भर्खरै :

नेपालीलाई भुटानी शरणार्थी बनाइएको बारे टिपोट – ९

नेपालीलाई भुटानी शरणार्थी बनाइएको बारे टिपोट – ९

भुटानी राजाका सल्लाहकार परिषद्का सदस्यसमेत रहेका टेकनाथ रिजालले दरबारको सल्लाहकार होइन, शरणार्थी शिविरको आवाज बन्ने बाटो रोजेका थिए ।
प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियासँग रिजालले रकम नै बुझेका थिए । प्रहरी हिरासतमा रहेका सानु भण्डारी र सागर राईले धन्दामा रिजाल पनि संलग्न रहेको बयान सुरूमै दिएका थिए । रिजालले धन्दाको क्रममा सात लाख रूपैयाँ बुझेको विवरण त प्रहरीले भण्डारीकै डायरीमा फेला पारेको थियो । तर, प्रहरीले उनलाई पक्राउ गर्ने प्राथमिकतामा राखेको थिएन । पछि रिजालले रकम बुझेको बैङ्क ‘स्टेटमेन्ट’ नै फेला पारेपछि मात्रै प्रहरीले उनलाई पक्राउ गरेको हो । (नयाँ पत्रिका, जेठ ५ गते)
१० वर्ष भुटानमा जेल र २० वर्षयता नेपाल निर्वासन रहेका रिजालमाथि आफ्नै समुदाय र आफूलाई शरण दिएको देशमाथि घात गरेको दाग लागेको छ ।
रिजालले भुटानका विभिन्न गाउँको ठेगाना राखेर नक्कली शरणार्थीको सूची तयार पार्ने जिम्मा लिएका थिए भने रकम असुलेर नक्कली शरणार्थी बन्न तयार हुने युवाको खोजीमा दुलाल र भण्डारीको समूह सक्रिय थियो । (कान्तिपुर, जेठ ५ गते)
रिजालले प्रत्येक वर्ष सरकारबाट बुझ्थे १३ लाख भत्ता तथा गाडी र सुरक्षागार्डको सुविधा । भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेता टेकनाथ रिजालले गरेको सङ्घर्ष अन्तर्राष्ट्रिय रूपमै चर्चित छ । तर, उनै नेता अहिले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन् । (नयाँ पत्रिका, जेठ ५ गते)
यस्तै रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (हाल प्रधानमन्त्री), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री एवं अहिले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई पनि भेटेर शरणार्थीका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । (नागरिक, जेठ ५ गते)
१ हजारभन्दा बढी नेपाली (र, केही भारतीयसमेत) लाई नक्कली भुटानी शरणार्थी बनाइएको समाचार बाहिर आउन थालेपछि नेपाली प्राज्ञिक–बौद्धिक र कूटनीतिक वृत्तमा छाएको चिन्ता हो– ओहो, हामीलाई अन्तर्राष्ट्रिय जगतले अब कसरी हेर्ला ? (कान्तिपुर, जेठ ५ गते)
ठूला दलका प्रभावशाली नेताहरू जोडिएको मुद्दा भएकोले यसको अनुसन्धानमा विभिन्न निकायबाट प्रहरीमाथि दबाब छ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, काङ्ग्रेस सांसदद्वय आरजु देउवा र मञ्जु खाणलगायतले आफूहरूलाई सघाएको पक्राउ परेका केही बिचौलियाले बयानमा बताएका छन् । तर, उनीहरूको संलग्नताको बलियो प्रमाण प्रहरीले अहिलेसम्म जुटाउन सकेको छैन । बलियो प्रमाण जुट्न नसकेका, तर निर्दाेष पनि भन्न नसकिने व्यक्तिहरूलाई अनुसन्धान अधिकृतले सामान्यतया कागज गर्ने गरेका हुन्छन् ।
सहायक सीडीओ नेतृत्वको समितिमार्फत नाम थप्ने प्रयास असफल भएपछि गृहमै गरिएको थियो प्रतिवेदन किर्ते ।
“हाम्रो प्रतिवेदनको १७ नम्बर पेज नै गायब बनाइएको रहेछ”, पन्थी नेतृत्वको कार्यदलका सदस्य रहेका गणेशबहादुर केसीले भने । उनका अनुसार सो पेजमा ‘भुटानी शरणार्थीमा अन्य व्यक्ति छुट भएको नदेखिएकाले त्यो विषयलाई सदाका लागि टुङ्गो लगाउनुपर्ने’ भनिएको छ । सोही कारण त्यो पेज नै हटाइएको हो ।
प्रधानमन्त्री कार्यालयमा सक्कली प्रतिवेदन भेटिएपछि मात्र गृहको प्रतिवेदन किर्ते भएको पुष्टि भएको हो । ‘प्रधानमन्त्री कार्यालयमा सक्कली प्रतिवेदन नभएको भए त हामी पनि फस्ने रहेछौँ’, सदस्य केसीले भने । स्रोतका अनुसार भुटानी शरणार्थी बनाएर विदेश पठाउन सक्ने सम्भावना नभएपछि त्यसरी सक्कली प्रतिवेदनमै नाम राखिदिएको भन्दै पैसा पचाउने प्रयास भएको देखिन्छ । “उनीहरूलाई पुनर्वासका नाममा विदेश पठाउने कुनै आधार नै देखिन्न’, अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘शरणार्थीको सूचीमा नाम पारिदिएर ठगी गर्ने नियत मात्र देखिन्छ ।”

१६ अभियुक्त को कहिले पक्राउ परे ?
टोपबहादुर रायमाझी – ३१ वैशाख, बालकृष्ण खाण – २७ वैशाख, आङटावा शेर्पा – १ जेठ, टेकनारायण पाण्डे – २० वैशाख, इन्द्रजित राई – १९ वैशाख, शमशेर मियाँ– ४ जेठ, टेकनाथ रिजाल – ४ जेठ, सन्दीप रायमाझी – २० वैशाख, नरेन्द्र केसी – २७ वैशाख, केशव दुलाल – १२ चैत, सानु भण्डारी – १२ चैत, सन्देश शर्मा – २९ चैत, सागर राई – १५ चैत, टंक गुरूङ – १२ चैत, रामशरण केसी – २६ वैशाख, गोविन्द चौधरी – २६ वैशाख, प्रतिक थापा – फरार, नीरज राई – फरार । (नयाँ पत्रिका, जेठ ५ गते)
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिइने त होइन भनी प्रम दाहालसँग प्रश्न गरे ।
सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, “नक्कली भुटानी शरणार्थी काण्ड पार्टी विशेष, सरकार विशेष, नेता विशेषको मात्र रहेन, अब यो जनता विशेषको भएको छ, राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय विषय पनि भएको छ, जनता र विश्वको नजरले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तात्विक निष्कर्षमा पु¥याइनेछ ।”
“लडाकु शिविरमा अनियमितता भएको भए छानबिन गर्न म तयार छु र त्यसमा दोषी ठहरिए जेल जान पनि तयार छु ।” प्रम दाहाल
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले भने, “यता हाम्रो अनुसन्धानमा नयाँनयाँ सूचना फेला परिरहेका छन् । सूचनाको तथ्य जाँच र आरोपितसमक्ष पुग्न समय अभाव देखिएको छ ।”
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, “खै उहाँ (प्रहरी) हरूलाई पनि निकै प्रेसर छ । मान्छे पक्राउ परेको प¥यै छन् । नयाँनयाँ विषय भेटिएका छन् ।”
यसअघि पक्राउ परेका १४ जनाको बयान सकिएको छ । प्रहरीले अझै १५/१६ जनालाई पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ । (नागरिक, जेठ ५ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *