कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
पुँजीवादी सरकार भ्रष्टाचारको आहाल हो भन्दा सरकारमा गएर पनि बेदागी र इमानदार रहेकाहरूलाई केही अप्ठ्यारो लाग्ला । तर, संसारकै पुँजीवादी सरकारहरूको अवस्थाले यही पुष्टि भइरहेको छ । भ्रष्टाचारको विरोध र सदाचारको वकालत गरी सरकारमा पुगेकाहरूसमेत केही समयपछि नै भ्रष्टाचारको दलदलमा फसेका छन् । नेपालमा पूर्वपञ्च, राजावादीहरू र नेपाली काङ्ग्रेसजस्तो पुँजीवादी पार्टीका नेताहरूले त भ्रष्टाचार गरी गरी देशको राज्यकोष लुटेका थिए नै आफूलाई कम्युनिस्ट र वामपन्थी दाबी गरेर नथाक्नेहरू पनि भ्रष्टाचारको सङ्क्रमणबाट मुक्त हुन सकेका छैनन् । नेपालमा पहिलो ‘कम्युनिस्ट सरकार’ दाबी गरिएको एमालेको नौ महिने सरकारका आपूर्तिमन्त्री सीपी मैनाली, कृषिमन्त्री राधाकृष्ण मैनालीहरूबाट सुरु भएको भ्रष्टाचार काण्डको सिलसिलामा पछि एमाले, माओवादीलगायत विभिन्न वामपन्थी घटकका मन्त्री बनेकाहरू मुछिन्दै गएका छन् । कोही कोही त भ्रष्टाचारमा हदैसम्म गन्हाएका छन् । पहिले एमालेका वामदेव गौतम, माधव नेपाल, केपी ओली, राजेन्द्र पाण्डे, रविन्द्र अधिकारी, गोकुल वास्कोटा, महेश बस्नेत, वसन्त नेम्वाङलगायतको नाम भ्रष्टाचार काण्डमा आएको थियो भने पछि माओवादीका अध्यक्ष प्रचण्डलगायत जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, बिना मगरलगायतको नाम भ्रष्टाचारमा आएका छन् ।
नेपालमा मात्र होइन भारत, पाकिस्तान, श्रीलङ्का, दक्षिण अफिकालगायत अफ्रिकी देशहरू, युरोपेली देशहरू र ल्याटिन अमेरिकी देशहरूमा निर्वाचनमार्फत पुँजीवादी सरकारमा गएका कम्युनिस्ट, वामपन्थी र प्रगतिशील दाबी गर्ने पार्टीका नेताहरू भ्रष्टाचारमा फसेका छन् । पुँजीवादी व्यवस्थामा निर्वाचन जित्न, सरकारमा जान र सरकारमा टिकिरहन रकम चाहिने र रकम जुटाउन भ्रष्टाचार गर्ने गरेको थाहा हुन्छ । पटकपटक सरकारमा जाने नेताहरूले पार्टीको निम्ति भन्दै भ्रष्टाचार गरी आफू, आफ्नो परिवार र नातागोटाको नाममा अकुत सम्पति थुपार्ने गर्छन् । स्वदेशी बैङ्कहरूमा हिसाब खोज्ने हुनाले स्वीस बैङ्कजस्ता हिसाब गोप्य रहने बैङ्कहरूमा रकम जम्मा गर्छन् । त्यस्तो रकमलाई फेरि प्रत्यक्ष विदेशी लगानीको नाममा स्वदेश ल्याएर सम्पति शुद्धिकरण गर्छन् । यति गरिसक्दा उनीहरूले आफ्नो सम्पूर्ण आदर्श, सिद्धान्त र नैतिकतालाई खहरेमा बगाइसकेका हुन्छन् । पुँजीवादी सरकारका अधिकांश मन्त्रीहरू भ्रष्टाचार, कमिशनखोरी, पक्षपातका कारण गन्हाएका हुन्छन् । त्यसैले पुँजीवादी सरकार भ्रष्टाचारको आहाल हो भन्नुमा कुनै द्विविधा नराख्दा हुन्छ ।
Leave a Reply