भर्खरै :

द्वन्द्व पीडितहरूलाई नगद होइन सीप दिई आत्मनिर्भर बनाइनुपर्छ

द्वन्द्व पीडितहरूलाई नगद होइन सीप दिई आत्मनिर्भर बनाइनुपर्छ

सशस्त्र सङ्घर्षको माध्यमबाट सिङ्गो समाज परिवर्तन गर्ने भनीे १० वर्षसम्म सङ्घर्ष गर्ने मित्रहरूबाट आज यस कार्यक्रममा बारम्बार शान्ति, हिंसाको अन्त्य र अब हिसात्मक घटना नदोहो¥याउने जस्ता प्रतिबद्धताको कुरा सुन्न पायौँ । कुनै बेला शान्तिपूर्ण आन्दोलनमा लागेकाहरूलाई संसद्वादीको आरोप लगाउने मित्रहरू अहिले शान्तिको कुरा गरिरहेका देख्दा समयसँगै साथीहरूको विचारमा निकै परिवर्तन भएको अनुभव भयो । २०६३ सालदेखि अहिलेसम्म १६ वर्षको अवधिमा माओवादीको नेतृत्वमा ४ ओटा सरकार गठन भयो । अहिले पनि त्यतिबेलाका यौनजन्य हिंसा र बलात्कारमा परेका महिलाहरूको लागि राहतको माग भइरहेको छ । यति लामो समयसम्म पीडकहरूलाई कारबाही र सहयोग किन भएन, कसले रोक्यो र अहिले कोसँग कारबाहीको माग भइरहेको छ ?
द्वन्द्वको अन्त्य भएको औपचारिक घोषणा भएको लामो समयपछि द्वन्द्व अवधिका यौन हिंसा र बलात्कारबारे छलफल गर्दै छौँ । प्रस्तुत कार्य योजनाअनुसार अबको तीन वर्षमा द्वन्द्वका बेलाका यौन हिंसा पीडितहरूको समस्या समाधान गर्ने भनिएको छ । १० वर्षको सशस्त्र सङ्घर्षको शान्तिपूर्ण व्यवस्थापनलाई २० वर्ष लगाउने हो भने देशको विकास निर्माणबारे हामीले कहिले सोच्ने ? यसबारे सरकारमा बस्नेहरूले सोच्नुपर्ने हो ।
द्वन्द्वको कुरा भजाएर हामीले कति वर्षसम्म विदेशी एनजीओ÷आइएनजीओलाई दुःख दिइरहने ? हाम्रो समस्या हामी आफैले समाधानको कोसिस गर्ने र हामीले नसकेका काममा मात्रै अरुको सहयोग लिनु राम्रो हुन्छ । यो समयमा द्वन्द्वकालका महिला हिंसा र बलात्कारका घटनाबारे मात्रै छलफल केन्द्रित भयो भने त्यसले न्याय दिन सक्दैन । बितेका १६ वर्षको अवधिमा त्यसबेला भन्दा धेरै महिलाहरू यौन हिंसा र बलात्कारबाट पीडित भए । ती सबैको दुःख र पीडा एउटै हो । यसबारे पनि राज्यले सोच्नु आवश्यक छ ।
यहाँ सशस्त्र द्वन्द्वको मात्रै कुरा उठ्यो । देशमा राजनैतिक परिवर्तका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकाहरूको योगदान त्यो भन्दा धेरै महत्वपूर्ण छ । ती आन्दोलनकारीहरूमध्ये कैयौले जेलनेल भोगे, प्रवास जीवन बिताए भने कतिको अङ्गभङ्ग भए वा मारिए । आजको गणतन्त्र ती सबै वीर महान योद्धाहरूको योगदानको परिणाम हो । सबै कुरा विदेशी गैरसरकारी संस्थाहरूको सल्लाहअनुसार चल्ने हो भने सङ्घ, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्नेहरू ‘बँुख्याचा’ साबित हुनेछन् । यसबारे सबैले गम्भीरतापूर्वक सोच्नु जरुरी छ ।
सरकारले यौनजन्य हिंसा र बलात्कार पीडित तथा अयोग्य लडाकुहरूलाई रु. २ लाखको दरले रकम वितरण गर्ने निर्णय ग¥यो । अयोग्य लडाकुहरूको नाउँमा मात्रै चालू आर्थिक वर्षमा ८० करोड रुपैयाँ वितरण गरिँदै छ । त्यो रकमले ७७ जिल्लाका युवाहरूलाई सीपमूलक तालिम दिन सकिन्छ । लाखौँ युवाहरूले आत्मनिर्भर भएर बाँच्ने अवसर पाउने छन् र विदेश जाने युवाहरूमा कमी आउनेछ । युवाहरू नेपालमै बस्ने वातावरण भएमा देश विकास पथमा अघि बढ्नेछ । महिलाको समस्या लैङ्गिकतासँग मात्रै जोडेर हेर्नु उचित होइन, त्यो वर्गीय समस्या हो । वर्गीय समस्याको समाधान वर्गीय मुक्तिबाट मात्रै सम्भव हुन्छ ।
सारा जनतालाई योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क व्यवस्था र सबै युवाहरूलाई सीप दिन सकेको खण्डमा कसैले पनि १÷२ लाख रूपैयाँको लोभ गर्ने छैन । केही निश्चित समूहको महिलाको लागि भनी राहतको माग गरिरहनुपर्ने छैन ।
आज नेपाली विद्यार्थीहरूले उच्च शिक्षा पढ्न विदेश जाने लहर चल्दै छ । उनीहरू गुणस्तरीय शिक्षाका लागि देशभित्रका कलेजहरूलाई विश्वास गर्न छाड्दै छन् । चालु वर्षको बितेका ९ महिनामा ९० हजारभन्दा बढी विद्यार्थीहरू विदेशमा उच्च शिक्षा अध्ययनको लागि विदेसिनु राम्रो सङ्केत होइन । रोजगारीको वर्षको लाखौँ युवाहरू विदेशिनुले देश युवाविहीन हुँदै छ । त्यसले नेपालको अर्थतन्त्रमा नराम्रो असर पारिरहेको छ ।
प्रदेश र स्थानीय तहमा पठाइने सामाजिकीकरण अनुदान ५० प्रतिशत कम हुने सङ्घीय सरकारले सबै स्थानीय तहलाई पत्राचार गरिसकेको छ । राजस्व कम सङ्कलन भएको सरकारको दावी छ । एक जना माननीयको एक वर्षमा ४० अर्ब सम्पत्ति बढेको र उनी विश्वको धनीको सूची १९६५ बाट १६४७ मा उक्लेको समाचार छ । उनी र उनीजस्ता धनाढ्यहरूले राज्यलाई कति कर तिरे ? त्यो पनि राज्यले सार्वजनिक गर्दा राम्रो हुनेछ  ।
स्मरणीय छ, १ अर्ब ४१ करोड जनसङ्ख्या भएको छिमेकी चीन सारा नागरिकलाई रोजगारी बन्दोबस्त गरी आज विश्वको दोस्रो अर्थतन्त्र भएको देश बन्यो । चीनले सन् २०१२ पछि २०२१ सम्मको अवधिमा ९ करोड ८९ लाख जनतालाई गरिबीको रेखामुनिबाट माथि उठायो । सन् २०२१ मा चीनले गरिबीमुक्त मुलुक घोषणा ग¥यो । संयुक्त राष्ट्र सङ्घले सहश्राब्दी लक्ष्य भनेर सन् २०३० मा गरिबी मुक्त बनाउने घोषणा गरेको थियो तर चीनले १० वर्षअघि नै त्यो लक्ष्य पूरा ग¥यो । त्यो त्यहाँको राजनैतिक नेतृत्वको कारण सम्भव भएको हो ।
राज्य सञ्चालकहरू राम्रो र व्यवस्थित भए देश अगाडि बढ्न समय लाग्दैन । देश आर्थिक रूपमा टाट पल्टिन लाग्दा सरकारले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेतर्फ ध्यान दिइरहेको छैन । आफ्ना कार्यकर्ताहरूलाई विदेशीहरूको सहयोगमा केही रकम बाँड्नेतर्फ सरकारले ध्यान दिइरहेको छ । यस्तो अवस्थामा देशको विकास कसरी सम्भव हुन्छ ?
(गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी २०८० वैशाख २४ गते संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी राजधानीमा सम्पन्न दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *