भर्खरै :

काल्पनिक समाजवादी नेता रोवर्ट ओवेन (सन् १७७१-१८५८)

काल्पनिक समाजवादी नेता रोवर्ट ओवेन (सन् १७७१-१८५८)

सन्दर्भ : रोवर्ट ओवेनको जन्म दिवस
काल्पनिक समाजवादका एक महान् संस्थापक रोवर्ट ओवेन हुनुहुन्थ्यो । उहाँको जन्म सन् १७७१ मा बेलायतको न्युटाउन भन्ने गाउँमा भएको थियो । न्युटाउन उत्तरी वेल्सको भोंटगोमेरिसायरमा पर्दछ । उहाँका बुबा घोडाको काठी र फलामका व्यापारी हुनुहुन्थ्यो । ९ वर्षको उमेरमा रोवर्ट ओवेनले गाउँकै स्कूलमा पढाइलेखाइ सुरु गर्नुभयो । १० वर्षको उमेरमा उहाँ स्टाम्पफोर्ड भन्ने ठाउँमा जानुभयो । उहाँले त्यस ठाउँमा ४ वर्ष लुगा बेच्ने पसलमा काम गर्नुभयो । त्यही पसलमा काम गर्दागर्दै उहाँले व्यापारको राम्रो अनुभव हासिल गर्नुभयो । त्यही अनुभवको आधारमा उहाँले फेरि लण्डन र मेनचेस्टरमा गएर व्यापारको काम सुरु गर्नुभयो । लण्डन बेलायतको राजधानी हो र मेनचेस्टर बेलायतको सबभन्दा ठूलो औद्योगिक क्षेत्र र सहर हो । मेनचेस्टरमा उहाँले छिट्टै प्रगति गर्नुभयो ।
रोवर्ट ओवेन सा¥है मेहनती र पूmर्तिला युवक हुनुहुन्थ्यो । त्यसबेला उहाँ भर्खर १९ वर्षका जवान हुनुहुन्थ्यो । मेहनती र काम गर्नमा सिपालु हुनुभएकोले नै १९ वर्षको उमेरमा उहाँ एक कपास कारखानाका मेनेजर (प्रबन्धक) बनाइनुभयो । त्यसबेला त्यस कारखानामा ५ सय जवान मजदुरहरू काम गर्थे । कारखानाको उन्नतिले उहाँमा भएको गजबको प्रशासनिक योग्यतालाई देखाइदियो । उहाँमा काम गर्ने ठूलो दृढता थियो । जे काम पनि उहाँ मन लगाएर गर्नुहुन्थ्यो । उहाँकै सफल प्रबन्ध र बन्दोबस्तले गर्दा त्यो कारखाना त्यसबेला बेलायतका नाउँ चलेका अरू कारखानाकै तहमा पुग्यो । कारखानामा उहाँले परोपकारी सिद्धान्तलाई व्यावहारिक रूप दिन थाल्नुभयो ।
त्यस कारखानामा ओवेनले सबभन्दा पहिले अमेरिकी समुद्री टापुहरूबाट आउने कपासको प्रयोग गर्नुभयो । उहाँले त्यसका थैलाहरू बनाउने काम थाल्नुभयो । दक्षिण अमेरिकाबाट आउने कपासको प्रयोग गर्ने बेलायती कारखानामा उहाँकै कारखाना पहिलो थियो । उहाँले धागोको बुनाइमा नयाँ प्रयोग र प्रगति गरेर देखाउनुभयो । यसरी उहाँ त्यस कारखानाका सफल मेनेजर बन्नुभएको थियो । त्यहाँ काम गर्दा गर्दै उहाँ मेनचेस्टरको चार्लटन द्विष्ट कम्पनीका एक हिस्सेदार बन्नुभयो ।
रोवर्ट ओवेन अब २९ वर्षका प्रौढ हुनुभयो । कामकै सिलसिलामा उहाँ ग्लाक्सो पुग्नुभयो । ग्लाक्सो उत्तरी बेलायतको एक महत्वपूर्ण औद्योगिक व्यापारिक केन्द्र हो । मेनचेस्टरको कपास कारखानाको सफलताले न्युलेनार्कका एक कारखानाका मालिक श्री डालिसँग उहाँको सम्बन्ध भयो । न्युलेनार्क बेलायतको उत्तरी भागको स्कटलायण्डको एक सहर हो । त्यसकै नजिकै एउटा कपास कारखाना थियो । त्यस कारखानालाई १७८४ मा श्री डालि र आर्कराइटले स्थापना गरेका थिए । श्री डालिसँगको उहाँको सम्बन्धले डालिकी छोरीसँग पनि परिचय भयो । त्यो परिचय र सम्बन्ध प्रेममा विकास भयो । सन् १८०० मा ओवेन पनि डालिको कारखानाका हिस्सेदार हुनुभयो ।
डालिको त्यो कारखाना पानीको घट्टले चल्थ्यो र बडो आकर्षक थियो । त्यो कारखाना हेर्नलायकको थियो । मजदुर र अरू प्रबन्धकहरूसमेत गरेर २ हजार मानिसहरू त्यस कारखानासँग सम्बन्धित थिए । त्यसमध्ये ५ सयजना त ५–६ वर्षका केटाकेटी नै थिए । त्यहाँ डालिले एक अनाथालय पनि खोलेका थिए । तर, त्यहाँ केटाकेटीहरूको अवस्था सन्तोषजनक थिएन ।
कारखानामा पतित, चोर, जड्याँहा र अरू खराब लतमा लागेका मानिसहरू थुप्रै थिए । सुग्घर–सफाइको नाउँ पनि थिएन । परिवारका सबै सदस्य एउटै कोठामा सुत्थे । शिक्षाको कुनै बन्दोबस्त थिएन । त्यस्तो परिस्थितिमा उहाँले १ जनवरी १८०० मा न्युलेनार्कको त्यस कारखानाको सञ्चालन आफ्नो हातमा लिनुभयो ।
कारखानाका ती सबै खराबीहरू देखेर ओवेन आकुल–ब्याकुल हुनुभयो । तर, उहाँ एक सफल प्रबन्धक हुनुभएकोले धैर्यपूर्वक स्थितिलाई सम्हाल्ने आँट छोड्नुभएन । उहाँको फूर्तिलो र दृढ स्वभाव, मेहनत गर्ने र काममा लागिरहने गुणले गर्दा ती खराबीहरू हटाउन कम्मर कस्नुभयो । परेको मूल्त्न्दा अलिकति बढी पैसा लिएर बेच्ने एक सस्तो वा सुपथ पसल कारखानाभित्रै खोल्न लगाउनुभयो । त्यहाँ बजारमा कसैले मिसावट भएका र नक्कली सामान बेच्न र बढी मोल लिन पाइन्नथ्यो । त्यस सुपथ मूल्यको पसलमा रक्सी पनि पाइन्थ्यो । तर, रक्सी मात्राभन्दा बढी किन्न र बेच्न पाइँदैनथ्यो ।
उहाँले केटाकेटीको शिक्षा–दीक्षाको प्रबन्धमा विशेष ध्यान दिनुभयो । त्यसमा उहाँले विशेष सफलता पनि हासिल गर्नुभयो । त्यस स्कूलमा स्वतन्त्र शिक्षा प्रणाली लागू गर्नुभयो । त्यस शिक्षा प्रणालीमा शिक्षा के कस्तो हुनुपर्छ भन्ने उहाँको आफ्नै विचार लागू गर्नुभयो । यस अर्थमा उहाँ बेलायतमा परोपकारको स्कूल खोल्ने पहिलो संस्थापक हुनुहुन्थ्यो । पछि उहाँको त्यो शिक्षा प्रणाली युरोपेली महादेशका सबै भागमा प्रचार भयो ।
पहिले त आफ्नो प्रयोगमा ओवेन आफैँलाई पनि त्यति विश्वास थिएन । तर, प्रयोगमा उहाँले पर्याप्त सफलता पाउनुभयो । कारखाना सफलतापूर्वक चली नै रहेको थियो ।
उहाँको परोपकारी काममा भने कारखानाको कोषबाट केही रकम त जरुरै खर्च हुन्थ्यो । कारखानाका केही हिस्सेदारहरू त्यसलाई अनावश्यक खर्च सम्झन्थे र त्यस खर्चबाट सन्तुष्ट थिएनन् । तिनीहरू अनाथ केटाकेटी, परोपकार र शिक्षासँग केही मतलब राख्दैनथे । तिनीहरू आफ्नो व्यापार र नाफाको मात्रै वास्ता राख्थे । तिनीहरूले परोपकारमा बढी पैसा खर्च गर्न नसकिने जुक्तिहरू गर्न थाले । तिनीहरूको त्यो दबाब ओवेनले मनपराउनुभएन ।
यसकारण, १८१३ मा ओवेनले एक अर्को व्यापारिक संस्था खोल्नुभयो । उहाँले त्यस संस्थानको पुँजीलाई ५ प्रतिशत मात्र ब्याज दिने बन्दोबस्त मिलाउनुभयो । त्यस संस्थामा जेमेरी–वेसन्थन र एक नाउँ चलेको व्यक्ति क्वान्कर विलियम–आलेन पनि हिस्सेदार थिए ।
“१८०० देखि १८२९ सम्म उहाँले स्कटलायण्डको न्युलेनार्क कपास कारखानामा एक सञ्चालक र हिस्सेदारको रूपमा काम गर्नुभयो । उहाँले यहाँ धेरै स्वतन्त्रपूर्वक काम गर्नुभयो र सफलता पाउनुभयो । यसले सारा युरोपमा उहाँको नाम चल्यो । त्यहाँ विभिन्न किसिमका मानिसहरू थिए । तिनीहरूमध्ये धेरै हुतिहाराहरू थिए । उहाँले काम गर्नुभएपछि त्यो ठाउँ २५०० जवानको एक राम्रो बस्तीमा फेरियो । रक्सीबाजी, पुलिस, मेजिस्टे«ट, मुद्दा–मामला, कानुनी–दरिद्रता, दान–दयाजस्ता कुराहरूको त्यहाँ नाम–निसानै थिएन । मानिसलाई उहाँले खालि मानिस बस्नलायक परिस्थितिमा राखिदिनुभयो र नयाँ पुस्तालाई होसियारीपूर्वक हुर्काउनुभयो । न्युलेनार्कमा पहिलोचोटि प्रयोग भएको परोपकार–स्कूलको उहाँ संस्थापक हुनुहुन्थ्यो । त्यहाँ दुई वर्षका उमेरका केटाकेटीहरू स्कूल आउँथे । तिनीहरू त्यहाँ हाँसखेल गर्थे । यसले गर्दा तिनीहरू घर फर्कन पनि मनपराउँदैनथे ।”
एकचोटि कपासको कमी भयो । ४ महिनासम्म कारखाना बन्द भयो । तर, रोवर्ट ओवेनले काम नगरेको दिनको ज्याला पनि सबै कामदारहरूलाई दिनुभयो । तैपनि, कारखानाले राम्रै नाफा पाएको थियो । तर, त्यसको ठीक उल्टो, ओवेनका विरोधी कारखानेदारहरू दिनको १३–१४ घण्टा काम गराउँथे ।
ओवेन आफ्नो कामबाट अझै सन्तुष्ट हुनुहुन्नथ्यो । किनभने, ती कामदारहरू अझै उहाँका इच्छाका कमाराहरू थिए । उहाँ तिनीहरूलाई स्वतन्त्र र कसैको इच्छाका कमारा हुनु नपर्ने बन्दाबस्त गर्न चाहनुहुन्थ्यो । उहाँ तिनीहरूको चौतर्फी विकास गर्न चाहनुहुन्थ्यो । तर, त्यो कुरो छिट्टै हुनसक्दैनथ्यो ।
रोवर्ट ओवेनले लेख्नुभयो, “२५०० व्यक्तिहरूको यस जनसङ्ख्याबाट समाजको निम्ति दिनमा जति वास्तविक धन उत्पादन हुन्छ, ५० वर्ष अगाडि त्यति उत्पादनको निम्ति ६ लाख मानिसहरूको आवश्यकता हुन्थ्यो । मैले आफैसँग सोधेँ कि ६ लाख मानिसहरूले गर्ने खर्चभन्दा २५ सय मानिसहरूले धेरै कम खर्च गर्छन् त बाँकी धन कहाँ गए ?”
धन कहाँ जान्थ्यो ? ५ प्रतिशत ब्याज पुँजीलाई जान्थ्यो र त्यसबाहेक ३ लाख पाउन्ड चोखो नाफा निस्कन्थ्यो ।
सन् १८१३ मा उहाँका निबन्धहरू प्रकाशित भए । मानिसको स्वभाव आफैँबाट तयार हुने कुरामा होइन । उसको स्वभाव ऊ बस्ने वातावरणबाट प्रभावित हुन्छ । यसकारण, कुनै व्यक्ति व्यक्तिगतरूपले तारिफ या निन्दाको पात्र हुँदैन । मानिसलाई राम्रो बनाउन त्यस्तै भौतिक, नैतिक र सामाजिक परिस्थितिमा राख्नुपर्छ । मानिस असल र खराब हुनुमा उसको शिक्षा र सामाजिक परिस्थिति नै जिम्मेदार हुन्छ । यही उहाँको निबन्धको चुकुल या सार हो । निबन्धको शीर्षक हो– ‘समाजको नयाँ दर्शन’ अथवा ‘मानव चित्रको निर्माणका सिद्धान्तका निबन्धहरू ।’ त्यसमा जम्मा ४ वटा लेखहरू थिए ।
उहाँको स्कूलको उदाहरणको अनुसरण न्युलेनार्कमा अरूले पनि गर्न थाले । १८१६ मा त्यहीं त्यस्ता अरू पनि स्कूलहरू उहाँले खोल्नुभयो । यो बेलायत र युरोपको निम्ति एक उदाहरण बन्यो ।
त्यसबेला बेलायतका विभिन्न कारखानाहरूको ऐन कानुन बनिरहेको थियो । अनेक किसिमका स्थानीय मजदुरका असन्तोषहरू र विरोधहरू देखा पर्दै थिए । उहाँले आइमाई र केटाकेटीलाई कामको घण्टा निश्चित गराउने ऐन पास गराउन आवश्यक काम गर्नुभयो । उहाँ मजदुरहरूलाई बढी सहुलियत दिलाउने पक्षमा हुनुहुन्थ्यो र केटाकेटीबाट काम लिने कुराको विरोधी हुनुहुन्थ्यो । बल्ल ५ वर्षको दौडधूप र मेहनतपछि आइमाई र केटाकेटीको कामको घण्टाभन्दा बढी काम गराउन नपाउने ऐन पास गराउन सफल हुनुभयो । उहाँ मजदुरहरूका पक्का र सच्चा समर्थक हुनुहुन्थ्यो ।
उहाँले मन्त्रिमण्डलका सदस्यहरू, शासक पार्टी र विरोधी पार्टीका नेताहरूसँग पनि आफ्नो योजना र विचारबारे कुराकानी गर्नुभयो । तिनीहरू पनि न्युलेनार्कमा हेर्न जान्थे । अनेक समाज सुधारकहरू र राजनेताहरू त्यहाँ हेर्न जान्थे । राजा निकोलश र एक रुसी सम्राट पनि त्यहाँ हेर्न गएका थिए । केटाकेटीहरू सा¥है राम्रा र खुसी थिए । तिनीहरू स्वतन्त्र र शान्त देखिन्थे । यो देखेर सबै पाहुनाहरू प्रभावित भएर फर्कन्थे । कारखाना राम्रो र नियमितरूपले नाफामा चल्यो । मजदुर र सञ्चालकहरूको सम्बन्ध राम्रो थियो ।
उहाँ गरीबहरूको निम्ति केही गर्न चाहनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा या संसद्बाट गरीबहरूको ऐन पास गराउनुहुन्थ्यो ।
सन् १८१७ तिर यस उद्देश्यको निम्ति उहाँले सम्बन्धित मानिसहरूलाई चित्त बुझाउन दौडधूप गर्नुभयो । गरिबी ऐनले गरीबहरूले भत्ता र अरू सहुुलियतहरू पाउँथे । गरिबी र युद्धको असरहरूबारे उहाँले एक रिपोर्ट तयार गर्नुभयो । कामदारहरूलाई मेसिनहरूसँग प्रतियोगिता गर्न दिने जस्ता कामलाई उहाँ मनपराउनु हुन्नथ्यो । उहाँले सबै वर्गलाई उद्धारको काम गर्न आव्हान गर्नुभयो । यसकारण, उहाँले परोपकार र निःस्वार्थी भावनामा आधारित एक समाजवादी समाज बनाउने योजना अघि सार्नुभयो ।
उहाँका योजनाअनुसार १००० देखि १५०० एकड जमिनभित्र एउटा सिङ्गो घर बनाइने छ । त्यो घर ४ नाले या चोक भएको हुनेछ । त्यसमा १२ सय जवान मानिसहरू बसोबास गर्नेछन् । त्यसमा हरेक परिवारको निम्ति अलग्गअलग्ग कोठाहरू रहनेछन् । भान्छा घर र खाना भने सबैको एकै ठाउँमा रहनेछ । तीन वर्षपछि केटाकेटीहरूलाई समाजले पाल्नेछ । त्यस समाजलाई आफैँ मिलेर गाउँ वा वार्ड, जिल्ला र राज्यको रूपमा स्थापना गरिने छ । मनोरञ्जनका साधन सामूहिक हुनेछन् । योग्य व्यक्तिहरूको रेखदेखको बन्दोबस्त हुनेछ । यो थियो उहाँको योजना । त्यस योजनामा न्युलेनार्कका गाउँलेहरूको पनि सल्लाह र सुझाव गाभिएको थियो ।
उहाँको त्यस आदर्श समुदायमा पुगनपुग ५०० देखि ३००० मानिसहरू रहनेछन् । समाज खास गरेर कृषिमा निर्भर रहनेछ । त्यहाँ आवश्यक कलकारखाना र मेसिनहरू पनि रहनेछन् । पछि विस्तारै सहरहरू जस्तै दसौँ, सयौँ र हजारौँ समुदायहरूको संयुक्त सङ्घ बन्ने छ । यसरी त्यो समाज संसारव्यापी हुनेछ ।
सन् १८२३ मा उहाँले आयरलाण्डमा गरीब र पीडितहरूको सामूहिक बस्ती बसाल्ने योजना पेश गर्नुभयो । त्यसबेला त्यस सामूहिक बस्तीलाई ‘कम्युनिस्ट’ भन्दथे । उहाँले त्यस सामूहिक बस्तीको आम्दानी, खर्च र योजनाका सबै नक्साहरूसमेत पेश गर्नुभएको थियो । गरिबी म्हास्ने उहाँका विचारहरूलाई ठूला–बडा व्यक्तिहरू र ‘The Times’ (समय) र ‘The Morning Post’ (बिहानको समाचार) जस्ता नाउँ चलेका खबर कागजहरूले चर्चा गर्थे । उहाँका प्रशंसकहरूमध्ये केन्ट भन्ने इलाकाका एक रजौटा पनि थिए । उनी महारानी भिक्टोरियाका बाबु थिए । उनको मद्दतबाट एक लण्डनमा ठूलठूला सभाहरूको आयोजना हुन्थ्यो । ओवेन ती सभाहरूमा आफ्ना प्रवचनहरू दिनुहुन्थ्यो । यसकारण, उहाँ पनि एक समाज सुधारकको रूपमा प्रख्यात हुनुभयो ।
रोवर्ट ओवेन एक परोपकारी र सुधारकको रूपमा देखेसम्म ती ठूला ठालुहरूले उहाँलाई तारिफ र प्रशंसा गरे । ओवेनले सम्मान र गौरव प्राप्त गर्नुभयो । त्यसबेला उहाँ युरोपका सबभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँका स्तरका मानिसहरूले मात्रै होइन, राजा महाराजा र राजनीतिज्ञहरूले पनि उहाँको कुरालाई सम्मानपूर्वक सुन्थे । तर, जब उहाँले कम्युनिस्ट सिद्धान्तहरूलाई अगाडि राख्दै जानुभयो, स्थिति उल्टो हुँदै गयो । तिनीहरू उहाँबाट टाढाटाढा भाग्न थाले ।
बेलायतीहरू सा¥है पुरानो विचारमा टाँसिरहने रुढीवादी, अन्धविश्वासी र धर्मका अन्धाहरू थिए । ओवेनका निजी सम्पत्ति, धर्म र विवाहसम्बन्धी विचारहरू सुनेर तिनीहरूको सातोपुत्लो गयो र छेराउती लागेर थला प¥यो । ओवेनलाई तिनीहरू धर्म नमान्ने नास्तिक भन्न थाले । उहाँलाई तिनीहरूले विरोध र हेलासमेत गर्न थाले ।
तर, ओवेन तिनीहरूको विरोध र निन्दाबाट अलिकति पनि डग्नुभएन । उल्टो परिस्थिति देखेर पछि हट्नुभएन ।
सरकारी अड्डा अदालतले उहाँलाई वास्ता गर्न छोड्यो । बेलायती प्रेसले उहाँको विषयमा लेख्न छोड्यो । त्यसकारण, उहाँले आफ्नो विचारलाई प्रयोग गरेर हेर्न चाहनुभयो ।
ओवेनको साम्यवादी समाजको प्रयोग र असफलता
उहाँका विरोधीहरू भएजस्तै उहाँका समर्थकहरू पनि हुनथाले । अब्राम कोम्वे उहाँका समर्थकहरूमध्ये एक थिए । उनकै निर्देशनमा उहाँले प्रयोग सुरु गर्न लगाउनुभयो । अब्राम कोम्वेले ग्लाक्सो भन्ने सहर नजिकै अर्पिस्टोन भन्ने ठाउँमा त्यस प्रयोगलाई सुरु गरे । त्यसैबेला ओवेन आफैले पनि अमेरिकाको न्यु हार्मोनी भन्ने ठाउँमा अर्को प्रयोग सुरु गर्नुभयो । तर, दुई वर्षको अनेक कोसिसपछि पनि त्यो योजना या प्रयोग सफल हुन सकेन ।
त्यहाँ ओवेन असफल हुनुका मुख्य कारण त्यस योजनामा भाग लिने मानिसहरूको बेमेल थियो । त्यसमा विभिन्न खालका मानिसहरू थिए । त्यसमा केही धनी मानिसहरू थिए । तिनीहरू ठूलठूला उद्देश्य लिएर आएका थिए । तिनीहरूमध्ये केही मनमोजी, दुस्साहसवादी, झक्की र खराब विचार लिएर आएका थिए । ओवेनका विचारहरूबाट तिनीहरूले आ–आफ्नो स्वार्थ र स्वभावअनुसार फाइदा उठाउन खोजे । यसकारण, ओवेनको त्यो प्रयोग असफल भयो र उहाँको आफ्नो सम्पत्तिको धेरै भाग त्यहीं डुब्यो ।
अमेरिकाको प्रयोग असफल भएपछि उहाँ बेलायत फर्कनुभयो । अप्ठ्याराहरू एक्लै आउँदैनन् भनेजस्तो उहाँलाई पनि अनेक अप्ठ्याराहरूले घेरे । न्युलेनार्कमा पनि उहाँका हिस्सेदारहरूसँग उहाँको मेल हुनसकेन । त्यसकारण, उहाँले विलियम आलेन र अरू हिस्सेदारहरूसँग छिनोफानो गर्ने निधो गर्नुभयो । १८२८ मा उहाँले तिनीहरूसँग नाता तोड्नुभयो र न्युलेनार्कको संस्थाबाट राजीनामा दिनुभयो ।
समाजवादका एक प्रचारक
अमेरिकी र न्युलेनार्कको असफलताबाट अब उहाँ एक पुँजीपतिको रूपमा रहनुभएन । उहाँ लण्डनमा बस्नुभयो र समाजवादको एक प्रचारकको रूपमा काम गर्न थाल्नुभयो । उहाँ १८३२ तिर मजदुरहरूको सङ्गठन गर्नमा लाग्नुभयो ।
सन् १८३३ को अक्टोबरमा बेलायतका सबै सहकारी र मजदुरहरूको एक महासम्मेलन भयो । रोवर्ट ओवेनले त्यस महासम्मेलनको अध्यक्षता गर्नुभयो । त्यो महासम्मेलन बेलायतका सबै मजदुर सङ्घहरूको संयुक्त र सिङ्गो विशाल सङ्गठन थियो । महासम्मेलनले ओवेनकै अध्यक्षतामा एक औपचारिक समिति गठन ग¥यो । त्यसमा बेलायत र आयरलायण्डका धेरै कारखानाका प्रतिनिधिहरू सामेल थिए । त्यस सङ्गठनलाई बेलायतको पुँजीवादी राज्य र पुँजीपतिहरूले सा¥है खेदो गरे । यसकारण, त्यस सङ्गठनलाई उहाँले १८३४ को अगष्ट महिनामा भङ्ग गरिदिनुभयो ।
रोवर्ट ओवेनले फुटकर व्यापारी र उत्पादनको निम्ति सहकारी संस्थाहरूमा सङ्गठन गर्नुभयो । यस प्रयोगले व्यापारी र कारखानेदारहरू आवश्यक कुरो होइन भनेर उहाँले देखाइदिनुभयो ।
ती सहकारी संस्थाहरूमा श्रमको बजार पनि चालू गरियो । श्रमका घण्टाहरू तोकिएको नोट प्रचलनमा ल्याइयो । ती नोट पैसाजस्तै लेनदेनको काममा ल्याइन्थ्यो । मूल्यलाई श्रमको घण्टामा हिसाब गरिएको थियो । केही समयपछि ओवेनको त्यो व्यवस्था पनि असफल भयो । तर, ओवेन विचलित हुनुभएन । उहाँ नथाकिकन ‘तीस वर्षसम्म’ मजदुरहरूको बिचमा काम गर्दै जानुभयो ।
१८३५ मा उहाँले राष्ट्रका सबै वर्गका निमित्त एक संस्था खोल्नुभयो । उहाँको व्यापारिक शिक्षाले मजदुरवर्गमा केही प्रभाव पनि प¥यो ।
१८३९ मा ‘West Minister Review’ भन्ने पत्रिकाले ओवेनका विचारहरू छाप्न सुरु ग¥यो । विवाहबारे उहाँको विचारमाथि अरूले आलोचना गर्न थाले । तर, उहाँ निराश हुनुभएन । अरू ठाउँमा पनि उहाँको विचार र योजनालाई प्रयोग गरेर हेर्ने धोको छोड्नुभएन । आयरलायण्डमा क्लारे भन्ने एक जिल्ला थियो । त्यस जिल्लाको रालाहाइने भन्ने ठाउँमा फेरि उहाँले एउटा प्रयोग गराउनुभयो । त्यो प्रयोग तीन साढे तीन वर्षसम्म राम्रै चल्यो । तर, त्यसको प्रबन्धक नै एक जुवारी वा बारम्हासे थियो । एक दिन ऊ जुवामा हा¥यो । उसले समाजको सम्पत्ति नै बेचिदियो ।
त्यस्तै १८३९ मै हाम्पसायरको टोथेली भन्ने ठाउँमा उहाँले एक अर्को प्रयोग गराउनुभएको थियो । त्यो पनि असफल भयो । यसप्रकार १८४६ मा पुग्दा उहाँ एक प्रचारक र सङ्गठनकर्ताको रूपमा देखिनुभयो । उहाँ जनसभाहरू आयोजना गर्नुहुन्थ्यो, पत्रपत्रिका निकाल्नुहुन्थ्यो र किताब र पर्चाहरू छपाउनुहुन्थ्यो । काम गर्दागर्दै उहाँले सबै सम्पत्ति सिध्याउनुभयो । उहाँ एक गरीबको अवस्थामा पुग्नुभयो । तर, उहाँले आफ्नो जाँगरलाई छोड्नुभएन । उहाँले सहकारी आन्दोलन चलाउँदै जानुभयो ।
रोवर्ट ओवेनले जीवनको अन्तिम बेलासम्म आफ्नो विश्वास मुताबिक मानव जातिको निम्ति काम गर्दै जानुभयो । उहाँ ८७ वर्षको बुढो हुनुभयो । तर, कामबाट थाक्नुभएन । उहाँले त्यस उमेरमा आफू जन्मेकै थलो न्युटाउनमा फर्कनुभयो । आखिर १८५८ मा उहाँ सदाको निम्ति आराम गर्नुभयो ।
उहाँले आफ्नो सम्बन्ध सीधा मजदुरवर्गसँग जोड्नुभयो । उहाँले ३० वर्षसम्म काम गर्दै जानुभयो । बेलायतका मजदुरवर्गको हरेक वास्तविक प्रगति, हरेक सामाजिक आन्दोलनसँग ओवेनको नाम गाँसिएको छ ।
ओवेनको व्यक्तित्व
रोवर्ट ओवेन सा¥है स्पष्टवादी, उदार, परोपकारी र काम गर्न नहिच्किच्याउने मानिस हुनुहुन्थ्यो । आफ्नो विश्वासलाई कार्यरूप दिन ठूलो उत्सुकता र धैर्यपूर्वक काम गर्दागर्दै उहाँले आफ्नो सबै साधन रित्याइदिनुभयो । यस अर्थमा उहाँ एक विचारक र तपस्वी मात्र नभएर एक कर्मयोगी या कर्मनिष्ठ पनि हुनुहुन्थ्यो ।
पुँजीवादी व्यवस्थाले समाजलाई अनेक दुःखकष्ट ल्याइरहेको बेलामा २९ वर्षका एक कारखानाका मालिक एक सुधारकको रूपमा अगाडि आउनुभयो । उहाँको स्वभावमा केटाकेटीको सरलता र महानता झल्किन्थ्यो । सा¥है कममा मात्रै पाइने जन्मजात नेताको गुण उहाँमा थियो ।
‘समाजको नयाँ दर्शन’, ‘गरिबीको ऐन समितिलाई रिपोर्ट’, ‘नयाँ नैतिक संसारको किताब’, ‘मानव जातिको विचार र व्यवहारमा क्रान्ति’ आदि उहाँका मुख्य मुख्य कृति हुन् । १८५७ मा उहाँले आफ्नो आत्मकथा पनि लेख्नुभएको थियो ।
उहाँको विचार र प्रयोग असफल भयो । तर, उहाँले बेलायत र मानव समाजको निम्ति धेरै सुधारका कामहरू गर्नुभयो । उहाँ बेलायतमा परोपकार स्कूलको सबभन्दा पहिलो संस्थापक हुनुहुन्थ्यो । कारखानामा कामको घण्टालाई उचितरूपले कम गर्दै लाने काममा प्रयोग गरेर देखाउने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । बेलायतको कारखानाका ऐनमा सुधारहरू ल्याउनेमा अथकरूपले काम गर्नेहरूमा उहाँ नै सबभन्दा अगाडि हुनुहुन्थ्यो । सहकारी आन्दोलनका वास्तविक संस्थापक उहाँ नै हुनुहुन्थ्यो । शिक्षा, सफाइ र साधारण जीवनमा राम्रो र मानवीय जीवनका विचारहरूमा सुधार ल्याउने समकालीन (दौँतरी) हरूमा उहाँ नै सबभन्दा मोहडामा हुनुहुन्थ्यो ।
उहाँ काल्पनिक समाजवादीहरूमा तेस्रो हुनुहुन्थ्यो । बेलायतका मजदुरहरूको गरिबीलाई देखेर १८१७ मा उहाँले समाजलाई पुनः निर्माण गर्ने एक कम्युनिस्ट योजना बनाउनुभएको थियो । तर, उहाँ वर्गसङ्घर्षलाई स्वीकार गर्नुहुन्नथ्यो । सम्पत्तिको आधारबाट कसैलाई वञ्चित गर्नुपर्दैन भन्ने उहाँको विश्वास थियो । साम्यवादी समाजको निर्माणको निम्ति चाहिने यी दुवै कुराहरू उहाँमा कमी थियो ।
एक साम्यवादी बस्ती बसालेर उहाँले जनतालाई पुनः शिक्षित गर्नुभयो । तिनीहरूलाई नयाँ जीवन दिएर अरूलाई बाटो देखाउनुभयो । अमेरिकासम्म पुगेर साम्यवादी बस्ती बसाल्न खोज्नुभयो । आफ्ना समर्थकहरूसँगै उहाँले त्यहाँ काम गर्नुभयो । तर, उहाँका ती योजनाहरू भताभुङ्ग भए । पुँजीवादी ढङ्गले बनाएका ती वस्तुहरू छिट्टै छिन्न–भिन्न भए वा कामदारहरूको शोषणमा अडेको पुँजीवादी उद्यममा फेरिए ।
रोवर्ट ओवेनको मुत्यु भएको आज १४२ वर्ष हुनलाग्यो । तर, मजदुर वर्गले उहाँका कामहरूलाई बिर्सेका छैनन् । उहाँका विचारहरूलाई पूरै अस्वीकार गरेका छैनन् । अँ, यो कुरा साँचो हो कि उहाँको साम्यवाद पूरा व्यापार या व्यापारिक लेनदेनमा आधारित थियो । त्यसकारण, एक राम्रो दर्शनमा जग नराखिएको साम्यवादी भवन स्थाई रहँदैन भन्ने कुरा देखाइदियो ।
तर, उहाँको शिक्षासम्बन्धी विचार, मजदुरहरूको कामको उचित घण्टा मजदुरहरूको बस्ती, सुपथ मोलको पसल र सहकारी योजना आज पनि कति समाजवादी देशहरूमा विभिन्न रूपमा लागू भइरहेको देख्दै छौँ । जनवादी चीनको केटाकेटी खेल्ने बालोद्यान र स्कूलहरू, मजदुरहरूको बस्ती वा उपनगर र कम्युनहरू सहकारी पसलहरूले रोवर्ट ओवेनलाई सम्झना गराउँछ ।
यसकारण, रोवर्ट ओवेनको रचनात्मक र कल्याणकारी विचारहरूलाई सम्मान गर्नुपर्छ र उहाँको असफलताका कारणहरूको लेखा–जोखा गरेर त्यस्ता कमजोरीहरूबाट जोगिनुपर्दछ ।
स्रोत : काल्पनिक समाजवादी र अराजकतावादीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *