भर्खरै :

सियोको प्वाल

नीरज
स्वार्थले तेज गुमाएको आँखाले
सियोको प्वाल देख्न सक्दैन कहिल्यै ।
आँखाले तेज गुमायो भने
हातमा जतिसुकै शक्ति भए पनि
देख्न सक्दैन सियोको प्वाल ।
सत्ताको घमण्डले
उध्रने रहेछ विचारको झण्डा
अनि लाटोकोसेराहरुले
सिलाउन सक्दैनन् उध्रिएको विचारको झण्डा
किनभने लाटोकोसेराहरुले
सियोको प्वाल देख्न सक्दैनन् ।
आज एक हुल लाटोकोसेरा
आफ्नो उध्रिएको विचार नसकेर सिलाउन
चिच्याइरहेका छन्
‘यो झण्डा पहिलेदेखि नै यस्तै उध्रिएको छ ।’
सिलाउन नसकेर आफ्नो भ्वाङ परेको विचार
उनीहरु आज कराइरहेका छन्
यो ‘नयाँ डिजाइनको विचार’ हो ।
विचारको आकाशमा भ्वाङ परे
सिद्धान्तको सियोको प्वाल फेला पार्न सक्दैन
सियोको प्वाल नदेखे
विचारको आकाश अझ उध्रन थाल्ने रहेछ ।
लाटोकोसेराहरु कहिले लोकतन्त्रको गीत गाउँछन्
कहिले जनवादको गीत गाउँछन्
कहिले बहुदलको गीत गाउँछन्
जुनसुकै वादको गीत गाउँदै हिंडे पनि
उनीहरुको वरपर
निरंकुशता ह्वास्स गनाइरहेको छ ।
नेपालभाषाबाट नेपाली भाषामा अनुवाद गरिएको कविता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *