सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
शासक दलहरूप्रति जनताको असन्तोष र अविश्वास बढेको यथार्थ हो । शासक दलहरूले दलको सिद्धान्त र विचार तथा घोषणापत्रअनुसार काम नगरेको हुँदा जनतामा उनीहरूप्रति अविश्वास बढ्नु स्वाभाविक हो । शासक र ठूला दलका नेताहरूले सिद्धान्त र विचारको राजनीति गरेनन्† आफ्ना कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थकहरूलाई सुसूचित पारेनन् । शासक दलका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू सिद्धान्तनिष्ठ छैनन् भने सर्वसाधारण जनताको के कुरा ? त्यही कारण प्रत्येक पटकको निर्वाचनमा शासक र ठूला दलहरूको
मत परिणाममा उथलपुथल हुन्छ । एक समय माओवादी केन्द्र देशको ठूलो दल बन्यो । त्यही दल अर्को निर्वाचनमा तेस्रो दल बन्यो । एमाले पनि ठूलै दल बनेको थियो । तर, त्यो दल पनि पछि दोस्रो दल बन्यो । यसरी प्राप्त मतमा उथलपुथल हुनुको कारण ती दलका नेताहरूले सिद्धान्त र विचारको राजनीति नगर्नु नै हो† हचुवा राजनीति गर्नु हो । दलका कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थकहरूलाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्न नसक्नु नै हो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले उपनिर्वाचनको मतको परिणाम देखेर माओवादी सम्मिलित नेकासमेतको गठबन्धनलाई जनताले नरूचाएको टिप्पणी गरे । प्रतिपक्षी एमालेलाई पनि अपेक्षाकृत जनमत प्राप्त नभएको उनको दाबी
हो । ठूला पार्टी नेका, एमाले र माओवादीप्रति जनताको वितृष्णा किन पैदा भयो ? दल नयाँ होस् या पुरानो देशलाई मार्ग निर्देश दिन सिद्धान्तको महत्वपूर्ण स्थान हुन्छ । सिद्धान्त नभएको दलले देशलाई दिशानिर्देश गर्न सक्दैन । ठूला दलहरूप्रति जनताको अविश्वासले देश, काल, परिस्थितिमा कुनै नयाँ दलका उम्मेदवारले बढी मत प्राप्त गर्नु या विजय हुनु अन्यथा होइन । समय अन्तरालमा नयाँ दलले पनि दलका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूलाई सिद्धान्तनिष्ठ बनाएनन्, सङ्गठित र सचेत गरेनन् भने कुन बेला कुन दलको स्थिति के हुन्छ भन्न सकिँदैन । शासक दलका नेता र मन्त्रीहरू पद र पैसामा भुलेजस्तै नयाँ दलका सांसद पनि मन्त्री बन्नको निम्ति पैसा खोजेको प्रसङ्ग सेलाएको छैन ।
शासक दलका नेताहरू देश र जनताप्रति समर्पित नभएकोमा शङ्का छैन । तिनीहरू भागबन्डामा भुले, कमिसनको चक्करमा फसे, सरकारमा सामेल हुने नाउँमा सिद्धान्त र विचार पनि त्यागे । त्यसको परिणाम शासक र ठूला दलहरूले भोग्दै छन्, अनुभव गर्दै छन्, सिंहावलोकन गर्नुपर्ने विचार व्यक्त गर्न थालेका छन् । पत्रपत्रिकामा लेख्न थाले, ‘ठूला दलको न अघिल्लो मत जोगियो, न त गठबन्धनको भोट ट्रान्सफर भयो, स्थापित दलहरूलाई उपनिर्वाचनको झटारो’, ‘काङ्ग्रेस र एमाले आफ्नै मत जोगाउन असफल’ आदि । यसरी हरेक पटकको निर्वाचनमा ठूला र शासक दलहरूको व्यापक मत अन्तर भए पनि तिनीहरू अझै बिउँझिएका छैनन् । पद र पैसाको निम्ति राजनीतिमै अल्झेर तिनीहरू लागिरहे । देश विकास नहुनु र परनिर्भर रहनुको कारण पनि ती शासकहरू गैरजिम्मेवार हुनु हो ।
Leave a Reply