भर्खरै :

द केरला स्टोरी : धार्मिक प्रोपगान्डाको अर्को अनुहार

द केरला स्टोरी : धार्मिक प्रोपगान्डाको अर्को अनुहार

सुदिप्तो सेनद्वारा निर्देशित ‘द केरला स्टोरी’ चलचित्रमा सुनौलो किनारा भएको सेतो साडीमा सजिएर कथकली नर्तकीसँग जब प्रमुख पात्र शालिनी उन्निकृष्णन (अदाह शर्मा) हिँड्छिन्, तब केरला राज्य नै पुगेको जस्तो लाग्छ । पर्यटक लोभ्याउने ब्रोसरमा देखिने यस्तो दृश्य यस क्षेत्रकै मौलिक मलयालम चलचित्रमा देखिँदैन । तर, यहाँ देखाइएको छ किनभने द केरला स्टोरीको उद्देश्य भनेकै केरलाबाहिरका हिन्दीभाषीलाई ‘देवताको यो मुलुक’ गलत देवताको हातमा गइरहेको देखाउनु न हो ।
द केरला स्टोरीले केरलाका हिन्दू र इसाई महिलालाई मुसलमान पुरुषबाट हुने सम्भावित गर्भाधान एवं सिरियामा हुने तस्करीबाट जोगाउने शौर्यपूर्ण अभिभारा बोकेको छ । दिल्ली आधारित स्टार्ट न्युज ग्लोबलले जारी गरेको एक रिपोर्टमा तीन मलयाली महिलालाई भारतीय अधिकारीले आतङ्ककारी सङ्गठन आइएसको सम्बन्धलाई लिएर सोधपुछ गरेका थिए । यिनले आ–आफ्ना श्रीमान् र एक समूहसँग आइएसमा भर्ती हुन भारत छाडेका थिए । यस परिघटनालाई ‘रचनात्मक’ स्ेनाममा चलचित्रमा उतारिएको छ ।
चलचित्र रिलिज हुनुअघि प्रोमोमा केरलाका ‘३२ हजार’ महिलालाई झुक्याएर आइएसमा भर्ती गराएको दाबी गरिएको थियो । जब यो सङ्ख्यामा तथ्यजाँच भयो, तब चलचित्रका निर्माताले सङ्ख्या ‘तीन’मा झारेका थिए । तर, चलचित्रमा काल्पनिक ‘३२ हजार’ भन्दा बढी अर्थात् ‘५० हजार’ महिला आइएसको चङ्गुलमा परेको अनौपचारिक आँकडाको पनि दाबी गरिएको छ ।
शालिनी उन्निकृष्णन केरलाको हिन्दू बाहुल्य थिरुवनन्तपुरमको एक हिन्दू परिवारकी युवती हुन् । उनी नर्सिङ पढ्न चाहना पूरा गर्न खराब भनिएको मुसलमान बस्तीमा सञ्चालित कलेजमा दाखिला हुन्छिन् । शालिनी सँगसँगै कम्युनिस्ट पिताकी छोरी गीताञ्जली र कोट्ययमकी इसाई युवती निमा नाम गरेका पात्र छन् । यसबाहेक चौथो पात्र असिफा छिन्, जसले उल्लिखित पात्रलाई फसाउने ‘दुष्ट मुसलमान महिला’को भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्रमा कथा गैररेखीय ढङ्गले प्रस्तुत गरिएको छ । शालिनीले कुनैबेला राष्ट्रसङ्घको बन्दीगृहमा केरकार व्यहोरिरहेकी छिन् भने कुनैबेला उनलाई बलि चढाउन ठिक्क पारिएको पाठोझैँ भलादमी देखाइएको छ । विनाहिच्किचाहट चलचित्रमा शालिनीले दुःसाध्य परिस्थिति व्यहोरेको दृश्य देखाउन चक्कुले गिँडिएको एउटा भेडालाई पर्दामा देखाइएको छ । यसले निःसन्देह प्रतीकात्मक दृश्य देखाउँछ, तर यो प्रतीकले मुसलमान समुदायको राक्षसीकरण गर्छ । र, जब ‘राष्ट्रवाद हराम (अपवित्र) हो मुसलमान तिम्रो पहिचान हो’ लेखिएको पोस्टर दृश्यमा आउँछ, तब निर्देशक सेन खुलमखुला यो चलचित्र नभई गुमराहमा पार्ने नियतले बनाइएको एक प्रोपगन्डा हो भन्ने देखाउँछन् ।
द केरला स्टोरीले महिलाको शरीरलाई रणमैदान बनाएको छ, जहाँ उग्र–पितृसत्तात्मक समाजका परिवार र समुदायका भयलाई खेलाउने उद्देश्य देखिन्छ । चलचित्रमा एक इसाई पुरुषको उग्रवादीकरण भएको र उसले इस्लाम धर्म अँगालेको देखाइएको छ, तर यसो किन र कसरी भयो भनेर चलचित्र बोल्दैन । चलचित्र महिलामा केन्द्रित छ, जहाँ दर्शकको मथिंगल हल्लाउने यौनहिंसाका दृश्य देखाइएका छन् । एक दृश्यमा गर्भवती महिलालाई घोप्टो पारेर टेबुलमा जबर्जस्ती बजारिन्छ र ती महिलाको मुसलमान श्रीमान्ले आफूसँग यौनसम्बन्ध राख्नु तिम्रो कर्तव्य हो भन्दै थर्काउँछ र बलात्कार गर्छ । बलात्कारी श्रीमान्ले लुगा खोलेको, बलात्कृतको सुरवाल झारेको दृश्य क्यामेरामा कैद गरिएका छन् । स्मरणरहोस्, भारत यस्तो राज्य हो, जहाँ वैवाहिक बलात्कारलाई अपराध ठह¥याउने कानुनको चर्को विरोध हुने गर्छ ।
‘द केरला स्टोरी’ले महिलाको शरीरलाई रणमैदान बनाएको छ, जहाँ उग्र पितृसत्तात्मक समाजका परिवार र समुदायका भयलाई खेलाउने उद्देश्य देखिन्छ ।
चलचित्रमा पात्रले धर्मबाहेक संवाद गर्दैनन् । चलचित्रका दृश्यमा देखाइएझैँ कसैले पनि बिफ पराठा (गौमांस परौठा) वा शुद्ध शाकाहारी ‘पाझम पारी’ खाँदैनन् । चलचित्रमा हिन्दू–मुसलमान, मेरो देउता र तेरो देवता झल्काउने दृश्य प्रस्तुत गर्न कुनै कसर बाँकी राखिएको छैन । गीताञ्जलीका कम्युनिस्ट पितालाई दिग्भ्रमित देखाइएको छ । यो चलचित्र द कस्मिर फाइल्सबाट प्रभावित देखिन्छ अर्थात् द केरला स्टोरीमा माक्र्स, लेनिन र स्टालिनको पोस्टर देखाएर ‘पश्चिमा’ विचारबाट टाढा रहन सचेत गरिएको छ ।
विवेक अग्निहोत्रीले वास्तविकताबाट केही घटना ल्याई खतरनाक मनगढन्ते चलचित्र द कस्मिर फाइल्स बनाएका थिए र द केरला स्टोरीले पनि यही सूत्र प्रयोग गरेको छ । समाजमा ध्रुवीकरण निम्त्याउने नियतले चलचित्रलाई ‘नाटकीय’ बनाउने नाममा कथावस्तुलाई बढाइ–चढाइ गरिएको छ र तथ्यसमेत तोडमरोड गरिएको छ । चलचित्रका तीन महिला पात्रलाई क्रूर मुसलमान पुरुषको लाचार सिकारका रूपमा प्रस्तुत गरिएको छ भने अर्कातर्फ ‘मेरो शरीर मेरो अधिकार’को नारा र आइएसको पञ्जाबाट मुक्त महिलाले बुर्का जलाइरहेको ‘नारीवादी भाष्य झल्काउने’ दृश्य देखाइएको छ । तर, ‘महिला सशक्तीकरण’ हिन्दू महिलालाई दायरामा कसरी राख्ने भन्नेमै केन्द्रित छ । चलचित्रले एक अल्पसङ्ख्यक (मुसलमान) विरुद्ध अर्को अल्पसङ्ख्यक (इसाई) लाई चतुरतापूर्वक भिडाएको छ । चलचित्रमा हिन्दू अभिभावकलाई आफ्ना सन्तानलाई धर्मबारे जानकारी र त्यसमा गर्व गर्न नसिकाएको भनेर सूक्ष्म ढङ्गले आलोचना गरेको छ ।
द केरला स्टोरीले समाज र समुदायभित्रका जटिलतालाई समेट्दैन । उदाहरणका लागि केरलाको कट्टरपन्थी सलाफी अभियानलाई मुसलमान समुदायले नै अस्वीकार गरेका छन् । केरलामा चलचित्रमा देखाएझँै महिला लाचार छैनन्, स्वायत्त हुँदै गएका छन् । यति भन्दै गर्दा धार्मिक आस्थाको मनपरी विस्तारीकरण र कट्टरपन्थलाई अस्वीकार गर्न सकिँदैन र हुँदैन पनि । भारतमा हामी सबैले धार्मिक कट्टरपन्थबारे सोच्नुपर्छ । द केरला स्टोरीले दर्शकलाई यसरी सोच्न दिँदैन ।
(राजेन्द्रन लैङ्गिकता, संस्कृति र चलचित्र क्षेत्रमा कलम चलाउने लेखक हुन्)
द न्युज माइन्युटबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *