भर्खरै :

वागीश्वरी कलेजका विद्यार्थीहरूको तीनदिने क्याम्प सम्पन्न

वागीश्वरी कलेजका विद्यार्थीहरूको तीनदिने क्याम्प सम्पन्न

भक्तपुर, २९ वैशाख । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीनदिने “Summer Urban camp”फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ ।
उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरूलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गराउनुभयो ।
खेर गएका बोटल, पराल, कपाल तथा माटोबाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्मक र कम लागतमा बोटल हाउस निर्माण गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीहरूले शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विद्यालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुला विद्यालयको अवलोकन गर्नुका साथसाथै कृषि जे.टी.ए. सरिता नगरकोटीको विशेष सहयोगमा विद्यार्थीहरूले तरकारी (काँक्रो, लौका, घिरौँला, फर्सी) रोप्ने अनुभव प्राप्त गरेका थिए ।
विद्यार्थीहरूका दुई समूहले शिखरापुरको ३० घरधुरीलाई नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए ।
उक्त सर्वेक्षणमा बढी महिलाहरू कम उमेरमा विवाह हुने, आधारभूत कक्षासम्म मात्रको पढाइ र कृषि पेसामा आबद्ध रहेको पाइएको थियो । नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नपाउँदा विभिन्न तालिम लिनबाट वञ्चित भएको गुनासो सर्वेक्षणमा देखिएको थियो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रवक्ता तथा वडा. नं. ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुःख स्वदेशमै कृषिमा गरे देश आत्मनिर्भर बन्ने बताउनुका साथै कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई नगरपालिकाले विशेष अनुदान दिने बताउनुभयो ।
यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर के.सी.ले नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै शिखरापुरलाई अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षिका एवं सभापति सुशिला कर्माचार्यले शिविरको महत्वबारे प्रस्ट्याउँदै शिविरबाट धेरै ज्ञान प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा शिखरापुर खुला विद्यालयका संयोजक ललिता लामिछाने, रूक्मणी फाउन्डेसनका अध्यक्ष शशी शर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खे लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *