लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
सर्वत्र आलोचना खेप्दै आएको सरकारले यसपालि एउटा गतिलो काम गरेको देखियो त्यो हो शैक्षिक सत्र सुरु भएको प्रारम्भिक चरणमै ७७ वटै जिल्लामा पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउनु । यो खबर मात्रैले पनि एउटा सकारात्मक सन्देश प्रवाह ग¥यो ।
त्यसो भए विगतका वर्षहरूमा शैक्षिक सत्रको अन्त हुने अवस्थासम्म पनि पुस्तक पु¥याउन नसक्नाका कारणहरू के के हुन् ? दोषी को को हुन् ? भन्ने प्रश्न उठेको छ । विगतका कमजोरीहरूमाथि निर्ममतापूर्वक मूल्याङ्कन गरिएन भने यस वर्ष समयमै पुस्तक पुग्नुको पनि भविष्यमा मूल्याङ्कन हुनेछैन । त्यसैले यस वर्षको सफल अभ्यासलाई निरन्तरता दिने हो भने विगत वर्षका दोषी वा कमजोरीहरूलाई त्यतिकै छोड्नु हुँदैन ।
कमजोरी व्यक्ति विशेषमात्र नभई नीतिगत त्रुटि पनि हुनसक्छ । त्यसलाई नदोहोरिने गरी व्यवस्था गर्नुपर्छ । व्यक्तिबाट भएको भए त्यस्तालाई कानुनअनुसार कारबाही गर्न हिच्किच्याउनु हुँदैन ।
कुनै बेला जनक शिक्षा सामग्री केन्द्र जहाँ पाठ्यपुस्तक छापिन्छ त्यसले बेलामा पुस्तक नछापेको आरोप लगाई निजीकरण गर्ने प्रपञ्च पनि गरिएको थियो । उद्योग घाटामा गएको निहुँ पारेर निजीकरण गर्ने दाउ पो थियो कि भन्ने विगतमा शङ्का गर्नु अन्यथा हुँदैन ।
जनक शिक्षा सामग्री केन्द्रभित्र केही गडबड छैन भन्ने हैन । त्यहाँभित्रका विकृतिहरू सञ्चारमा आएकै हुन् । विकृतिहरूविरूद्ध आवश्यक कदम चाल्न कसैले कन्जुस्याइँ गर्नुहुँदैन । तर, सरकारी स्वामित्वमा रहेको सम्पत्ति निजीकरण गर्नु कदापि हुँदैन ।
विगतमा भृकुटी कागज कारखाना हुँदा कागजमा देश आत्मनिर्भरको अवस्था रहेको थियो । तर, त्यस्तो कारखाना निजीकरणको नाममा कौडीको भाउमा बेचिँदा देश कागजमा परनिर्भर हुन बाध्य भयो । प्रस्ट भाषामा भन्दा भृकुटी कागज कारखाना भारतलाई बेचियो सस्तोमा । अहिले भारतीय कागज किन्नु परको छ महँगोमा । सस्तो र महँगो मूल्त्न्दा पनि जनक शिक्षाको लागि चाहिने कागज भारतको भरमा रहन बाध्य हुनु सरकारको गलत नीतिको परिणाम हो भन्दा फरक पर्दैन । त्यसैले मुद्रण उद्योगले कार्य कुशलता प्रदर्शन गर्न त्यसको लागि चाहिने कच्चा पदार्थ आपूर्तिको पनि प्रत्याभूति हुनुपर्छ ।
त्यसो त पाठ्यपुस्तक समयमै पुग्नु आफैमा ठूलो विषय होइन । पाठ्यपुस्तकले बोकेको विषयवस्तु, कक्षा कोठामा त्यसको सदुपयोग के कति कसरी हुन्छ त्यो सबभन्दा महत्वपूर्ण हुन्छ । सङ्घीयता लागु भएपछि माध्यमिक तहको जिम्मेवारी स्थानीय तहको भएदेखि विद्यालयको निरीक्षण अनुगमनको पाटो अत्यन्त कमजोर देखिएको छ त्यसैले पाठ्यपुस्तकको सही सदुपयोग भए नभएको हेर्ने निरीक्षण अनुगमनको पाटोलाई पनि सम्बन्धित निकायले ध्यान दिनसके पुस्तकको सार्थक पुष्टि हुनेछ ।
पुस्तकको सदुपयोग गर्ने एउटा महत्वपूर्ण पक्ष विषय शिक्षक हुन् । शिक्षकको अभावको कहालीलाग्दो समाचार हालै प्रकाशमा आएको छ । त्यसैले पुस्तकसँगै जोडिएका धेरै पक्षकहरू छन् जसलाई सरकारले समयमै ध्यान दिनु आवश्यक छ ।
Leave a Reply