भर्खरै :

टायर, कपडा र कागज कारखाना छिट्टै सञ्चालनमा आओस्

टायर, कपडा र कागज कारखाना छिट्टै सञ्चालनमा आओस्

आर्थिक वर्ष ०८०/०८१ नीति तथा कार्यक्रममा गोरखकाली टायर उद्योग र हेटौँडा कपडा उद्योग सरकारले पुनः सञ्चालनमा ल्याउने उल्लेख छ । जनताले उद्योग सञ्चालन व्यावहारिकरूपमै काम भएको हेर्न चाहेका छन् ।
चीन सरकारले नेपाल पनि कागजमा आत्मनिर्भर बनोस् भनी २०३९ सालमा भृकुटी कागज कारखाना स्थापना गरी सहयोग गरेको थियो । नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष पुग्यो । झन्डै ५२ बिगाहा जमिनमा बनेको यो कारखानाले देशकै साठी प्रतिशत कागज माग पुग्दथ्यो । तत्कालीन नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले गोल्छा अर्गनाइजेसनलाई २२ करोड रूपैयाँमा उक्त कारखाना बेचेको थियो । भृकुटी कागज कारखाना राज्यले पुनः सञ्चालनमा ल्याउनुपर्ने जनताको माग छ । अरबौँ रूपैयाँको राज्यको सम्पत्ति कौडीको मूल्यमा बेच्नु ठूलो जनहितविपरीत कुकार्य हो । तत्कालीन काङ्ग्रेसीलगायत सत्तासीन दलहरूले भागबन्डा गरेर बेचेर खाएको जनताको आरोप छ । सञ्चालनमा रहेको स्वदेशी उद्योग कारखाना बन्द गराउने आवश्यक वस्तु भारतबाट आयात गर्ने सोचका यी शासक दल र नेताहरू भारतीय एकाधिकार पुँजीका दलाल भएको सचेत नागरिकले बोलेका छन् । धेरै पैसा र कमिसनकै लोभमा सरकारी सम्पत्ति ध्वस्त बनाउनेहरूलाई कारबाही गर्नुपर्ने जनताको माग छ ।
बेलाबेलामा उद्योग मन्त्री भनिनेहरूले कागज कारखाना अवलोकन गर्न आउने र पुनः सञ्चालनमा ल्याउनेजस्ता स्थानीय जनतालाई आश्वासन दिँदै आएका थिए । हजारौँ जनताले रोजगार पाइरहेको उक्त कागज कारखाना राज्यले लिएर पुनः सञ्चालनमा ल्याउनुपर्ने जनताको माग छ । हेटौँडा कपडा उद्योग, गोरखकाली टायर उद्योगसँगै भृकुटी कागज कारखानालगायत बन्द भएका दर्जनौँ उद्योग कारखानाहरू पुनः सञ्चालनमा ल्याएर आयात खर्चमा कम गर्न सकिन्छ भने हजारौँ जनताले रोजगारी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *