भर्खरै :

के शिक्षकले राजनीति गर्नु हुँदैन ?

के शिक्षकले राजनीति गर्नु हुँदैन ?

शिक्षक र प्राध्यापकहरू देशका शिक्षित राजनीतिक पेशाकर्मी हुन् । उनीहरू देशको लागि जनशक्ति तयार गर्ने गुरु हुन् । शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ । राजनीति आफ्नो हितको लागि होइन देश र जनताको हितको लागि हुनुपर्छ । शिक्षकहरूले पढाइको साथै राजनीतिक ज्ञान दिएको हुँदा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री जस्ता वीर सहिदहरू यो देशमा जन्मेका थिए । जनताको साथ र सहयोगमा उहाँहरूको बलिदानी पूर्ण नेतृत्वको राजनीति र सङ्घर्षले १०४ वर्षको अत्याचारी, निरङ्कुश राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त ग¥यो ।
हिजोका शिक्षकहरू चाहे सहरका या गाउँका हुन् वा चाहे हिमाल, पहाड, तराईका हुन् निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा शोषक, सामन्त, जमिनदारको विरुद्धमा जनतालाई सचेत र सङ्गठित गर्ने काममा लागेका थिए । त्यसैको परिणाम २०४६ सालको जनआन्दोलनको निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भयो । जनताले बहुदलीय प्रजातन्त्र प्राप्त गरे ।
विदेशीको गुलियो विष पोतेको चास्नीमा डुब्दा, एनजीओ, आइएनजीओको डलरमा डुब्दा, आफ्नो स्वार्थ हेर्ने समाज, देशको स्वार्थ नहेर्ने ट्रेड युनियन वा सङ्गठनमा लाग्दा शिक्षकहरू हिजोको गौरव, सम्मान र जनताबाट टाढिँदै गए । उनीहरू डलर र आइसीले विभूषित र प्रदूषित बनाइए । उनीहरूलाई समयले जनतामाझ चिनाउने र कारबाही गर्नेछ । विदेशीको प्रभाव र दबाबमा गणतन्त्रको मुकुन्डो लगाएर देश सिध्याउने नेतृत्वको सरकार, दलको गलत कामको विरोध गर्नैपर्छ । त्यसको किनाराको साछी बनेर, मतियार भएर टुलुटुलु हेरिरहनु उचित होइन । यो देशको लागि दुर्भाग्य हुनेछ । यस्तो विचारका शिक्षक र प्राध्यापकहरू देशघाती एमसीसी, एसपीपी, नागरिकता विधेयकको विरोधमा उत्रन सकेका छैनन् ।
शिक्षकहरू जनतालाई राजनीतिक, सांस्कृतिक, शैक्षिक र आर्थिकरूपमा सचेत गराउने, जागरुक गराउने काममा लाग्नुपर्छ र लागिरहेका हुन्छन् । उनीहरू समाज र देशको निर्माणमा प्रत्यक्ष, अप्रत्यक्षरूपमा लागिरहेका हुन्छन् । उनीहरूले समाजमा विभिन्न सभा, सम्मेलन, बैठकमा र लेख रचनामार्फत शिक्षित बनाउने, सुसंस्कृत बनाउने, राजनीतिकरूपमा सजग बनाउने काम गरिरहेका हुन्छन् । उनीहरूले जनतालाई अन्याय र अत्याचारको विरुद्धमा लड्न, विदेशी हस्तक्षेप र आक्रमणको विरोधमा लड्न तयार गरेको, प्रेरित गरेको कारण २००७ को राणाविरोधी आन्दोलन, २०४६ सालको पञ्चायतविरोधी जनआन्दोलन, भारतद्वारा थोपरिएको अमानवीय अन्यायपूर्ण नाकाबन्दी, नेपाली भूमि अतिक्रमण र विदेशी हस्तक्षेपको विरोधमा जनता उठेको सबैले देखेकै हुन् । देशमा त्यस्ता शिक्षक, प्राध्यापकहरू पनि थुप्रै रहेको हामीले देखिरहेका छौँ । उनीहरूलाई समाज र देशले सम्मान गरिरहेको जनताले अनुभव गरिरहेका छन् ।
उनीहरूले हिजो वीर योद्धा र वीर सहिदहरू जन्माएका थिए । उनीहरूले देश बनाउने इन्जिनियर, वकिल, पत्रकार, लेखक, वैज्ञानिक, साहित्यकार, सेना, प्रहरी आदि तयार गरेका थिए । आजका नेताहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, मन्त्री, सांसदहरू पनि शिक्षकले नै जन्माएका हुन् भन्दा फरक नपर्ला । उनीहरूले हिजो विद्यालयमा, क्याम्पसमा देश बनाउन र विदेशीबाट देशको रक्षा गर्न सिकाएकै थिए । कति मन्त्री र सांसदहरू पनि शिक्षक नै थिए । उनीहरूले विद्यालयमा, क्याम्पसमा विद्यार्थीहरूलाई देशको सेवा गर्न मातृभूमिमा रगत पसिना बगाउनुपर्छ, देशभक्त बन्नुपर्छ भनेर सिकाएका थिए । तर, विडम्बना ¤ आज उही शिक्षकहरू, प्राध्यापकहरू देश निर्माण गर्ने ठाउँमा पुग्दा कथनी र करणीमा फरक रहेको उनीहरूको विचार र क्रियाकलापले देखाइरहेको छ । उनीहरूको जीवनको लक्ष्य भनेको देश बनाउने होइन† देशको रक्षा गर्ने होइन । देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने होइन । उनीहरूको उद्देश्य जसरी पनि अकुत सम्पत्ति आर्जन गर्ने र राजधानी काठमाडौँमा जसरी पनि बङगला ठड्याउने रहेको छ ।
शिक्षकहरू देश र जनताका सेवक हुन् । हिजो भारत निल्दै नेपाल पनि खान आएका बेलायती साम्राज्यवादविरुद्ध वीरतापूर्वक लड्ने भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाहरू हुन् । आजका सेनापति, सुरक्षा प्रमुखहरू जन्माउने पनि शिक्षक नै थिए । विदेशीले नेपाली भूमि अतिक्रमण गर्दा, गर्न खोज्दा, थिचोमिचो गर्न खोज्दा, बलियो देशले कमजोर देशमाथि हस्तक्षेप गर्दा चाहे ल्याटिन अमेरिकामा होस्, चाहे अफ्रिकामा होस् या चाहे एसियामा होस् त्यसको विरुद्ध आवाज उठाउने काम देशभक्त, अन्तर्राष्ट्रवादी शिक्षक र प्राध्यापकहरूले गरे । नाकाबन्दीको विरोधमा पनि शिक्षकले आवाज उठाएका थिए । नेपालको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न खोज्दा, ७० भन्दा बढी ठाउँमा नेपाली भूमि बलपूर्वक मिच्दा, कालापानी, लिपुलेक, लिम्पियाधुरामा अतिक्रमण र भारतीय सैनिक क्याम्प राख्दा, देशघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक पास गर्न खोज्दा विरोधमा उनीहरू उत्रेका थिए ।
जुलुस, सभा, सम्मेलन र बैठकमा सहभागी हुँदा, भाषण सुन्दा मेरो घरमा भात पाक्ने होइन† तलब बढ्ने होइन, इतिहास सुनेर, पढेर विदेशीको मुक्ति स्वतन्त्रताको कुरा सुनेर मैले के पाउँछु र भन्ने शिक्षकहरू पनि देखिए । ठूलाबडाकहाँ चाकरी गर्न गयो भने बढुवा पाउँछ, भत्ता बढ्छ, उपयुक्त स्थानमा सरुवा हुन पाउँछ भन्ने शिक्षकहरूको कानेखुसी पनि नसुनिएको होइन । यसमा सुधार ल्याउन समय लाग्छ । त्यसैको लागि घरमा मात्र सीमित नभई सभा, सम्मेलन र बैठकमा जानुपर्ने हो ।
बौद्धिक व्यक्तित्वहरूले त्यस्तो सम्मानित, गौरवको पेसामा लागेका शिक्षक, प्राध्यापकहरूलाई केवल आफ्नो पेसा र स्वार्थमा मात्र सीमित भएको देशको राजनीति, संस्कृति, शिक्षा, अर्थतन्त्र आदिबारे अध्ययन गर्ने सोच नभएको, समाज, देश, विश्वलाई चिन्न कोसिस नगरेको आरोप लाग्दै आएको देखिन्छ । त्यस्तो ज्ञान, सीप र अनुभव भएका शिक्षक, प्राध्यापकले पनि लेख, रचना, पुस्तक लेखन, अनुवाद, सभा, सम्मेलन, बैठकहरूमार्फत जनतालाई शिक्षित र सचेत गर्ने काममा नलागेको आरोप लाग्दै आएका छन् । देश र जनताको निःस्वार्थ सेवा गर्ने, देशको निर्माण गर्ने कर्णधार तयार गर्ने पेसामा लागेका शिक्षक, प्राध्यापकहरू मर्यादाविपरीतका काममा लागिरहेको जनताले अनुभव गरिरहेका छन् ।
उनीहरूमाथि डलरको लोभमा विदेशीको प्यादा, गोटी बनेका, शेयरको कारोबार जग्गा खरीद बिक्री गर्ने गरिरहेको आरोप लगाइएको छ । त्यस्ता शिक्षक, प्राध्यापकको पढाइ, सिकाइ कस्तो हुन्छ ? सार्वजनिक, विद्यालय, क्याम्पस डाँवाडोल भएको गुनासो नभएको पनि होइन । त्यस्ता शिक्षक, प्राध्यापक, कर्मचारीहरूले सम्मानित पद, पेसा त्याग गरेर व्यवसायतिर लाग्नु देशको लागि हित हुनेछ । यस्तो गलत काम प्रवृत्तिबाट सबै शिक्षक, प्राध्यापक कर्मचारीहरूले सम्मानित पद, पेसा त्याग गरेर व्यवसायतिर लाग्नु देशको लागि हित हुनेछ । यस्तो गलत काम प्रकृतिबाट सबै शिक्षक, प्राध्यापक र कर्मचारीहरू जोगिन आवश्यक छ । अनुचित लाभ, देशघात हुने कामबाट जोगिन, देशको निर्माण र रक्षा गर्न पढाइ र सिकाइको साथै निःस्वार्थ सेवा र राजनीति गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *