भर्खरै :

नेपालीलाई भुटानी शरणार्थी बनाइएको बारे टिपोट – १४

नेपालीलाई भुटानी शरणार्थी बनाइएको बारे टिपोट – १४

अभियोजन दर्ता गरिएका मध्ये काठमाडाँै महानगरपालिका–३० का केशव तुलाधार, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर–१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका–४ घर भई अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईं रहेका छन् । हुमागाईं प्रहरीले प्रमुख अभियुक्त भनी किटानी गरेका केशव दुलालकी पत्नी हुन् ।
ललितपुर ठेचोका निरज राई, काठमाडौँ जीतपुर फेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ–६ का मोहनराज राई, बुढानीलकण्ठ १० का आशीष बुढाथोकी, मोरङ शनिश्चरे–१० की बिनिता सामदेव लिम्बु, रौतहट फतुहा हर्साह–९ का निरन्जरकुमार खरेल, झापा गौरादह–१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानगरपालिका–१० का प्रतीक थापा रहेका छन् । फरार रहेका निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । इन्द्रजित भने प्रहरी हिरासतमा छन् । प्रतीक तत्कालीन गृहमन्त्री थापाका छोरा हुन् ।
भण्डारीको बयानसँग मिल्दोजुल्दो भनाइ प्रहरीले अडियो रेकर्डमा पनि प्राप्त गरेको छ । जसमा दुलालले भनेका छन्, “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सहायक राजेश वज्राचार्य, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राईका छोरा नीरज, थापाका छोरा प्रतीक, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पछि गृह सचिव भएका महेश्वर न्यौपाने, राजेश्वर स्थापित, डा. अजय क्रान्तिलाई पनि पैसा दिएको हुँ ।”
सम्भवतः आफ्ना सहयोगी नरेन्द्र केसीलाई सम्बोधन गर्दै खाणले लेखेका थिए, “नरेन्द्रजी, ओली वा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ ।”
एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याइ बयान हुनुपर्छ । पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका रहेछन् ।” खाणले भने यो पत्रकाबारेमा पनि इन्कारी बयान दिएका छन् ।
कान्तिपुर, जेठ १०
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर बिचौलियाको बयान फेराउन आग्रह गरेको खुलेको छ । उनले लेखेका दुई पत्र प्रहरीले बरामद गरेको छ । दुवै पत्र खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको थियो ।
“दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला,” पहिलो पत्रमा भनिएको छ ।
त्यस्तै, दोस्रो पत्रमा “नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ,” भनिएको छ ।
ती पत्र पाण्डेले नै लेखेको फरेन्सिक जाँचबाट समेत पुष्टि भएको स्रोत बताउँछ । गत २७ वैशाखमा खाण र केसीलाई पक्राउ गर्ने क्रममै प्रहरीले ती पत्र बरामद गरेको हो । पाण्डे भने २० वैशाखमै पक्राउ परेका थिए । पक्राउ परेर बयान दिनुअघि त्यसरी उनले हिरासतबाटै पत्राचार गरेका हुन् ।
पाण्डेले पठाएका दुईमध्ये एक पत्र खाणले प्रहरीको हातबाट खोसेर च्यातिदिएकोमा त्यसलाई टेपले टाँसेर प्रहरीले सुरक्षित बनाएको छ । दोस्रो पत्र नरेन्द्र केसीबाट बरामद भएको हो । उनको घरबाट बरामद भएको अर्काे एक कागज भने खाणले च्यातेर चपाइदिएको प्रहरी दाबी छ ।
ह्वाट्सएप च्याटमा बिचौलिया केशव दुलाल र उनीबिच शरणार्थी प्रकरणमा आर्थिक लेनदेनको कुरा मात्र होइन, प्रहरी अधिकारीहरूको सरुवालगायतका विषयमा पनि छलफल भएको पाइएको छ ।
दुलालले आफूनिकट नेपाल प्रहरीका एक एसपीलाई एसएसपीमा बढुवा गरिदिन भनेका छन् । त्यसबापत उनले ‘केही आर्थिक सहयोग पनि गर्ने’ उल्लेख गरेका छन् । सचिव पाण्डेले ‘हुन्छ’ भनेर जवाफ दिएका छन् । त्यति मात्र होइन, दुलालले विमानस्थलबाट सुन तस्करीको लाइन मिलाइदिन पनि आग्रह गरेका छन् ।
त्यसलाई पनि पाण्डेले अस्वीकार गरेका छैनन् । ‘प्रहरीले नमान्ने भएकाले गाह्रो हुने’ जवाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेले नै दुलालसँग आर्थिक लेनदेन गरेका थिए । आफूले एक करोड २४ लाख लिएर तत्कालीन मन्त्री बालकृष्ण खाणलाई बुझाएको उनको दाबी छ ।
नयाँ पत्रिका, जेठ १०
नक्कली शरणार्थी प्रकरणका प्रमुख योजनाकार भनी मुछिएका सानु भण्डारीले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानमा अख्तियारका बहालवाला प्रमुख आयुक्तको नाम पोलेका हुन् । बयानको क्रममा उनीहरूले राईलाई एकमुष्ट तीन करोड दिएको दाबी गरेका छन्, जुन रकम गाडीमा राखिदिएको हो कि छुट्टै हो भन्ने खुल्दैन ।
भण्डारीको बयानअनुसार उनले गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राईलाई एक करोड रूपैयाँ दिएपछि उनले त्यो रकम सचिवको गाडीमा राख्न निर्देशन दिएका थिए । उनले भनेका छन्, “मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई) को हो, उक्त रकम गाडीमा राखिदिनु भनी भनेको‘..।”
बयानमा उल्लेख गरिएअनुसार त्यो घटना १० भदौ २०७६ को हो । राई हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुन् ।
(अनलाइन खबर, २०८० जेठ ९)
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौँ असुली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शङ्कास्पद देखिएको छ । कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानको क्रममा भेटिएका विवरणबाट देखिन गएको हो ।
प्रहरीले अनुसन्धानको क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ ।
(अनलाइन खबर, २०८० जेठ १०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *