लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
कुनै पनि देशलाई समाप्त पार्न बम–बारुद हान्नु पर्दैन, शिक्षा ध्वस्त पारेर नयाँ पुस्तालाई समाप्त पारिए पुग्छ । नेपालको पूर्वी जिल्ला झापाको दमक र आसपासका क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीलगायत नयाँ पुस्ता लागुपदार्थमा फस्दै छन् । दमकका नयाँ पुस्ताको यो हविगत प्रतिनिधि उदाहरण मात्र हो । देशको ७७ जिल्ला सदरमुकामका नयाँ पुस्ता लागुपदार्थ, मदिरा र जुवामा फसेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुखले भने, प्रायः हरेक दिन टोलटोलबाट लागुपदार्थ प्रयोग बढिरहेको फोन प्राप्त भइरहेको छ । चिकित्सकको सिफारिस पत्रविना औषधि पसलहरूले नयाँ पुस्तालाई रोगको औषधिको रूपमा रहेको लागुपदार्थ बिक्री गर्दै छन् । रोगको औषधिलाई लागुपदार्थको रूपमा प्रयोग भइरहेको छ ।
नेका, एमाले, माओवादी, मधेसवादी मिलेर सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता घोषणा गरियो । वंश परम्पराको राजतन्त्र समाप्त भयो तर सिंहदरबार बरोबर कब्जा गर्नेहरू निर्वाचित राजाजस्तै प्रस्तुत भए । सातओटै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको व्यवस्था बजेटले धान्न नसक्ने भयो । कोसी प्रदेशको नामकरणसँगै उठेका विरोध साम्य भएको छैन, दुई महिना भयो । वैशाख २६ गते दमकमा निस्केको कोसी प्रदेश नामकरण विरोधीहरूको राँके जुलुस र प्रहरीबिच झडप भयो । एक महिनाअघि एउटा आन्दोलनकारीको मृत्यु भएको पूर्व अहिले अशान्त छ ।
चैतसम्मको तथ्याङ्कमा विप्रेषण रकम ९ खर्ब ३ अर्ब ३९ करोड भित्रिएपछि सरकार फुरुङ छ । यो सङ्कट देखिनु देश ओरालो लाग्नु हो । ८० लाखभन्दा बढी युवालाई वैदेशिक रोजगारीको नाममा १७८ देशमा बहुराष्ट्रिय कम्पनीहरूको सस्तो ज्यामी बन्न पठाइँदा कतिपयको घरपरिवार लथालिङ छ । विपे्रषण रकमको अधिकांश भाग आफ्नो थातथलो छोडेर जिल्ला सदरमुकाम र प्रदेश तथा देशको राजधानीमा घर–जग्गा खरिद गर्न र दाल, चामल, तरकारीको जोहोमा खर्च भइरहेको छ । सरकारले विपे्रषणको खर्बौँ रुपैयाँ कृषिमा लगानी गरेको भए अहिलेको आर्थिक सङ्कट अर्थात् नौ महिनामा राजस्व ७ खर्ब र चालू खर्च १० खर्ब भई नपुग ३ खर्ब हुने थिएन । काठमाडौं उपत्यकामा ८.५० प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि भयो । यसले गरिब जनता थप मारमा परेका छन् ।
गाईवस्तुमा लाग्ने लेम्पी स्किन देशभरि फैलिएको छ । हालसम्म ६० हजार गाईवस्तुमा यो रोग लागिसकेको छ भने एक हजार गाईवस्तुको ज्यान गयो । नेपालमा पहिलो पटक यो रोग २०७७ सालमा देखा परेको थियो । नेपालमा देखिनुअघि यो रोग बङ्गलादेश र भारतमा देखिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लापरबाहीको कारण यो रोग नेपालमा प्रवेश गरेको हो । यो मन्त्रालय समयमै सचेत भएको भए नेपालमा यो रोगको महामारीको रुप हुने थिएन । अहिले गाईवस्तु धमाधम मर्न थालेका छन्, किसान पीडामा छन् । दूधको उत्पादन घटेको छ । सरकारले यो रोगको भ्याक्सिन पनि उपलब्ध गराउन सकेन । निजी क्षेत्रले ५–६ हजार डोज खोप ल्याइसकेको छ । शासक दलहरू मिलेर वा अलगरूपमा सिंहदरबार कब्जा गर्ने तर देश र जनताको लागि गर्नुपर्ने काम नगर्ने पुनः प्रमाणित भयो । अन्ततः शासक दलहरूले राज्य सञ्चालनको जिम्मा नै निजी कम्पनीलाई दिने जोखिम बढ्दो छ ।
Leave a Reply