको डर त्रास देखाएको अनुमान गर्न सकिन्छ । त्यस्तै बिस्का जात्राको रथलाई जात्रा गर्ने वा रथ लैजाने सीमाङ्कन गर्न तचपालको भीमसेन मन्दिर नघाएर माथितिर लैजाँदा भैरवनाथको दृष्टि र दत्तात्रयको दृष्टि एक आपसमा जुधेको खण्डमा देशमा अशान्ति हुने किंवदन्ती सुन्न पाइन्छ । सत्य असत्य आफ्नो ठाउँमा होला । यस भनाइले रथको सिमाङ्कनलाई लक्षित गरेको अनुमान गर्न सकिन्छ ।
आगामी वर्षको बिस्का जात्रामा खासगरी रथ तान्ने जात्रा अझ मर्यादित र शान्त बनाउन भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी नेपालको ७५३ वटा नगरपालिकालाई मार्गनिर्देशन गरेजस्तै नगरमा बस्ने नागरिकहरूले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने देखिन्छ । जुन आचारसंहितामा विशेषगरी नगरको कला र संस्कृति संरक्षणदेखि चाडपर्व र जात्राहरूमा पालन गर्नुपर्ने अनुशासनका कुराहरू उल्लेख गरी ती कुराहरूको बर्खिलाफ हुने गरी अनुशासनहीन, असामाजिक र कला संस्कृतिमा क्षति पु¥याउने क्रियाकलापमा दोषी देखिएका या ठहरिएका व्यक्तिहरूको सम्बन्धित परिवारदेखि व्यक्तिलाई प्रदान गरिने कानुनी सिफारिसहरूमा रोक लगाउने व्यवस्था गरिनुपर्दछ । अनि मात्र यस्ता अवाञ्छित क्रियाकलाप गर्नबाट व्यक्ति र परिवार सचेत र सर्तक रहनेछन् ।
(लेखक सेवानिवृत्त शिक्षक हुनुहुन्छ ।)
Leave a Reply