भर्खरै :

जनज्योति पुस्तकालयमा ई—लाइब्रेरी (विद्युतीय पुस्तकालय) शुभारम्भ

जनज्योति पुस्तकालयमा ई—लाइब्रेरी (विद्युतीय पुस्तकालय) शुभारम्भ

भक्तपुर, ६ जेठ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा शनिबार ई–लाइब्रेरीको शुभारम्भ भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले कम्प्युटरको माउस क्लिक गरेर शनिबार इ–लाइब्रेरीको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा सांसद सुवालले नयाँ पुस्तालाई सूचना प्रविधिसँग जोड्न भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजहरू स्थापना र सञ्चालन गरेको र सूचना प्रविधिले रोबोट सर्जरीको विकास गरेको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “विद्युतीय पुस्तकालयको सूचना सत्यलाई बङ्ग्याइएको पनि हुनेछ । उदाहरणको निम्ति जङ्गबहादुर राणालाई ‘देशभक्त’ ठान्नेहरू पनि भेटिए । उनीहरू बाँके, बर्दिया, कैलाली (नयाँ मुलुक) फिर्तीमा जङ्गबहादुरको भूमिका भएको दाबी गर्छन् । जङ्गबहादुरले भारतको सिपाही विद्रोह दबाउन बेलायती साम्राज्यवादको सेवा गर्न नेपाली सेना पठाएका थिए । जङ्गबहादुर ‘देशभक्त’ भए सुगौली सन्धिमा गुमेको नेपालको भूमि फिर्ता लगाउन बेलायती भारतसँग लड्ने थिए । जङ्गबहादुरलाई बेलायती साम्राज्यवादको कुकुर पनि भनिन्छ ।”
“पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गरेको भनिन्छ । भक्तपुरका तत्कालीन राजा रणजीत मल्लाका छोरासँग मित लगाएका पृथ्वीनारायण शाहले मितबुबाविरूद्ध आक्रमण गरेर विश्वासघात गरेका थिए । विश्वासघात गर्नु पनि अपराध हो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “हाम्रो सूचना प्रविधिको भण्डारणमा सत्य तथ्य हुनु जरूरी छ । भक्तपुरको संस्कृति, जीवन र वातावरणबारे पुराना बस्तीहरू सङ्ग्रहित गर्नु आवश्यक छ ।” नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएकाहरूले यससम्बन्धी प्रतिवेदनको १७ नं. पृष्ठ नै गायव पारी नक्कली सूची राखेका थिए । यो प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानमा ल्याउनु आवश्यक छ । सरकारका मुख्य मानिसको जानकारीविना यस्तो मानव बेचबिखन कार्य हुन सकिँदैन, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले जनज्योति पुस्तकालयको स्तरोन्नतिलाई ध्यानमा राख्दै ई लाइब्रेरीको सुरूवात गरिएको बताउनुभयो ।
उहाँले जिल्ला–जिल्लाका धेरै पुस्तकालय बन्द हुने अवस्थामा भक्तपुर नपाले जनज्योति पुस्तकालयलाई अझ सुविधा सम्पन्न र व्यवस्थित बनाउने काम गरेसँगै पाठकहरू उत्साहित भएको बताउनुभयो ।
ई लाइब्रेरी स्थापनासँगै खोज तथा अनुसन्धान गर्नेहरूको निम्ति यसबाट निकै सहज हुने बताउँदै उहाँले भक्तपुर नपाको सन्तुलित विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
सङ्घीयता कार्यान्वयनको ६ वर्ष बितिसक्दा पनि नेपालमा सङ्घीयताको भावना र मर्मअनुसार काम हुन नसकेको बताउँदै उहाँले भक्तपुर नपाले सङ्घीयताको राम्रो अभ्यास गरिरहेको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले पुस्तक अध्ययनले सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै ई लाइब्रेरीको शुभारम्भसँगै अध्ययन अनुसन्धान तथा उच्च शिक्षा अध्ययन गर्ने नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालयको स्वीकृति दिन ढिलाइ गरिनु आफँैमा सरकारको सङ्कुचित र पूर्वाग्राही सोच भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले २१ औँ शताब्दीमा सूचना र प्रविधिमा अगाडि बढ्नु अपरिहार्य भएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन यस किसिमको गतिविधिले टेवा पु¥याउँछ भन्नुभयो । उहाँले ई लाइब्रेरी शुभारम्भसँगै विज्ञानसम्मत समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा प्रमुख भूपाल मूलले पुस्तकालयको इतिहास र महत्वमाथि प्रस्ट पार्दै समयको मागअनुसार जनज्योति पुस्तकालयले ई लाइब्रेरीलाई अगाडि बढाएको हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *