भर्खरै :

शिक्षकहरूले विद्यार्थीलाई नैतिकवान र देशभक्त बनाउन प्रेरित गर्नुपर्ने

शिक्षकहरूले विद्यार्थीलाई नैतिकवान र देशभक्त बनाउन प्रेरित गर्नुपर्ने

भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरूले विद्यार्थीहरूलाई इमानदार, नैतिकवान र देशभक्त बन्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा भएको विद्यालय शिक्षकहरूको कार्यशाला गोष्ठीको प्रमुख अतिथि प्रजापतिले विद्यालय तह उच्च शिक्षाको जग भएको हुँदा हरेक विद्यार्थीलाई देश र समाजको सेवा गर्ने भावनाले काम गर्न सिकाउनुपर्ने बताउनुभयो ।
भक्तपुरको शैक्षिक विकासमा संस्थागत विद्यालय सङ्घ (इसान) को महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले राम्रा राम्रा विद्यार्थीहरू उत्पादन गर्न शिक्षकहरू स्वयं राम्रो हुनुपर्छ भन्नुभयो ।
समयअनुसारको ज्ञान र प्रविधिबाट आफूलाई शिक्षित गर्न सकिएन भने शिक्षकहरू आ–आफ्नो रोजगारीबाट विस्थापित हुनुपर्ने अवस्था आउनसक्छ, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबिच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धात्मक भावनाले काम गर्ने प्रयास गरिरहेको बताउँदै नगर प्रमुख प्रजापतिले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउन नसकेसम्म संस्थागत विद्यालयहरूको महत्व नघट्ने बताउनुभयो ।
विद्यालय, कलेज र विश्वविद्यालयहरू ज्ञान प्राप्त गर्ने महत्वपूर्ण थलो हुनुपर्नेमा राजनीतिक भागबन्डाले बन्द, हडताल र तालाबन्दीको केन्द्र भइरहेको छ । विद्यार्थीहरूमा नेपालका कलेजहरूप्रति विश्वास नभएर विदेशतिर गइरहेका छन्, उहाँले भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा भएको पहिलो सत्रमा उहाँले पाठ्यक्रमको प्रारुपअनुसार निरन्तर मूल्याङ्कन पद्धतिलाई अनुसरण गरी सैद्धान्तिक पक्षका साथै प्रयोगात्मक पक्षहरूको समेत परीक्षण अनुरुप अङ्क प्रदान गरी मूल्याङ्कन गर्न प्रशिक्षणबाट लाभ प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
महासचिव पुरुषोत्तम ग्वाछाले स्वागत तथा तालिम संयोजक कर्णबहादुर प्रजापतिले गोष्ठीको महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कृष्णबहादुर प्रजापति र कृष्णराम त्वानाबासुले सहजकर्ताको भूमिका निभाउनुभएको थियो । गोष्ठीमा कक्षा ६, ७ र ८ मा पढाउने ७८ जना शिक्षकहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *