भर्खरै :

शक्तिशाली चक्रवातले बङ्गलादेशमा लाखौँ मानिस प्रभावित

शक्तिशाली चक्रवातले बङ्गलादेशमा लाखौँ मानिस प्रभावित

ढाका, ३१ वैशाख (बीबीसी) । प्रतिघण्टा दुई सय किलोमिटरभन्दा बढी वेगको आँधीसहितको एउटा शक्तिशाली चक्रवात बङ्गलादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ ।
म्यान्मारको सित्वेमा मोका चक्रवातका कारण विद्युत् र वाईफाई सेवा अवरुद्ध भएको छ । रूखहरू ढलेका छन् भने एउटा टेलिफोन टावर क्षतिग्रस्त भएको छ ।
बङ्गलादेशको कोक्स बजारमा कम्तीमा दुई लाख मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन् । मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन् ।
कोक्स बजारस्थित शरणार्थी शिविरमा बस्ने रोहिन्ज्या शरणार्थीहरूको सुरक्षालाई लिएर भने चिन्ताहरू व्यक्त भएका छन् । एकदमै खतरनाक हुनसक्ने ठानिएको उक्त चक्रवातअघि दक्षिणपूर्वी बङ्गलादेशमा झन्डै ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।
यसअघि सो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको थियो ।
कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने चिन्ताहरू व्यक्त भएका छन् । उक्त अस्थायी शिविरमा करिब १० लाख मानिसहरूको बसोबास छ । शिविर क्षेत्रमा पानी पर्न थालेको छ र त्यहाँ चेतावनीस्वरूप रातो झन्डा उठाइएको छ ।
पूर्व तयारी
मोका चक्रवात बङ्गलादेशले एक दशकभन्दा बढी समययता सामना गरेको सर्वाधिक शक्तिशाली आँधी बन्नसक्ने ठानिएको छ । मौसम प्रणाली बङ्गलादेश–म्यानमार तटतर्फ अघि बढ्दै जाँदा नजिकैका विमानस्थलहरू बन्द गरिएका थिए ।
माझीहरूलाई माछा मार्ने काम रोक्न निर्देशन दिइएको थियो भने असुरक्षित स्थानमा रहेका मानिसहरूका लागि १,५०० अस्थायी आवास व्यवस्था गरिएको थियो ।
“हामी विपद् सामना गर्न तयार छौँ, हामी एउटा पनि जीवन गुमाउन चाहँदैनौँ,” कोक्स बजारका अतिरिक्त डेप्यूटी कमिशनर विभुशन कान्ति दासले बीबीसीसँग भने ।
सयौँको सङ्ख्यामा परिवारहरू तोकिएका सुरक्षित आवास क्षेत्रमा आएका छन् । कैयौँ कोक्स बजारका कक्षा कोठाहरूमा बसिरहेका छन् ।
केहीले प्लास्टिक झोलाहरूमा आफ्ना सामानहरू पनि ल्याएका छन् भने कतिपयले पशु चौपाया र कुखुरासमेत लिएर आएका छन् । कक्षा कोठामा आफ्नी दुई महिनाको सन्तानसँग बसिरहेकी १७ वर्षकी जन्नतले अघिल्लो वर्षको चक्रवातले आफ्नो घरमा क्षति पु¥याएको भन्दै अहिले पनि आफू चिन्तामा रहेको सुनाइन् ।
उनले केही लुगाहरू झोलामा हालेर ल्याएकी छन् भने उनका श्रीमान् उनलाई साथ दिन आउनुअघि तटीय क्षेत्रमा रहको घरमा रहेका सामानहरूलाई सुरक्षित पार्न लागिपरेका छन् ।
जन्नतले भनिन्, “अब के हुन्छ भन्नेमा म चिन्तित छु । मेरो घर फेरि डुब्छ कि भन्ने चिन्ता लागिरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *