भर्खरै :

अर्थतन्त्रभित्र घुसेको विकृतिले देशको अर्थतन्त्र कमजोर

राजनीति राज्य सञ्चालनको मूल आधार हो । शक्तिमा आफू पुग्न या सत्तामा आफू उक्लिन अर्काेलाई उठ्नै नदिने या उठाउन खोजे अनेक छलछाम गरेर, खुट्टा तानेर पछार्ने प्रवृत्ति शासक र ठूला दलका नेताहरूमा देखिएको छ । यसरी उचाल्ने र पछार्ने काममा शासकहरूले छलकपट, धोका, षड्यन्त्र, जालसाजी, प्रपञ्च, फोहरी महत्वाकाङ्क्षा, किनबेच, हत्या, हिंसाजस्ता अनेक बाटो लिएका छन् । यो पुँजीवादी बन्दोबस्तमा जात–जाति र वर्ग वर्गबिचको शोषण–उत्पीडन, उँचोनीच व्यवहार गर्न तिनीहरू चुक्दैनन् । जातीय विभेद, अन्धविश्वास, कुसंस्कार, महिला र पुरुषबिचको भेद, सम्पन्नता र विपन्नताको भेद अझै हटेको छैन ।
राज्य सञ्चालनको अर्काे बलियो आधार अर्थतन्त्र हो । अर्थतन्त्रको अग्रगति र अधोगतिले देशको विकास निर्धारण गरेको हुन्छ । अर्थतन्त्रभित्र घुसेको विकृतिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा देशको सिङ्गो अर्थतन्त्रलाई कमजोर बनाएको हुन्छ । शासकहरूले आर्थिक विषमता निम्त्याउँदै छन् । आर्थिक विषमताले ग्रस्त समाजमा कोही अति धनी र कोही अति गरीब हुन्छन् । यसले गर्दा आर्थिक न्यायको अभाव हुन्छ, निम्नवर्गका मानिसमाथि उच्चवर्गका मानिसको शोषण–दोहनलाई मलजल गरिरहेको हुन्छ । राज्य व्यवस्थाअन्तर्गत प्रशासनिक यन्त्रहरू पनि परिचालित हुन्छन् । तर, ती यन्त्रहरू सबै समयमा सबै क्षणमा ठीकठीक ढङ्गले सञ्चालन हुँदैनन् । असमानता, पक्षपात, दुराग्रह, स्वेच्छाचारी, ढिलासुस्ती, घुस–नजराना, चाकरीचुक्ली, नातावाद, कृपावाद, कमिसनखोर, भ्रष्टाचारी आदि विकृतिले प्रशासनिक यन्त्रलाई कुँजो र अपाङ्ग पारेको हुन्छ । यो प्रशासनिक विसङ्गतिको दारुण तस्बिर हो ।
सामन्त, जमिनदार, शोषक, प्रतिक्रियावादीहरू, जनजातिको कुरा उठाएर साम्प्रदायिक भावना फैलाएर जनता जनता जुधाएर धर्म र संस्कृतिको नाउँमा फुटाउने नेता तथा कार्यकर्ताहरूको कारण पनि समाजमा धार्मिक विसङ्गति र सांस्कृतिक बितण्डा भएका हुन् । यसले चालै नपाइकन राष्ट्रिय र मौलिक संस्कृतिलाई क्षतविक्षत पारिरहेको हुन्छ । मानवीय कमजोरी, दुर्वलता, दोष र अकर्मण्यताले पनि सिङ्गो समाजलाई अधोगतितर्फ धकेलिरहेको हुन्छ । समाजमा देखिएका यस्ता यावत समस्या पुँजीवादी व्यवस्थामा भइरहेको छ । यस्ता विसङ्गतिका सबै पक्षलाई समाज या जनताको अगाडि छ्यास्नुपर्छ । यस्तो काम गर्न देश र जनताप्रति समर्पित नेता तथा कार्यकर्ताहरू अघि बढ्नुपर्छ । आ–आफ्नो दायित्व इमानदारीपूर्वक गर्ने कार्यकर्ताहरू यस्ता कार्य गर्न अग्रसर हुन्छन् । पद र पैसालाई प्राथमिकतामा राखेर राजनीति गर्ने दलका नेता तथा कार्यकर्ताले विसङ्गति हटाउँदैनन् बरु निम्त्याउँछन् ।
देशमा आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक विकृतिमात्र होइन राजनीतिमा विकृति पनि देखिएको छ । स्वच्छ राजनीति नभएकै कारण नेपाली जनताको शासकहरूप्रति विश्वास गुम्दै गएको हो । चितवन र तनहुँमा अहिले भएको उपनिर्वाचनले यो कुरा थप पुष्टि गरेको छ । वैशाख १२ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा ‘के कारणले ठूला दलप्रति वितृष्णा देखियो ? मनन गर्नुपर्ने बेला भयो’ र ‘उपनिर्वाचनको मतगणना हेर्दा जनमतमा वितृष्णाको बिम्ब देखिन्छ’ भन्ने शीर्षकका समाचारहरू यसका दृष्टान्त हुन् । यसकारण, देशका सबै दलले स्वच्छ राजनीति इमानदारीपूर्वक गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *