भर्खरै :

काठमाडौँमा हो चि मिन्हको १३३ औँ जन्मदिवस

काठमाडौँमा हो चि मिन्हको १३३ औँ जन्मदिवस

काठमाडौँ, ५ जेठ । नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता हो चि मिन्हको १३३ औँ जन्म दिवस प्रवचन कार्यक्रम गरी मनाइयो ।
कार्यक्रममा नेपमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेता हो चि मिन्हले भियतनामी कम्युनिस्ट पार्टीको नेतृत्व गरी समाजवादी क्रान्ति गरेको बताउनुभयो ।
उहाँकै नेतृत्वमा अमेरिकी साम्राज्यवादलाई नराम्रोसँग हराएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिनवादी शिक्षाअनुसार उपनिवेशवादी देशमा किसान वर्गको नेतृत्वमा भियतनाममा समाजवादी क्रान्ति गर्न भियतनाम सफल भएको हो ।”
हो चि मिन्हले दक्षिणपूर्व एसियामा पहिलो समाजवादी देशको रूपमा सन् १९४५ मा उत्तरी भियतनाममा समाजवादी शासन व्यवस्था लागु गरी एसियाली उपनिवेशवादी देशहरूलाई कम्युनिस्ट क्रान्ति गर्न सक्छ भनी प्रेरणा दिनुभएको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले हो चि मिन्ह एक माक्र्सवादी, लेनिनवादी विचारधाराअनुसार पार्टीलाई अगाडि लाने नेता हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गाली नेपालमा समाजवादी क्रान्तिको लागि नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपा बाग्मती प्रदेश समितिका सदस्य एनबी श्रेष्ठले माक्र्सवादी, लेनिनवादी विचारधारा सम्पूर्ण मानव जातिको कल्याण गर्ने विचार भएको, कामदार जनताको नेतृत्वमा समाजवादी क्रान्ति गर्न सक्छ भनी व्यवहारिकरूपमा प्रमाणित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले संसारमा समाजवादी देशले तीव्र विकास गर्न सक्छ, संसारकै कामदार जनताको सेवा गर्न सक्छ भन्ने चीनको विकास र चीनले अरू देशलाई गरेको सहयोगबाट प्रस्ट छ ।”
नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्यामकुमार महर्जन र वन्दना श्रेष्ठले पनि हो चि मिन्हको जीवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *