यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ढोकाबाट अन्दाजी सत्तरी वर्षका बुढो बुबा ह्विलचियरमा इमर्जेन्सी कक्षभित्र पस्छन् । “बुबालाई के समस्या छ ?”, ह्विलचियर डो¥याउँदै आएका छोरालाई म प्रश्न गर्छु ।
“बुबाको खुट्टामा घाउ भएको छ । त्यसैको उपचारको निम्ति आएको”, उनको जवाफ ।
काउन्टरबाट एउटा इमर्जेन्सी टिकट ल्याउन र कार्यालय सहयोगी दाइलाई बुबालाई ड्रेसिङ कक्षमा पु¥याइदिन आग्रह गर्छु । बुबाको दाहिने खुट्टा एउटा रातो कपडाले बेरिएको थियो । कपडा हटाउँछु त पाकेको घाउको नमीठो गन्ध नाकमै ठोक्किन पुग्छ र कोठाभरि फैलिन्छ । घाउ भएको खुट्टा सुन्निएको छ र घाउको वरिपरिको छाला रातो अनि तातो छ । पिप पनि जमेको रहेछ ।
“कति भयो बुबा घाउ भएको ?”
“घाउ त पहिले सानो थियो, निको होला भनेर बसेको, अहिले त यस्तो भएछ । करिब ३–४ हप्ता भयो कि !”
बुबाले ५–६ वर्षदेखि मधुमेह रोगको औषधि खाइरहनुभएको रहेछ । आवश्यक रगतको जाँचहरू पठाइयो, घाउ सफा गरियो र आवश्यक औषधिहरू दिएपछि थप उपचारको निम्ति काठमाडौँ रिफर गरियो, डायग्नोसिस (Diagnosis) डायविटिक फुट राखेर ।
करिब २ महिनापछि नजिकैको एउटा गाउँमा अपाङ्गताको परिचयपत्र वितरण कार्यक्रम थियो । “नमस्कार ! डाक्टर साहेब” सुने सुने जस्तो आवाज कानमा पर्छ, आवाजतर्फ हेर्छु त उही बुबा हुनुहुँदोरहेछ । अहिले पनि ह्विलचियरमै तर फरक यति हो कि पहिले रातो कपडाले बेरिएको दाहिने खुट्टा अहिले बाँकी रहेन । काठमाडौँको अस्पतालमा भर्ना भएको केही दिनमै बुबाको ज्यान जोगाउनको निम्ति घुँडामुनिको भाग काटेर फाल्नुपर्ने भएछ । मन चिसो भयो । एकदम नरमाइलो लाग्यो ।
“हेलचेक्रयाइँ नगरी समयमै घाउको जाँच गरी उपचार गरेको भए आज यस्तो अवस्था आउने थिएन । यस्तै भयो नियतिको खेल”, बुबाको आँखा टिलपिल गरी भरिन थाल्छ अनि लामो सास लिनुहुन्छ । तर, अब पश्चातापको कुनै औचित्य थिएन । बुबालाई अपाङ्गताको परिचयपत्र दिएँ । साँझ घर फर्केर बुबालाई त्यस्तो अवस्थामा पु¥याउने जटिल अवस्था– डायविटिक फुटसम्बन्धी जानकारीको लागि केही लेख्न थालेँ ।
डायविटिक फुट के हो ?
यो लामो समयदेखि मधुमेह रोगबाट ग्रसित बिरामीहरूमा मधुमेहको कारणले गर्दा हुने एक प्रकारको जटिलता हो । हेर्दा सामान्य लाग्ने यो सानो घाउबाट सुरु हुन्छ । समयमै उपयुक्त उपचार नपाएमा खुट्टा नै काटेर फाल्नुपर्ने जस्तो ठूलो जोखिम पनि रहन्छ । कुनै कुनै बिरामीमा खुट्टाको घाउको सङ्क्रमण शरीरभरि फैलिएर Septic Shock हुने र बिरामीको मृत्युसमेत हुनसक्छ । तथ्याङ्कअनुसार मधुमेहका बिरामीहरूमध्ये १५–२५ प्रतिशतमा यो समस्या देखिन सक्छ । कोही बिरामीहरू मधुमेहको पहिचानमा ढिलाइ भएर ‘डायविटिक फुट’ नै मुख्य समस्या लिएर अस्पताल आउन सक्छन् । त्यसैले कोही पनि व्यक्तिले खुट्टाको घाउलाई बेवास्ता गर्नुहुँदैन । यो समस्या ४५ वर्ष माथिको उमेर समूहमा बढी देखिएको छ भने धूमपान र मदिरापान गर्ने व्यक्तिहरूमा पनि यसको जोखिम बढेको पाइएको छ ।
कारणहरू
लामो समयदेखि मधुमेह भएका बिरामीहरूको स्नायुहरूमा पनि नकारात्मक असर पुगेको हुन्छ जसलाई डायविटिक न्युरोप्याथी (Diabetic Neuropathy) भनिन्छ । जसअन्तर्गत Sensory Neuropathy अर्थात् घाउ भए पनि दुखाइको महसुस कम हुने, Motor Neuropathy अर्थात् खुट्टाका मांसपेशीहरूले शिथिल हुने र Autonomic Neuropathy अर्थात् छाला धेरै सुख्खा हुने अनि चिरा पर्न थाल्ने आदि पर्दछन् । यसकारणले सानोतिनो घाउ बेवास्ता गरिन्छ र घाउ ठूलो भएपछि मात्र स्वास्थ्य संस्थामा आउने हुन्छ । साथै ती बिरामीहरूको रक्तनलीको भित्ता बाक्लो हुने र नली साँघुरो हुने भएकोले रक्त सञ्चार राम्ररी हुन पाउँदैन र घाउ निको हुन धेरै समय लाग्छ । यसको साथै बिरामीहरूको रगत र तन्तुहरूमा सुगरको मात्रा बढी हुनाले सङ्क्रमण लाग्ने किटाणुहरू हुर्किन÷बढ्न राम्रो वातावरण मिल्छ र घाउ झन् जटिल बन्दै जान्छ ।
लक्षणहरू
डायविटिक फुटको मुख्य लक्षणअन्तर्गत लामो समयसम्म घाउ निको नहुने, दुख्ने, घाउबाट पीप निस्कने, गन्ध आउने, खुट्टा सुन्निने, घाउको वरिपरिको छाला रातो हुने र छामेर हेर्दा तापक्रम बढ्ने, बेलाबेलामा खुट्टा झमझम गर्ने, हड्डी वा जोर्नी दुख्ने आदि हुन्छ । अझ जटिल अवस्थामा खुट्टाका कोषहरू मर्दै जाने र छालाको रङ कालो वा खैरो हुन थाल्छ जसलाई Gangrene भनिन्छ ।
उपचार
कुनै घाउ एक महिना वा सोभन्दा बढी समय हुँदा पनि निको भएको छैन भने वा पहिलेदेखिको मधुमेहको बिरामीमा कुनै घाउ देखिएमा तुरुन्त डाक्टरको परामर्श लिन जानुपर्छ । स्वास्थ्य संस्थामा रगतको जाँच, सुगरको जाँच, घाउको पीपको जाँच, खुट्टाको एक्स–रे, भिडियो एक्स–रे आदि आवश्यक जाँचहरू गरिन्छ । मरिसकेका कोष÷तन्तुहरू फाल्ने (Debridement) दिनहुँ घाउ राम्ररी सफा गर्नुपर्छ । त्यस्तै जटिल अवस्थामा अन्तिम विकल्पको रूपमा खुट्टाको केही भाग काटेर फाल्नुपर्ने पनि हुनसक्छ । डायविटिक फुट भएका बिरामीले आफ्नो आँखाको पर्दा (रेटिना) र मृगौलाको पनि जाँच गराउनुपर्छ ।
डायविटिक फुट हुन नदिने उपायहरू
एउटा प्रचलित भनाइ छ– रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ । तसर्थ, समयमै नियमितरूपमा रोकथामका उपायहरू अपनाएर सामान्य जोखिमहरूबाट बच्नु बुद्धिमानी हुनेछ । डायविटिक फुटको रोकथामको निम्ति सबैभन्दा पहिलो कुरा नियमित औषधिसेवन र मधुमेहको नियन्त्रण नै हो । अर्थात्, रगतमा सुगरको मात्रा नियन्त्रण गर्ने र दोस्रो महत्वपूर्ण कुरा ‘खुट्टाको हेरचाह’ रहेको छ । खुट्टाको हेरचाहअन्तर्गत ध्यान दिनुपर्ने कुराहरू निम्न छन् :
खुट्टाको हेरचाह
– कुनै घाउ भएको वा चिरा परेको, फोका उठेको, सुन्निएको छ वा छैन भनी हरेक दिन आफ्नो खुट्टा र पैतालो आफैँले जाँच गर्ने ।
– खुट्टालाई मन तातो पानीमा डुबाउने र नरम स्फेन्जले मज्जासँग धुने । तर, पानीमा डुबाउनु अघि पानीको तापक्रम जाँच्नुपर्छ किनभने खुट्टाको तापक्रम महसुस गर्नसक्ने क्षमता कम भएको हुन्छ जसले गर्दा खुट्टा जल्न सक्छ । राम्ररी धोइसकेपछि नरम रुमालले पुछेर सुख्खा बनाउनुपर्छ । त्यसपछि Moisturiser वा नरिवलको तेल मज्जाले लाउने ।
– सधैँ उपयुक्त जुत्ताको प्रयोग गर्ने, जुत्ता धेरै कसिएको हुनुहुँदैन । बाहिर जाँदा सकेसम्म चप्पल नभई close जुत्ताको प्रयोग गर्नुपर्छ र घरमा पनि जुत्ता÷चप्पल लगाउने बानी बसाल्नुपर्छ । अर्काे महत्वपूर्ण कुरा जुत्ता लगाउन अगाडि बालुवा, ढुङ्गाजस्ता गढ्ने बिझाउने वस्तु छ÷छैन राम्ररी हेर्नुपर्छ ।
– नियमितरूपमा नङ काट्ने र सफा गर्ने गर्नुपर्छ ।
– कम्तीमा वर्षमा एक पटक डाक्टरसमक्ष खुट्टाको जाँच गराउनु पनि आवश्यक छ ।
यसको अलावा नियमित व्यायाम गर्ने र धूमपान÷मद्यपान नगर्ने । यी कुराहरू हेर्दा एकदम सामान्य र सानो कुरा लाग्छ । तर, यस्तै सामान्य कुराहरूमा बेवास्ता गर्दा नै पछि जटिल समस्याहरू आउने गर्छन् ।
मधुमेह एउटा दीर्घकालीन रोग हो । यसले मानिसको शारीरिक, मानसिक, आर्थिक र सामाजिक सबै पाटोमा असर गरेको हुन्छ । अन्ततः जीवनको गुणस्तरमा नै ¥हास आउने हुन्छ । यसैले समयमै रोकथामका उपायहरू अपनाउने र उपयुक्त उपचार गर्ने हो भने डायविटिक फुट, डायविटिक रेटिनोप्याथी, डायविटिक Nephropathy जस्ता जटिलताहरूबाट बच्न सकिन्छ ।
Leave a Reply