भर्खरै :

संरा अमेरिकामा मजदुर आन्दोलन र मई दिवस

संरा अमेरिकामा मजदुर आन्दोलन र मई दिवस

पहिलो मई १८८६ को दिन थियो । देशभर हड्ताल सुरु भयो । ८ घण्टाको कामको दिन सारा मजदुर वर्गको माग थियो । हजारौँ हजार मजदुरहरू हड्तालमा भाग लिँदै थिए । शिकागो सहरका मजदुर वर्ग वर्गसङ्घर्षको मोहडामा थियो । ४० हजार मजदुहरूले हड्तालमा भाग लिए । शिकागोको वातावरण डरलाग्दो थियो । मजदुर वर्गमा क्रान्तिकारी जोश भरिएको थियो । पुँजीपति वर्ग र त्यसका सिपाही, पुलिस, डाँकु, गुण्डा र जासुस पिछलग्गुहरू हिंस्रक पशुहरूजस्तै निहुँ खोज्दै थिए । हड्ताल दोस्रो दिन पनि चल्यो । हड्ताली मजदुहरूको सङ्ख्या बढ्दै गयो । एक दुई दिनभित्रै हड्ताली मजदुरहरूको सङ्ख्या ८० हजार पुग्यो । पहिलो र दोस्रो मईको हड्ताल शान्तिपूर्ण ढङ्गले टुङ्गियो ।
३ मईको दिन पूर्ण हड्ताल चालू रह्यो । हरेक मजदुरको मुखमा ‘८ घण्टाको कामको दिन’ थियो । पुलिसले निःशस्त्र हड्ताली मजदुरहरूमाथि गोली चलायो । यो पुँजीपति वर्गको पहिलेदेखिको कालो योजना थियो । पुलिसको गोलीले ५ जना मजदुरहरू मारिए र ५० जवान मजदुरहरू गम्भीररूपले घाइते भए । त्यस घटनाले शिकागोको स्थिति झन् चर्किन गयो । मजदुर वर्गमा वर्ग शत्रुको विरोधमा बदलाको भावना जाग्नु स्वाभाविक थियो ।
४ मईको दिन मजदुरहरूले गोलीकाण्डको विरोधमा एक विरोधसभा आयोजना गरे । विरोधसभा एउटा ठूलो जनसभा थियो । सभामा पुलिसको एक ठूलो दलले पहरा दिइरहेको थियो । त्यसैबेला पुलिसकै भड्काउने दलालले पुलिस दलमाथि एक बम फ्याँकिदियो । त्यस बमले ७ जवान पुलिसहरू मारिए । प्रतिक्रियावादी वर्ग निहुँ खोज्दै थियो । निहुँ पाइहाल्यो । निहुँ पाउना साथै पुलिसले मजदुर र जनताका सभामाथि दनादन गोली हान्न थाल्यो । त्यस गोलीकाण्डमा धेरै मजदुहरू मारिए र अनगिन्ती मानिसहरू घाइते भए । प्रशासकहरूले हड्ताल र मजदुर आन्दोलनका नेताहरूलाई पक्राउ गरे । पुलिसमाथि बम फ्याँक्ने पुँजीपति वर्गकै दलाल थियो । त्यो पुँजीपति वर्ग र सरकारले नै गर्न दिएको थियो । त्यो मजदुर आन्दोलन दबाउने एक निहुँ थापेको मात्र थियो ।
सरकारले त्यस बम काण्डको आरोप मजदुर नेताहरूलाई दियो र तिनीहरूको विरोधमा मुद्दा चलायो । त्यो सरकारको आफ्नो अपराध लुकाउने एक छलमात्रै थियो । सर्जमिन भयो । जासुस र भड्काउने काम गर्न पालेका भतुवाहरू सर्जमिनमा सरकारी साक्षी थिए । ती साक्षी सबै पैसाको भरमा झूट्टा बयान दिन्थे । त्यो त सरकारले आफ्नो पक्ष बलियो पार्न र मजदुर आन्दोलन दबाउन अदालती अङ्ग मात्रै पूरा गरेको थियो ।
मजदुर नेताहरू अदालतमा उभ्याइए । आफ्नो बयानमा एक अभियुक्त मजदुर नेताले भने– ‘तिमीहरू मलाई फाँसी दिएर दुःखकष्टमा बाँचिरहेका लाखौँ–करोडौँ थिचिएका कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरूको धारणा छ भने हामीलाई झुन्ड्याऊ तर तिमीहरूले थाहा पाउनुपर्छ कि तिमीहरूले एक टुक्रो फिलिंगोलाई मात्र कुल्चँदै छौँ, जसको ज्वाला तिम्रो पछाडि जहाँतहाँ दनदन दन्किरहेछ । त्यो ज्वाला जनताको बीचबाट दन्किरहेको छ र त्यसलाई निभाउने तिमीहरूको तागत छैन ।…..’
पुँजीवादी न्यायालयले हड्ताली मजदुर नेताहरूमध्ये ४ जवानलाई फाँसी दिने फैसला ग¥यो । वास्तवमा त्यो फैसलाले न्यायको हाँसो उडाएको थियो । न्यायको सबभन्दा तल्लो सिद्धान्तकै हत्या थियो । जनताको शत्रु पुँजीपति वर्गले ४ जवान हड्ताली मजदुर नेताहरूलाई फाँसी दिएरै छोड्यो । तर, न्यायालयमा हड्ताली मजदुरहरूले ठूलो वीरता देखाए । तिनीहरू पुँजीवादी व्यवस्थाको अगाडि अलिकति पनि झुकेनन् । तिनीहरू पहिलेभन्दा जिउँदो र जोशिला देखिन्थे । तिनीहरूमा पश्चाताप र दुःखकोसट्टा वर्ग शत्रुप्रति घृणाको भावना भरिएको थियो । तिनीहरूको वीरताले गर्दा सारा देशका प्रगतिशील जनताको सहानुभूति हड्ताली मजदुरले पाए ।
४ जवान हड्ताली मजदुर नेताहरूलाई फाँसी दिएको समाचार बिजुली जस्तै छिटो संसारमा फैलियो । सारा संसारका मजदुर वर्ग रिसले उठे । सारा संसारका मजदुर वर्ग पुँजीपति वर्गसँग बदला लिन सङ्घर्षमा अगाडि बढे । १८८९ मा पेरिसमा संसारका मजदुरहरूका प्रतिनिधिहरूको एक बैठकले १ मईलाई अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने निधो ग¥यो । त्यस अनुसार १ मई १८९० मा यूरोपका सबैजसो देशहरूमा ८ घण्टा कामको दिन माग लिएर प्रदर्शनहरू भए । लण्डनमा पनि मईको पहिलो आइतबारको दिन मजदुर वर्गको प्रदर्शन भएको थियो । त्यसमा ऐंगेल्सले पनि भाग लिनुभयो । प्रदर्शनलाई देखेर उहाँले भन्नुभयो– ‘लण्डनमा यो हाम्रो पहिलो विजय हो ।’ विभिन्न देशका लाखौ मजदुहरूको प्रदर्शन देखेर एगेल्स सान् खुसी हुनुभयो ।
तर त्यस दमनले अमेरिकी सर्वहाराको सङ्घर्ष रोकिएन, न त यो आन्दोलन र बलिदान नै खेर गयो । फाँसी दिएको ७ वर्षपछि सरकार होसमा आयो र अनुभव गयो त्यो फैसलामा ‘न्यायको हत्या’ भएको छ तर समय चुकिसकेको थियो । निर्दोष मानिसहरू झुन्ड्याइ सकिएको थियो । निर्दोष मानिसहरूले सजाय पाए । अपराधीहरूले इनाम पाए । पुँजीवादी व्यवस्थाको मुख्य विशेषता नै त्यही थियो ।
तर सङ्घर्ष र बलिदान खेर गएन । ऐंगेल्सले त्यसलाई अमेरिकी मजदुर वर्गको विकासको वास्तविक थालनी भन्नुभयो । अमेरिकी समाजवादीहरूले व्यापक मजदुर वर्गको सङ्घर्ष र इच्छामा ध्यान दिनुपर्छ र तिनीहरूको एक स्वतन्त्र राजनैतिक पार्टी हुनुपर्दछ भनेर बताउनुभयो । त्यस सङ्घर्षले ८ घण्टाको कामको दिन निश्चित भयो । मजदुर वर्गको त्यो ठूलो विजय थियो । ५० हजार मजदुरहरूले ८ घण्टाको कामको दिनको अधिकार पाए । अरू बाँकी मजदुरहरूको पनि कामको घण्टाहरू छोटिँदै गए ।
त्यसबेलादेखि १ मईलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ । त्यसदिन संसारका हरेक देश र सहरका मजदुहरूले त्यस दिवसलाई हड्ताल, सभा, जुलुस र सङ्घर्ष गरेर मनाउँछन् ।

अमेरिकामा मई दिवस मनाउँदै मजदुरहरू

संरा अमेरिकामा मजदुर आन्दोलनका बाधाहरू
८ घण्टा कामको दिन, बढी ज्याला र अरू सुविधाहरू महजदुरहरूले पाउँदै गएका छन् । तर संरा अमेरिकामा मजदुर आन्दोलनले चर्को रूप लिन सकेन र मजदुर क्रान्तिबाट समाजवादको स्थापना हुन सकेन । किन ? यसबारे अध्ययन गर्नु खाँचो पर्दो कुरा हो ।
संरा अमेरिकाको पुँजीको विकासमा आफ्नै विशेषता थियो । ती विशेषताहरूले मजदुर आन्दोलनमा असर पार्नु स्वाभाविक थियो । माक्र्स र ऐंगेल्सले त्यहाँको ‘बञ्जर जग्गा अथवा आवाद नगरिएका जग्गा नै मजदुर आन्दोलनको मुख्य बाधा’ देख्नुभएको थियो । बेलायतमा मजदुर आन्दोलन दबाउँदा पुँजीपति वर्गले मजदुरहरूलाई नयाँ–नयाँ उपनिवेशहरूमा पठाइन्थ्यो । उपनिवेशका जनताको शोषणबाट आएको केही रकमले बेलायतका मजदुरहरूको ज्याला बढाइ दिन्थ्यो र माथिल्ला मजदुरलाई बढी ज्याला दिएर निस्क्रिय पार्थे । यूरोपमा जग्गाको कमी थियो । तर, अमेरिकाको पश्चिमी भागमा मनग्य नजोतिएको जग्गा बाँकी नै थियो । त्यसकारण १८९० तिर धेरै अमेरिकी सहरहरूको बढी जनसङ्ख्यालाई अमेरिकाको पश्चिमी भागतिर जग्गा आवाद गर्न पठाइयो । १९ औँ शताब्दीमा अमेरिकी मजदुरहरू पश्चिमतिर जान लागे र जग्गा पाएर तिनीहरू किसान बने । त्यसकारण, बीसाँै शताब्दीमा मात्रै संरा अमेरिकामा एक स्थायी मजदुर आन्दोलन सुरु भयो । तर, पनि मजदुर आन्दोलन बलियो हुन सकेन, किनभने मजदुरहरू पश्चिमतिर जग्गा लिन जाँदा कहिलेकाहीँ पूर्वतिर श्रमशक्तिको कमी हुन्थ्यो । श्रमशक्तिको कमीले ज्यालाको भाउ बढ्थ्यो । तर, पुँजीपति वर्गले श्रमशक्तिको कमीलाई मेसिनले पूरा गरेर माथिल्ला मजदुरहरूको ज्यालालाई बढाइ दिए । कहिलेकाहीं त्यो ज्याला युरोपका मजदुरहरूको भन्दा बढी हुन्थ्यो ।
मजदुर आन्दोलनको अर्को बाघा संरा अमेरिकी मजदुर वर्ग बहुजातीय हुनु हो । त्यहाँ पुस्तौंदेखि यूरोपका विभिन्न देशका गोरा मजदुरहरूले बसोबास गरेका छन् । तिनीहरू विभिन्न भाषा बोल्दछन् । त्यस्तै खेती र उद्योगको विकास गर्न अफ्रिकाबाट पहिले हजाराँै अफ्रिकी वा हब्सीहरू अमेरिकामा दासको रूपमा ल्याइएका थिए । अमेरिकी हब्सीहरूलाई अफ्रो अमेरिकी पनि भन्ने गरिन्छ । तिनीहरूको पुस्ता अहिले मजदुरहरूको रूपमा कायमै छन् । त्यस्तै चीन र अरू विभिन्न देशका मजदुरहरू पनि अमेरिकामा छन् । यसप्रकार संरा अमेरिकाको मजदुर वर्ग विभिन्न भाषा, संस्कृति र देशहरूबाट आएका हुनाले तिनीहरूको सोचाइ र रङ्गढङ्गमा पनि भिन्नता हुनु स्वाभाविक कुरा हो । अमेरिकी पुँजीपति वर्ग त्यही विभिन्नताबाट फाइदा उठाई मजदुर वर्गमा फुट ल्याउन सफल भएको थियो ।
पुँजीपति वर्ग एउटा जाति र भाषाको मजदुरहरूलाई अर्को जाति र भाषाका मजदुरहरूको विरोधमा झगडा लगाउँथ्यो । गोरा वा स्थानीय अमेरिकी मजदुरहरूलाई विदेशी वा ‘रङ्गीन छाला’ भएको हब्सी, चिनियाँ र अरू जाति र देशका मजदुरहरूको विरोधमा झगडा लगाउँथ्यो । गोरा मजदुरहरूलाई ‘रङ्गीन छाला’ का मजदुरहरू भन्दा माथिल्ला जातका हुन्छन् भन्ने भावना फैलाएर मजदुर वर्गमा फुट र आपसी भेदभाव बढाउँथ्यो । विदेशी वा प्रवासी मजदुरहरूको वृद्धिले संरा अमेरिकामा श्रमशक्ति बढी हुन्छ, बढी श्रमशक्ति भएपछि अमेरिकी वा गोरा मजदुरहरूको पनि ज्याला घट्छ भनेर पुँजीपति वर्गले अमेरिकी मजदुरहरूलाई भड्काउँथ्यो । आफ्नो ज्याला घट्ला भनिने अमेरिकी मजदुरहरूको डरबाट संरा अमेरिकी पुँजीपति वर्गले फाइदा उठाउँथ्यो ।
अर्कोतिर अमेरिकी पुँजीपति वर्ग प्रवासी वा हब्सी मजदुरहरूलाई कम ज्याला दिएर बढी शोषण पनि गथ्र्याे, माथिल्ला मजदुरहरूलाई ज्याला बढाएर घुस दिन्थ्यो र तिनीहरूलाई अनेक सहुलियत दिएर एक प्रकारको श्रमिक राजा–रजौटा र कुलिन वर्ग तयार गथ्र्याे । त्यसप्रकार मजदुर वर्गमा अनेक जालझेल र भेदभाव ल्याएर अमेरिकी मजदुर आन्दोलनलाई असफल तुल्याइएको थियो ।
संरा अमेरिकामा सबभन्दा पहिलो माक्र्सवादी मजदुर सङ्गठनहरू बनाउनेहरूमा माक्र्सका साथी बेडेमेयर हुनुहुन्थ्यो । १८५० तिर उहाँ अमेरिकामा सङ्गठन गर्न जानुभएको थियो । बेडेमेयरले १८४८ को जर्मनीको क्रान्तिमा भाग लिनुभएको थियो । उहाँ कम्युनिस्ट लिगको सदस्य पनि हुनुहुन्थ्यो । उहाँले अमेरिकामा माकर््सवादी सङ्गठनहरू बनाउन धेरै साथीहरू बनाउनुभएको थियो । उहाँ सफल हुनु भएन । तर, पनि उहाँको मेहनत खेर गएन ।
स्रोतः ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *